मङ्गलबार, ०९ पुस २०८१
ताजा लोकप्रिय

भुतमेला हेर्न धनुषाको कमला नदीमा भीड

शुक्रबार, ३० कात्तिक २०८१, १७ : ३९
शुक्रबार, ३० कात्तिक २०८१

धनुषा । ‘पापकी क्षय, धर्मकी जय, हई भगतकाली राघो बन्नी...’  लगायतका आ—आफ्ना इष्ट देवताकोको नाम जप्दै धामीझाँक्री मिर्दङ (मादल), झ्याली, ढोल पिपही जस्ता बाजाको तालमा कमला नदीमा शपथ ग्रहण गर्न पुगेका छन् ।

धनुषा र सिरहा जिल्लाको सिमाना छुट्याउने कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्यासिद्ध हुने जनविश्वासका साथ गाउँगाउँबाट भुतमेला भर्न कमला नदीमा श्रद्धालुको घुइँचो लागेको थियो । कमला नदीको किनारमा प्रत्येक वर्ष कात्तिक पूर्णिमामा अनौठो तथा भुतमेला लाग्ने गर्छ । धनुषासहित सिरहा, सप्तरी, महोत्तरी, उदयपुर र सीमावर्ती भारतको मधुवनी, दरभङ्गा, समस्तीपुर, जयनगर लगायतका स्थानबाट ठुलो सङ्ख्यामा सर्वसाधारण कमला नदीमा स्नान गर्न आउने गर्दछन् । कमला नदीमा स्नान गरेपछि धामीझाँक्री बन्ने विश्वासका साथ देउता खेल्दै स्नान गर्नको लागि गाउँघरबाट आज बिहानैदेखि कमला नदीको तटमा पुगेका थिए । कमला नदीमा स्नान गरिए कमलेश्वरी देवीले तान्त्रिक विद्याको वर दिने तथा योग पाको हुने जनविश्वासका कारण वर्षेनी कमलामा स्नान गर्नेको सङ्ख्या बढ्दै गइरहेको छ । भुतमेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनले कमला नदी र गङ्गासागरको शुद्ध पानी आ–आफ्नो घर लैजाने गर्दछन् । मूलधामीले मन्त्र सिद्धी गरिदिएपछि धामी बन्ने प्रक्रिया पूरा हुन्छ । तन्त्रशास्त्रका अनुसार तन्त्रसिद्धीका लागि यस दिन पूर्णाहुती दिने चलन छ । मिथिलाञ्चलमा सदियौँदेखि तन्त्र विधामा सर्वसाधारणको विश्वास रहेको छ । पहेलो धोती र सारीमा सजिएका नयाँ सिकारु धामीझाँक्रीहरु हातमा बलेको आगो सहितको माटोको ढकना (भाँडा) र बेतको लाठी घुमाउँदै चर्को स्वरमा चिच्याइरहन्छन् । उनीहरू आफूमा आएको देउतालाई सिद्ध गर्न गंगास्नान गर्न आएका बताउँछन् । 

Long video.00_10_05_20.Still455

धामीझाँक्री मादल, करताल, झाइल र ढोल पिपहीको सुर र तालबिच यिनीहरुको कर्कश स्वरले भय उत्पन्न हुने खालको वातावरण हेर्न सकिन्छ । स्नानको समयमा मूलधामीले लोक भाकामा गीत समेत गाउने गर्छन् । जसलाई स्थानीय भाषामा ‘महराइ’ भन्ने गरिएको छ । तराईमा मन्त्र सिकाउने धामीलाई ‘भगता’ भन्ने गरिन्छ । पवित्र नदीमा प्रथम स्नान गर्ने धामीझाँक्रीसँग आशिष थाप्ने श्रद्धालुको सङ्ख्या पनि उल्लेखनीय रहने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप