बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
कूटनीति

‘चाइना कार्ड’ भन्दै प्रचण्डले दिएको अभिव्यक्तिप्रति कूटनीतिज्ञहरूको आपत्ति

शुक्रबार, ३० कात्तिक २०८१, २० : ००
शुक्रबार, ३० कात्तिक २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण सम्बन्धमा पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्तिलाई परराष्ट्र मामिलाका जानकारहरूले ‘कूटनीतिक मर्यादाविपरीत’ भनेका छन् ।

भारतीय पत्रिका ‘द हिन्दू’सँगको अन्तरवार्तामा प्रचण्डले ओलीको आसन्न चीन भ्रमण ‘चाइना कार्ड’ प्रयोग गर्नेमा केन्द्रित देखिएको गम्भीर आरोप लगाएका थिए । अन्तर्वार्तामा प्रचण्डले दिएको सोही अभिव्यक्ति अहिले विवादमा तानिएको छ । तीन पटकसम्म प्रधानमन्त्री भइसकेका तथा प्रमुख प्रतिपक्षी दलको नेताले कूटनीतिक मर्यदाविपरीत अभिव्यक्ति दिनु दुर्भाग्यपूर्ण भएको कूटनीतिज्ञहरूले बताएका छन् ।   

भारतका लागि नेपालका पूर्वराजदूत निलाम्बर आचार्यले प्रचण्डको अभिव्यक्ति दुर्भाग्यपूर्ण भएको बताए । पूर्वप्रधानमन्त्रीले आन्तरिक असन्तुष्टिलाई देखाएर छिमेकीसँगको सम्बन्ध बिगार्न नहुने उनको भनाइ छ ।

‘प्रचण्डजीको अभिव्यक्ति दुर्भाग्यपूर्ण छ । उहाँ पूर्वप्रधानमन्त्री पनि हो । चीन र भारत दुवै मुलुकसँग हाम्रो सम्बन्ध राम्रो हुनुपर्छ । केही समस्या उत्पन्न हुन सक्छ । तर त्यसैलाई लिएर मित्रता, सहयोग र सद्भाव खलबल्याउनु हुँदैन,’ पूर्वराजदूत आचार्यले भने । विपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्रीजस्तो नेताले जिम्मेवारीपूर्वक अभिव्यक्ति दिनुपर्ने उनको भनाइ छ । ‘आन्तरिक विवाद आफ्नो ठाउँमा छ तर छिमेकसँगको सम्बन्धलाई असर गर्नेगरी अभिव्यक्ति दिनु हुँदैन’, रातोपाटीसँग आचार्यले भने ।

भारतसँग देखिएका केही समस्यालाई समाधान गर्दै लैजानुपर्नेमा जोड दिँदै आचार्यले प्रधानमन्त्रीबाट पहिलो औपचारिक भ्रमणका लागि चीनलाई रोज्दैमा भारत रिसाउनुपर्ने कारण नभएको प्रस्ट पारे । ‘भारतसँग हाम्रो लामो, घनिष्ट सम्बन्ध छ । केही समस्या उत्पन्न हुँदैमा ती गाढा सम्बन्ध बिग्रिहाल्छ कि भन्ने सोच गलत हो,’ उनले भने, ‘पक्कै पनि प्रधानमन्त्रीको पहिलो औपचारिक भ्रमण भारतबाट सुरु गरेको भए राम्रै हुन्थ्यो ।’

पूर्वराजदूत आचार्यले पहिलो औपचारिक भ्रमण भारतबाट सुरु भएन भन्दैमा सम्बन्ध बिग्रियो भन्न नमिल्ने प्रस्ट पारे । ‘यसमा रिसाउनुपर्ने कारण म देख्दिनँ । केही उतारचढाव होलान्, त्यसलाई सल्टाउँदै जानुपर्छ,’ उनले भने ।

