लाजिम्पाटमा घरजग्गा व्यवसायीलाई आक्रमण गर्नेहरूको पहिचान खुल्यो
काठमाडौँ । काठमाडौँको लाजिम्पाटस्थित पानीपोखरीमा कार्तिक ११ मा घरजग्गा व्यवसायी ३५ वर्षीय विक्रम लामामाथि आक्रमण भएको घटनामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नुवाकोटको ककनी गाउँपालिका–६ घर भएर टोखा नगरपालिका–३ स्थित ग्राण्डी बस्ने लामामाथि एक समूहले रडले हान्दै निर्घात कुटपिट गरेको थियो । उनको अहिले ग्रिन सिटी अस्पतालमा उपचार भइरहेको छ ।
आक्रमणमा संलग्न रहेको आरोपमा हाल शैलेन्द्र तामाङ उर्फ मार्सल पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई अभद्र व्यवहारमा मुद्दा चलाएको थियो । अदालतको आदेशले मार्सल थुनामा गएका छन् । उनी कारागारमुक्त भएपछि पुनः ज्यानमार्ने उद्योग मुद्दामा अनुसन्धान गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
४ जना मिलेर इनोभा अस्पतालको पार्किङमा विक्रम लामामाथि रड प्रहार गरेर निर्घात कुटपिट गरेको सिसिटिभी फुटेजमा देखिन्छ । आक्रमण गर्ने मध्येका ३ जना अझै फरार छन् । आक्रमणकारीहरूको पहिचान भैसकेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । आक्रमणमा संलग्न अजय लामा, निश्चल सुनार र दीपक बरामु फरार छन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट नुवाकोट घर भएका अजय लामाले नेतृत्व गरेर विक्रमलाई आक्रमण गरेको खुलेको छ । अजय यसअघि लिखत किर्ते कसुरमा जेल परेर छुटेका थिए । विक्रम लामाले गर्दा यसअघि आफू जेल परेको भन्दै उनले आफ्नो समूहमा ‘बदला लिनुपर्ने’ कुरा बताउँदै आएका थिए । अनुसन्धानमा संलग्न एकजना अधिकृतले भने, ‘अजयले रिसिबि साँध्न पनि आक्रमण गरेको हुनसक्छ तर, उनलाई पक्राउ नगरिकन यकिन कुरा आउँदैन ।’
पूर्व भाउजूले आक्रमणकारी परिचालन गरेको आरोप
आक्रमणमा परेर गम्भीर घाइते भएका विक्रम लामाले आफ्नै पूर्व भाउजूले टिम परिचालन गरेर आफूमाथि आक्रमण गरेको आरोप लगाएका छन् । भोजपुर घर भएकी ५० वर्षीया लक्ष्मी राईले विक्रमका दाइ दीपेश लामासँग १२ वर्षअघि बेलायतमा विवाह गरेकी थिइन् । बेलायतमा लक्ष्मी ज्वेलर्स नामको सुन पसल खोलेकी उनले दीपेशलाई पसल हेर्न लगार काठमाडौँमा बस्थिन् ।
काठमाडौँमा गलत व्यक्तिहरूसँग सम्बन्ध रहेको थाहा पाएपछि विक्रमले सो कुरा दाइसँग सेयर गरे । त्यसपछि दीपेश र लक्ष्मीको सम्बन्धविच्छेद भएको थियो । आफ्नो सम्बन्धबिच्छेद गराएको रिसिबी साँध्न लक्ष्मीले बदला लिएको विक्रमको आशङ्का छ ।
विक्रमले अनुसन्धान अधिकृतहरूलाई त्यसबारे जानकारी गराएका छन् । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्, ‘पूर्व भाउजूले हत्या गर्ने उद्देश्यले आक्रमणकारी परिचालन गरेको विक्रमले हामीलाई बताएका छन् ।’ तर, आक्रमणमा संलग्न अजयलाई पक्राउ नगरेसम्म भाउजूको संलग्नताबारे तथ्य नखुल्ने अनुसन्धान अधिकृतहरू बताउँछन् । पूर्व भाउजूको ‘कनेक्सन’बारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलरा नगरपालिका–४ का पूर्ववडाध्यक्ष झाको निधन
-
मन्त्री भण्डारी र कोरियाली समकक्षीबिच टीआइपीएफ सम्झौतामा हस्ताक्षर
-
रवि लामिछानेको हिरासतभित्रको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन
-
सामाजिक सञ्जालमा देखिने शङ्कास्पद पोस्टहरू क्लिक नगर्न प्रहरीको आग्रह
-
मनाङमा जलविद्युत् आयोजना सम्पन्न गर्न सहजीकरण समिति गठन
-
सिरिया छाड्ने तयारी गर्दैछ रुस ?