बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय

एकैदिन ८३ जना शिक्षक शिक्षिकालाई दीर्घसेवा सम्मान प्रदान

शुक्रबार, ३० कात्तिक २०८१, १८ : ०१
शुक्रबार, ३० कात्तिक २०८१

भक्तपुर । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) भक्तपुरले आज एकैदिन ८३ जना शिक्षक–शिक्षिकालाई दीर्घसेवा सम्मान प्रदान गरेको छ । आज नेशनल प्याब्सन भक्तपुरको डोलेश्वरमा आयोजित नवौँ वार्षिक साधारणसभामा संस्थामा आबद्ध जिल्लाका विभिन्न विद्यालयमा विगत १० वर्षदेखि अनवरत रूपमा सेवा गरेका शिक्षक–शिक्षिकालाई दीर्घसेवा सम्मान प्रदान गरेको हो । 

साधारणसभाको उद्घाटन सत्रमा बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापाले ८३ जना शिक्षक–शिक्षिकालाई दोसल्ला ओढाएर दीर्घसेवा सम्मान वितरण गरे । कार्यक्रममा मन्त्री थापाले शिक्षासँग स्वास्थ्यलाई पनि जोडेर लैजानुपर्नेमा जोड दिँदै शिक्षक तथा विद्यार्थीलाई स्वस्थ राख्न विद्यालयले स्वास्थ्य शिविरलगायत कार्यक्रम विद्यालयमै गर्नुपर्ने औँल्याए ।

उनले भने, “प्रत्येक विद्यालयले वर्षमा कम्तीमा पनि एउटा स्वास्थ्य शिविरको आयोजना गर्नस्, विद्यार्थीलाई स्वस्थ राख्नुस्, त्यसका लागि प्राविधिक सहयोग हामी गर्छौँ, भक्तपुर अस्पताल, सूर्यविनायक नगर अस्पतालबाट सेवा प्रवाह गर्छौँ, प्रत्येक विद्यालयमा यो अभियान चलाउनुस् ।”

अब भक्तपुरका जनताले सस्तो र सहज रूपमा सिटिस्क्यान सेवा पाउने उल्लेख गर्दै उनले प्रदेश सरकारले रु १९ करोडको लागतमा सिटीस्क्यान मेसिन भक्तपुर अस्पतालमा जडान गर्न बोलपत्र आह्वान गरिसकेको उनले बताए । भक्तपुर अस्पतालमा सिटिस्क्यान मेसिन राख्न ठाउँ अभाव भइरहेको अवस्थामा भक्तपुर नगरपालिकाले अस्पतालले एक सय वर्ष अगाडिदेखि भोगचलन गर्दै आएको जमिनमा सटर हाल्ने योजना अगाडि बढाएको बताए ।

भक्तपुरका जनताले सेवा पाउने विषयमा भक्तपुर नगरपालिकाले सहयोग गर्नुपर्नेमा उल्टै पूर्वाधार भत्काएर आफ्नै संचरना बनाउन खोजेको भन्दै उनले जनताप्रति स्थानीय सरकार उत्तरदायी हुनुपर्नेमा जोड दिए । उनले भक्तपुर नगरपलिकाद्वारा सञ्चालिन ख्वपः अस्पतालाई पनि बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले सिटिस्क्यान मेसिन राख्न बजेटको व्यवस्था गरेको बताए ।

कार्यक्रममा एन प्याब्सन केन्द्रीय समितिका सहकोषाध्यक्ष विक्रम धुकुछु, केन्द्रीय पदाधिकारी जिबी खड्कालगायतले शिक्षालाई गुणस्तरीय बनाउन शिक्षक शिक्षिकाको भूमिका महत्त्वपूर्ण हुने भएकाले सम्मानले प्रेरणा प्रदान गर्ने बताए । नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष एवं कार्यक्रम सभापति सञ्जय खड्काले एउटै विद्यालयमा १० वर्षसम्म सेवा गर्ने शिक्षक शिक्षिकालाई यस वर्षदेखि सुरु भएको सम्मान अब हरेक वर्ष सञ्चालन गर्ने बताए ।

उनले नेशनल प्याब्सन भक्तपुरकै नेतृत्वमा निजी क्षेत्रको सहयोगमा यस संस्थाअन्तर्गत रहेका विद्यालयका शिक्षक शिक्षिकादेखि विद्यार्थीसम्मलाई रु एक लाखको निःशुल्क दुर्घटना बीमाको व्यवस्था गरेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप