आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
वायु प्रदूषण

वायु प्रदूषणले हामीलाई दीर्घरोगी बनाउन सक्छ (भिडियोसहित)

शुक्रबार, ३० कात्तिक २०८१

काठमाडौँ । वायु प्रदूषणले हाम्रो स्वास्थ्यमा एकदमै नराम्रो असर पार्ने गर्दछ । हामी यस्तो राष्ट्रमा बसेका छौँ, जसको दुवैतिर औद्योगिक राष्ट्र छन् । एकतिर चीन र अर्कोतिर भारत छ । भारत र चीन दुवै औद्योगिक राष्ट्र हुन् । ती देशमा औद्योगिक प्रदूषण हुँदा हाम्रो देशमा पनि प्रभाव देखिन्छ ।

हामी समुन्द्रबाट टाढा छौँ । त्यसले गर्दा यहाँ प्रदूषण बढी हुने गर्दछ । अर्कोतिर हामी अहिले आधुनिक हुँदै गएका छौँ । हाम्रो देश गरिब भए पनि जनता गरिब छैनन् । त्यसले गर्दा सवारी साधन बढी प्रयोग भएको छ । यसको नियमनको व्यवस्था राम्रो नहुँदा पुरानो सवारी साधन पनि चलिरहन्छन् । पुराना सवारी साधनले टक्सिक ग्याँस फाल्ने गर्दछन् । यसले वातावरण बढी दूषित हुने गर्दछ ।

हामीकहाँ फोहोर जनाउने गरिन्छ । हामीले फोहोर छुट्ट्याउने कार्य गर्दैनौँ । कागज, कपडा, प्लास्टिक सबै एकै पटक जलाउने गर्दछौँ । जबकि हामीलाई थाहा छ– हामीले प्लास्टिक जलायौँ भने यसले स्वास्थ्यलाई असर पार्ने धुवाँ निस्कन्छ । यसले क्यान्सरसम्म गराउने गर्दछ ।

हामी सकेसम्म वातावरण मैत्री बन्नुपर्छ । सवारी साधनहरू कम प्रयोग गर्ने । नभइ नहुने ठाउँमा मात्रै प्रयोग गर्ने, साइकल बढी प्रयोग गर्ने, अति आवश्यक छ भनेमात्रै सवारी साधन प्रयोग गरे पनि केही मात्रामा वायु प्रदूषण घटाउन सकिन्छ ।

साना सवारी साधनभन्दा ठुला सवारी साधन प्रयोग गर्न सके राम्रो हुन्छ । यसले एकै पटक धेरै मान्छे ओसारपसार गर्छ । जसले गर्दा धेरै सवारी साधन प्रयोग हुनबाट रोक्न सकिन्छ । सवारी साधनलाई कसरी कम प्रयोग गर्न सक्छौँ भनेर पनि ध्यान दिनुपर्ने देखिन्छ । धुवाँ कम निकाल्ने कोसिस गर्नुपर्छ । दाउरा तथा कोइला बाल्ने काम घटाउन ध्यान दिनुपर्छ । अचेल मिठो खाना, गाउँले स्वादको नाममा सहरबजारका रेष्टुरेन्टमा पनि दाउरा प्रयोग गरी खाना बनाउने, सेकुवा पोल्नेजस्ता कार्य भइरहेको छ । यसले पनि वायु प्रदूषण हुन्छ ।

उद्योगहरूमा पनि नियमन छैन । इँटा भट्टीबाट निस्कने धुवाँले गर्दा हाम्रो स्वास्थ्यमा असर पारिरहेको छ ।

