चन्द्रमाको टाढाको भागमा पनि ज्वालामुखी विस्फोट भएको थियो
न्युयोर्क । हामीले देख्न सक्ने भागमा जस्तै चन्द्रमाको रहस्यमय टाढाको भागमा पनि अर्बौं वर्षअघि ज्वालामुखी विस्फोट हुने गरेको नयाँ अनुसन्धानले पुष्टि गरेको छ ।
अन्वेषकहरूले चीनको चाङ्ग’ई–६ ले फिर्ता ल्याएको चन्द्रमाको माटोको विश्लेषण गरेका थिए । यो थोरै अन्वेषण गरिएको टाढाको छेउबाट चट्टान र माटो लिएर फर्केको पहिलो अन्तरिक्ष यान हो ।
दुई अलग–अलग टोलीले लगभग दुई अर्ब ८० करोड वर्ष पुराना ज्वालामुखी चट्टानका टुक्राहरू फेला पारेका थिए । एउटा टुक्रा अझै पुरानो थियो । यसको उमेर चार अर्ब २० करोड वर्ष थियो ।
“यस क्षेत्रबाट नमुना प्राप्त गर्न साँच्चै महत्त्वपूर्ण छ किनकि यो त्यस्तो क्षेत्र हो जसको बारेमा हामीसँग कुनै तथ्याङ्क छैन”, अनुसन्धानमा संलग्न नभएका एरिजोना विश्वविद्यालयका ग्रहीय ज्वालामुखी विशेषज्ञ क्रिस्टोफर ह्यामिल्टनले भने ।
पृथ्वीबाट देखिने चन्द्रमाको नजिकको भागमा यस्तै समय अवधिमा सक्रिय ज्वालामुखीहरू थिए भन्ने वैज्ञानिकहरूलाई थाहा छ ।
नासाको लुनार रेकोनेसेन्स अर्बिटर लगायतका पूर्व अध्ययनहरूले टाढाको भागमा पनि ज्वालामुखी इतिहास हुनसक्ने सङ्केत गरेका थिए । पृथ्वीबाट टाढा रहेको त्यस क्षेत्रबाट लिइएका पहिलो नमुनाहरूले सक्रिय इतिहासको पुष्टि गर्दछन् ।
यी नतिजाहरू शुक्रबार नेचर एन्ड साइन्स जर्नलमा प्रकाशित भएका थिए ।
चीनले चन्द्रमामा धेरै अन्तरिक्ष यान प्रक्षेपण गरेको छ । सन् २०२० मा चाङ्ग’ई–५ अन्तरिक्ष यानले नजिकको भागबाट चन्द्रमाका चट्टानहरू फिर्ता ल्याएको थियो । यो नासाका अपोलो अन्तरिक्षयात्री र सोभियत सङ्घका अन्तरिक्षयानले सन् १९७० को दशकमा सङ्कलन गरेपछिको पहिलो थियो । चाङ्ग’ई–४ अन्तरिक्षयान सन् २०१९ मा चन्द्रमाको टाढाको भागमा पुग्ने पहिलो यान बनेको थियो ।
चन्द्रमाको टाढाको भाग क्रेटरहरूले भरिएको छ र नजिकैको समतल, अँध्यारो मैदानहरू लाभा प्रवाहद्वारा कुँदिएका छन् । अध्ययनका सह–लेखक चिनियाँ एकेडेमी अफ साइन्सेसका क्यु–ली लीका अनुसार यी दुई भाग किन यति फरक छन् भन्ने कुरा अझै रहस्य नै छ ।
लीका अनुसार नयाँ खोजहरूले चन्द्रमाको टाढाको भागमा एक अर्ब वर्षभन्दा बढी समयसम्म भएका ज्वालामुखी विस्फोटहरूको जानकारी दिन्छन् । भविष्यको अनुसन्धानले यो गतिविधि कसरी यति लामो समयसम्म टिक्यो भन्ने कुरा निर्धारण गर्नेछ । -(रासस/एपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्ज भन्सार : पेट्रोलियम पदार्थबाट ३७ अर्ब राजस्व सङ्कलन
-
कपिल शर्मा, राजपाल यादव, सुगन्ध मिश्रा र रेमो डिसुजालाई ज्यान मार्ने धम्की
-
जनता र विकासलाई केन्द्रमा राखेर काम गर्नुपर्छ : राष्ट्रपति पौडेल
-
छ महिनामा जीवनबीमा कम्पनीले उठाए ८१ अर्ब प्रिमियम
-
शुक्रराज शास्त्रीको सालिकमा माल्यार्पण गर्दै सुरु भयो शहीद सप्ताह
-
कृषि विश्वविद्यालयमा डीन नियुक्त