नेताहरूले आफ्नो फाइदाका लागि चीन र भारत कार्ड प्रयोग गर्नु गलत भएको आचार्यको भनाइ छ । दुवै छिमेकी मुलुक समान महत्त्वको भएकाले मित्रवत् सम्बन्ध विस्तार गर्नुपर्ने उनको विचार छ । नजिकको सम्बन्ध राख्दा आफूलाई राम्रो मान्छन् वा आफूलाई विश्वास गर्छन् भन्ने गलत भ्रमबाट नेताहरू मुक्त हुनुपर्ने आचार्यको बुझाइ छ ।

‘नेताहरूमा म नजिक भएपछि राम्रो मान्छन् । मलाई विश्वास गर्छन् भन्ने भ्रम रहन्छ । यस्ता समस्या यहाँमात्र होइन, अन्य देशमा पनि हुन्छन् । यसलाई लिएर बबालै मच्चाउनुपर्ने आवश्यकता छैन,’ उनले भने ।

नेपालले दुवै देशसँग मित्रवत् सम्बन्ध राख्नुपर्नेमा जोड दिँदै आचार्यले भने, ‘नेपालको हित त्यहाँ छ, त्यसले चीन र भारत दुवैको हित हुन्छ ।’

चीन र भारत सम्बन्धबारे थप व्याख्या गर्दै उनले भने, ‘जोसँग जति सम्भावना छ, त्यति नै नेपालको हितमा प्रयोग गर्न सक्नुपर्छ । भलै भारतसँग ऐतिहासिक, सांस्कृतिक, भावनात्मक सम्बन्ध बढी गाढा छ । चीनबाट आर्थिक सम्भावना बढी छन् । चीनसँग आर्थिक उपयोग गर्दा भारत रिसाउनुपर्ने कारण छैन ।’

तथापि यसपटक ओलीलाई भारतले महत्त्व नदिएको हो कि भन्ने विषयमा आचार्यले भारतसँग हिजोकै जस्तो सम्बन्ध हुनुपर्छ भन्ने नरहेको बताए । समय र आवश्यकताअनुसार सम्बन्ध विकास र फेरबदल हुन सक्ने उनको भनाइ छ ।

‘नेताहरूका आ–आफ्ना मनोविज्ञान हुन्छन् । केही कारणले एकछिन ठुस्किन्छन् । भोलि फेरि मिल्छन् । त्यसलाई ठुलो इस्यु बनाइ राख्न आवश्यक छैन,’ आचार्यले भने, ‘हिजोको जस्तो सम्बन्ध हुनुपर्छ भन्ने छैन । समय र आवश्यकता अनुसार फेरबदल हुनसक्छ ।’

चीनका लागि नेपालका पूर्वराजदूत टंक कार्कीले प्रचण्डको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन् । पूर्वप्रधानमन्त्री तथा जिम्मेवार दलका अध्यक्षले तल्लो स्तरमा गिरेर अभिव्यक्ति दिन्छन् भन्नेमा आफूलाई विश्वास नलागेको उनले बताए ।

‘प्रचण्ड जत्तिको व्यक्तिले त्यो तहमा गिरेर बोल्छन् जस्तो मलाई लागेको थिएन,’ उनले भने । ‘द हिन्दू’लाई प्रचण्डले दिएको अभिव्यक्ति निकै गम्भीर र तल्लो स्तरको रहेको उनको बुझाइ छ । ‘यो उहाँको भारतसँगको अनुपम सम्बन्धको विचार प्रणालीको संगति हो जस्तो मलाई लाग्छ,’ उनले भने, ‘आन्तरिक रूपमा असहमति जेसुकै भए पनि त्यसरी बाहिर गएर कूटनीतिक मर्यादाविपरीत अभिव्यक्ति दिनु शोभनीय भएन ।’

अर्का कूटनीतिज्ञ जयराज आचार्यले कूटनीतिक विषयमा नेताहरूले सचेततापूर्वक अभिव्यक्ति दिनुपर्नेमा जोड दिए । खासगरी चीन, भारत र अमेरिकासँगको संवेदनशील सम्बन्धमा बोल्दा सचेत हुनुपर्ने आचार्यको भनाइ छ ।

