भारतले भन्यो– नेपाल–बंगलादेश विद्युत् व्यापारले ऊर्जाको क्षेत्रीय कनेक्टिभिटी बढाउने छ

काठमाडौँ । नेपालबाट बंगलादेश विद्युत् निर्यात सुरु भएपछि भारतीय पक्षले यसको स्वागत गरेको छ । आज (नोभेम्बर १५) मा नेपालबाट ४० मेगावाट विद्युत् बंगलादेश निर्यातको उद्घाटन गरिएको हो ।
विद्युत् निर्यातको उद्घाटन भर्चुअल रूपमा तीन देशका ऊर्जामन्त्रीले गरेका थिए । उद्घाटनसँगै आज राति १२ बजेसम्म नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात हुनेछ । यससँगै नेपाल–बंगलादेशबिच विद्युत् व्यापारको औपचारिक सुरुवात भएको छ । भारतको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै यसले ऊर्जाको क्षेत्रीय कनेक्टिभिटी बढाउन भूमिका खेल्ने प्रतिक्रिया दिएको छ ।
‘पहिलो त्रिदेशीय विद्युत् व्यापारमा भारतको प्रसारण प्रणाली प्रयोग भएको छ । यसले तीन देशबिच भएको सम्झौता अनुसार नेपालको विद्युत् भारत हुँदै बंगलादेश सहज रूपमा पुग्ने छ । क्षेत्रीय विद्युत् व्यापारमा प्रसारण लाइनमार्फत सघाउन भारत सधैँ तयार छ,’ विज्ञप्तिमा भनिएको छ ।
भारतले नेपाल–बंगलादेशको ऊर्जा व्यापार र आफ्नो सहयोगले क्षेत्रीय व्यापार, कनेक्टिभिटी जस्ता क्षेत्रमा ठुलो फड्को मार्ने र आर्थिक उन्नतिमा सहयोग हुने विश्वास व्यक्त गरेको छ ।
भारतीय सहयोगमा निर्माण भएको २५ मेगावाटको त्रिशूली र सहायक कम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् बंगलादेश निर्यात हुनेछ । यी भारतमा विद्युत् निर्यातका लागि स्वीकृति पाइसकेका आयोजना हुन् ।
नेपाल, भारत र बंगलादेशबिच भएको त्रिदेशीय सम्झौता अनुसार जुन १५ देखि नोभेम्बर १५ सम्म नेपालबाट बंगलादेशमा विद्युत् निर्यात हुनेछ । तर आज निर्यात भएपछि यो वर्ष (सन् २०२४) मा थप विद्युत् निर्यात हुनेछैन । त्यसपछि २०२५ को जुन १५ देखि फेरि निर्यात सुरु हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । आज सुरुवात मात्रै भएको र आगामी जुनदेखि नियमित रूपमा विद्युत् निर्यात गरिने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले विद्युतको मूल्य भारतको मुजफ्फरपुर बिन्दुमा पाउने छ । ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले नै बेहोर्नु पर्नेछ । मुजफ्फरपुरबाट भारतको प्रसारण लाइनमार्फत बहरामपुर–भेरमारा ४०० केभी प्रसारण लाइनबाट विद्युत् बंगलादेश पुग्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ करोड २४ लाखबाट सुरु भयो सैनिक कल्याणकारी कोषको बचत ८७ अर्ब रुपैयाँ पुग्यो
-
पुनर्बीमा कम्पनीको उछालले बढ्यो सेयर बजार, कारोबार साढे ११ अर्ब
-
सेनाले जिम्मा पाएका ३२ वटा सडक आयोजना सम्पन्न, के हुँदैछ फास्ट ट्र्याक ?
-
पाकिस्तानविरुद्धको खेलमा भारतीय टोलीसँग जोडियो यो नचाहेको कीर्तिमान
-
७ महिनामा सेनाद्वारा ५६ वटा बम डिस्पोज
-
नेपाल शान्ति सैनिक पठाउने राष्ट्रको अग्रणी सूचीमा, हालसम्म ७३ सैनिकको मृत्यु