  • वायु प्रदूषणले स्वास्थ्यमा पार्ने असर

हामीकहाँ आउने कतिपय बिरामीमा धुम्रपान, मदिरापान नगरे पनि क्यान्सर भएको पाइन्छ । मानिसलाई धुम्रपान र मदिरापान नगरेर आफूलाई जोगाउने प्रयास गरे पनि वातावरणबाट कोही पनि जोगिन सक्दैन । तपाईंको छिमेकीले बालेको आगोबाट धुवाँ निस्किरहेको छ भने तपाईंलाई पनि असर गर्छ । बाहिरी वातावरणले असर गर्दैन भन्ने छैन । त्यसकारण हामी सबै मिलेर वायु प्रदूषण नियन्त्रण गर्न सामूहिक रूपमा लाग्नुपर्ने देखिन्छ । एक जनाले मात्रै वायु प्रदूषण कम गर्छु भनेर हुँदैन । सहरी क्षेत्रमा वायु प्रदूषण गराउने नै सवारी साधन हो ।

dr roshan kumar jha.00_00_42_23.Still003

वायु प्रदूषणका कारण श्वासप्रश्वासमा समस्या देखिने, दम रोग लाग्ने हुन्छ । दम रोग लागेको मान्छेमा फोक्सोसँग सम्बन्धित क्यान्सर हुने खतरा रहन्छ । वायु प्रदूषणकै कारण छालामा क्यान्सर देखिन्छ । त्यस्तै, आँखासँग सम्बन्धित समस्या बढी देखिन्छ । वायु प्रदूषणले विशेषगरी फोक्सो, छाला र आँखासँग सम्बन्धित समस्या बढाउँछ । मुटुसँग सम्बन्धित समस्या पनि देखिन्छ ।

  • वायु प्रदूषणबाट संक्रमित भएको कसरी थाहा पाउने ?

आफू वायु प्रदूषण हुने क्षेत्रमा बसोबास गर्नु हुन्छ भने श्वासप्रश्वास, छाला र आँखासँग सम्बन्धित समस्या भएमा स्वास्थ्य परीक्षण गराइहाल्नु पर्छ । हाम्रो शरीरको हरेक भागलाई विभिन्न रसायनले असर पारिरहेको हुन्छ । ती रसायन आगो, सवारी साधनबाट निस्किएको हुन्छ । यसले हामीलाई दीर्घरोगी बनाउन सक्छ ।

पछिल्लो समय सरुवा रोगभन्दा नसर्ने रोगको भार बढी छ । नसर्ने रोग हुने भनेकै हाम्रो रहनसहनका कारणले हो । यो विषय खानपान र वायु प्रदूषणसँग जोडिएको छ । वायु प्रदूषण न्यूनीकरण गर्न लाग्नुपर्छ । इलेक्ट्रिक कारले वायु प्रदूषण गर्दैन भनिन्छ तर त्यो सत्य होइन । टायरको घर्षणले निस्कने धुलोको कण हाम्रोलागि टक्सिक हो । इलेक्ट्रिक कार भन्दैमा जति कुदाए पनि हुन्छ भन्ने हुँदैन । यसले पनि वायु प्रदूषण हुन्छ ।

वायु प्रदूषणबाट कसरी जोगिने ?

हामीले हाम्रो मोबाइलबाट हावाको गुणस्तर हेर्न सक्छौँ । बढी छ भने त्यस्ता दिनमा बाहिर ननिस्कने, काम नभइकन बाहिर नजाने, मास्क लगाएरमात्र बाहिर निस्कने गर्नुपर्छ । भिडभाड हुने स्थानमा रोकिनु हुँदैन । यस्ता सानासाना विषयमा ध्यान दिनुपर्छ । घरमा खाना पकाउँदा धुवाँ आउने वस्तु प्रयोग गर्नु हुँदैन । बढी सवारी साधन भएको, भिडभाड भएको ठाउँमा सकेसम्म बस्नु हुँदैन । हावा प्रदूषणको नियन्त्रण कुनै एक पक्षले मात्रै पहल गरेर हुँदैन, हामी सबै लाग्नुपर्छ ।

कन्सलटेन्ट फिजिसियन झासँग गरिएको कुराकानीमा आधारित

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया