बंगलादेश विद्युत् निर्यात नेपालका लागि कोसेढुंगा : मन्त्री खड्का

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालबाट बंगलादेश विद्युत् निर्यात हुनु नेपालका लागि ऐतिहासिक कोसेढुंगा भएको बताएका छन् ।
नेपालमा उत्पादित विद्युत् शुक्रबारदेखि बंगलादेश निर्यात शुभारम्भ कार्यक्रममा मन्त्री खड्काले नेपालबाट बंगलादेश पहिलोपटक विद्युत् निर्यात हुनु नेपालका लागि ऐतिहासिक कोसेढुंगा भएको बताएका हुन् । ‘यो कोसेढुंगा दक्षिण एसियामा दिगो र अन्तरसम्बन्धित ऊर्जा भविष्यको लागि साझा दृष्टिकोणको प्रतिबिम्ब हो,’ उनले भने ।
मन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटीपीसी विद्युत् व्यापार निगम लिमिटेडबिच गत असोज १७ गते त्रिपक्षीय विद्युत् बिक्री सम्झौतामा हस्ताक्षरले यस उपलब्धिको लागि मार्ग प्रशस्त गरेको बताए । उनले बंगलादेशमा विद्युत् निर्यातमा सहजीकरण गर्ने भारत सरकार र विद्युत् आयत गर्ने बंगलादेश सरकारलाई धन्यवाद दिए । उक्त निर्यातले ऊर्जा सुरक्षा, आर्थिक वृद्धि र वातावरणीय दिगोपनलाई सहयोग पुगको उनको भनाई थियो ।
नेपाल–भारत र बंगलादेशबिच गत असोज १७ (अक्टोबर ३)का दिन त्रिपक्षीय सम्झौता भएर भारतको केन्द्रीय विद्युत् प्राधिकरणले भारतीय प्रसारण लाइन हुँदै बंगलादेश विद्युत् निर्यातको अनुमति दिएसँगै आजदेखि ४० मेगावाट बिजुली बंगलादेश निर्यात सुरु गरिएको हो ।
नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री खड्का, भारतका विद्युतमन्त्री मनोहरलाल खट्टर र बंगलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार मोहमद फजुल कबिर खानले भर्चुअल माध्यमबाट बंगलादेश विद्युत् निर्यातको स्विच अन गरेर औपचारिक शुभारम्भ गरेका हुन् ।
कार्यक्रममा भारतका विद्युतमन्त्री खट्टरले भारतको प्रसारण लाइन प्रयोग गरेर दक्षिण एसियाली मुलुकमा विद्युत् विस्तार गर्ने काम सराहनीय भएको बताए । उनले नेपालका विभिन्न जलविद्युत परियोजनामा भारतले लगानी गरेको भन्दै उक्त परियोजनाका सम्पन्नताले विद्युत् विस्तारमा थप सहजीकरण हुने उल्लेख गरे ।
बंगलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार खानले क्षेत्रीय ऊर्जा समन्वयका लागि यस्ता सम्झौताले ठुलो सहयोग पुगेको बताए । यस्ता सहकार्यले एकीकृत ऊर्जा विकासमा दक्षिण एसियाली देशलाई समृद्ध बनाउँदै दिगो विकासलाई सहयोग पुग्ने उनको भनाई थियो ।
नेपालको ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्यले त्रिदेशीय ऊर्जा सम्झौता र निर्यात दक्षिण एसियाको इतिहासमा लामो समयसम्म स्मरणीय हुने बताए । उनले यो साझेदारीले दक्षिण एसियाली देशमा नवीकरणीय ऊर्जाको प्रमुख निर्यात बन्ने हाम्रो दृष्टिकोणलाई साकार पार्ने एउटा महत्त्वपूर्ण कदम भएको उल्लेख गरे ।
सम्झौता भएअनुसार नेपालले जुन १५ देखि नोभेम्बर १५ सम्म ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्नेछ । नेपालले निर्यात गरेको बिजुली ४०० केभी प्रसारण लाइन हुँदै ढल्केबरबाट भारतको मुजफ्फरपुर–बहरामपुर हुँदै बंगलादेशको भेरमारासम्म पुर्याइनेछ । यो याममा आज एक दिन मात्र बिजुली निर्यात हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लामो प्रतीक्षापछि पृथ्वीमा फर्किने भए अन्तरिक्ष यात्री
-
पूर्वराजालाई वामदेवको चेतावनी : ब्रिटेन र फ्रान्सको घटना दोहोरिन सक्छ
-
पोल्यान्डका राष्ट्रपति डुडा र ट्रम्पबिच भेटवार्ता
-
१ करोड २४ लाखबाट सुरु भयो सैनिक कल्याणकारी कोषको बचत ८७ अर्ब रुपैयाँ पुग्यो
-
पुनर्बीमा कम्पनीको उछालले बढ्यो सेयर बजार, कारोबार साढे ११ अर्ब
-
सेनाले जिम्मा पाएका ३२ वटा सडक आयोजना सम्पन्न, के हुँदैछ फास्ट ट्र्याक ?