‘कूटनीतिक विषयमा खासगरी भारत, चीन र अमेरिकासँगको संवेदनशील सम्बन्धमा बोल्दाखेरी ज्यादै नै सचेतपूर्वक बोल्नुपर्छ । हल्का टिप्पणी गर्नुहुँदैन । चाहे भारत जाने विषयलाई लिएर होस्, चाहे चीन जाने विषयलाई लिएर होस् । परिणाम देखिसकेपछि मात्रै टिप्पणी गर्नु उपयुक्त हुन्छ,’ उनले भने ।

परिणाम आउनुअघि नै भविष्यवाणी जस्तो गरेर विचार पोख्नु राम्रो नहुने आचार्यले बताए । उनले आन्तरिक प्रतिस्पर्धाको राजनीतिलाई विदेशसँगको सम्बन्धमा गाँसेर कुरा गर्नु उपयुक्त नभएको टिप्पणी गरे । गैरजिम्मेवार अभिव्यक्तिले कूटनीतिक सम्बन्धमा ठुलो असर पर्ने उनको बुझाइ छ ।   

‘आन्तरिक प्रतिस्पर्धाको राजनीतिलाई विदेशसँगको सम्बन्धमा गाँसेर कुरा गर्नु हुँदैन । यस्ता अभिव्यक्तिले कूटनैतिक सम्बन्धमा फरक पार्छ । हाम्रा दुवै छिमेकी र अन्य मित्रराष्ट्रहरूले पनि हामीलाई हेर्ने दृष्टिकोणमा विश्वासको संकट पैदा गर्छ’, उनले भने, ‘विश्वसनीयताको आधार गुमाउँछ । हल्का किसिमले बोलेपछि उनीहरूले हाम्रा नेतृत्व वर्गलाई हल्का किसिमले हेर्छन् । उनीहरूले मुलुकलाई पनि त्यसरी हेरिदिँदा घाटा हुन्छ ।’

विदेशसँगको सम्बन्ध आफ्नै गतिशीलता, स्वरूप, प्रकृतिको हुने भन्दै आचार्यले अनुभवहीनता, अपरिपक्वता र अदूरदर्शिता तीन कुराले मार्गनिर्देशन गर्न नहुने स्पष्ट पारे ।

कांग्रेस–एमाले गठबन्धनबाट असार ३१ गते प्रधानमन्त्री भएका ओलीले भारतबाटै पहिलो औपचारिक विदेश भ्रमण गर्न चाहेका थिए । यद्यपि, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबाट भ्रमणको औपचारिक निम्तो नआएपछि उनी मंसिरको दोस्रो साता चीन जाने तयारीमा छन् ।

तर ओलीले नेपालका दुवै छिमेकीसँग सुमधुर सम्बन्ध स्थापित गर्न परिपक्वता देखाउन नसकेको प्रचण्डको आरोप थियो । ‘पहिले चीन जानु भनेको प्रधानमन्त्री ओलीले देखाएको अपरिपक्वताको प्रमाण हो । सरकारले दुवै देशसँगको सम्बन्धमा परिपक्वता देखाउन सक्नुपर्थ्यो । केपीजी द्विपक्षीय भ्रमणका लागि चीन जाँदै हुनुहुन्छ, तर यो भ्रमण चाइना कार्ड प्रयोग गर्नेमा देखिन्छ’, द हिन्दुसँगको अन्तरवार्तामा प्रचण्डले भनेका थिए ।

प्रचण्डले आफ्नो प्रधानमन्त्रीकालमा भारतसँगको सम्बन्ध नयाँ उचाइमा पुगेको पनि दाबी गरेका थिए । आफ्नो भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल भएको र विभिन्न महत्त्वपूर्ण सम्झौताहरूमा हस्ताक्षरसमेत भएको उनले स्मरण गराएका थिए ।  

दुई देशको राष्ट्रिय चासोका आधारमा आफूले बलियो सम्बन्ध स्थापना गरेको प्रचण्डको जिकिर थियो । तर ओली  सरकार बनेपछि नेपालमा जे भइराखेको छ, त्यो गलत भएको प्रचण्डको टिप्पणी थियो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप