शुक्रबार, ३० कात्तिक २०८१
ताजा लोकप्रिय

सामाचकेवा : पिताबाट श्रापित दिदीलाई श्रापमुक्त गराउन भाइको कठोर तपस्या

शुक्रबार, ३० कात्तिक २०८१, १४ : १५
शुक्रबार, ३० कात्तिक २०८१

प्राचीन मिथिलाको उल्लेख नभएको सनातनी ग्रन्थ, धर्मशास्त्र, पुराण, श्रुति, स्मृति बिरलै होलान् । 

भविष्य पुराणमा उल्लेख भए अनुसार अयोध्याका राजा मनुका पुत्र निमि यस तपोभूमिमा आई यहाँका ऋषिको सानिन्ध्यमा तप र यज्ञ गरे । उनै निमिका पुत्र ‘मिथि’ कालान्तरमा एक शक्तिशाली शासक भए र आफ्नो पराक्रमले एउटा नगरको निर्माण गरे, जुन मिथिलाका नामले प्रसिद्ध छ । 

निमेः पुब्रस्तु तत्रैव मिथिर्नाम महान स्मृतः।
प्रथमं भुजबलैर्येन तैरहूतस्थ पाश्र्वतः ।।
निम्र्मितस्वीयनाम्ना च मिथिलापुरमुनमम् ।
पुरीजनन सामथ्यज्जिनकः सच कीर्तितः ।।

(भविष्य पुराण)

वाल्मीकि रामायणमा उल्लेख भए अनुसार राजा निमि धर्मात्मा, सबै प्राणीमध्ये सर्वश्रेष्ठ थिए । उनका छोरा मिथि र मिथिका छोरा जनक हुन् ।
मिथिलाको उल्लेख भविष्य पुराणमा मात्रै नभई वाल्मीकि रामायण, श्रीमद्भागवत, देवी भागवत, स्कन्द पुराण, अगस्त्य रामायणजस्ता सनातनी महाग्रन्थमा समेत उल्लेख भएको पाइन्छ । 

जन्मना जनकः सोऽभूद्धैदेहस्तुः विदेहजः।
मिथिलोमथनाज्जातो मिथिला येन निम्र्मिता ।।

(श्रीमदभागवत)

मिथिलाको सिमाना उत्तरमा हिमालय, दक्षिणमा गंगा, पूर्वमा कौसिकी (कोशी) र पश्चिममा गण्डक नदी रहेको उल्लेख गर्दै चन्दा झा लेख्नुहुन्छ —

गंगा बह्थी जनिक दक्षिण दिशी,
पुर्ब कौशिकी धारा
पश्चिम बह्थी गण्डकी,
उत्तर हिमवत बल बिस्तारा । 

प्राचीन मिथिलाको भूगोल विशेषतः आधुनिक भारतको बिहार (मधुवनी, दरभंगा, सहरसा, सुपौल, अररिया, मुजफ्फरपुर, बेगुसराय आदि जिल्ला) र केही भाग आधुनिक नेपालको मधेश प्रदेशमा पर्छ । यज्ञ भूमि, तपो भूमि, ज्ञान भूमिले विभूषित यस मिथिलाको राजधानी जनकपुर रहेको थियो । 

मिथिलाको मौलिक तथा विशिष्ट साहित्यिक, सामाजिक, सांस्कृतिक चाडपर्वहरू मनाउने क्रममा यसको प्राचीन भौगोलिक सिमानाको आभास आज पनि स्पष्ट भइरहन्छ ।  सामाजिक, कृषि, प्राकृतिक तथा वैज्ञानिक विशेषतायुक्त विभिन्न चाडपर्वले मिथिलालाई सांस्कृतिक रूपमा विशिष्ट एवं छुट्टै पहिचान दिलाउन सफल रहेका छन् । 

दशहारा, दीपावली, छठ, भ्रातृदुतिया, रक्षाबन्धन, जितिया, चौठचन्द्रसँगै सामाचकेवा पनि एउटा लोकपर्वका रूपमा मिथिलाका दिदीबहिनीले आ–आफ्ना दाजुभाइका आरोग्यता, सुख, समृद्धि, मंगल, दीर्घायु एवं ऐश्वर्य प्राप्तिका लागि कार्तिक शुक्ल पञ्चमीदेखि पूर्णिमासम्म मनाइन्छ । रक्षाबन्धन, भ्रातृदुतिया र सामाचकेवा लोकपर्वले मिथिलाका दिदीबहिनी र दाजुभाइबिचको अटूट सम्बन्ध, विशिष्ट प्रेमभाव, समर्पण तथा पवित्र बन्धनलाई दर्शाउँछ । 

सामा वृन्दावन जाने क्रममा एक ऋषिसँग प्रेमालाप गरिरहन्छिन् भनी चुडकले श्रीकृष्णसँग कुरा लगाउँछन् । क्रोधमा श्रीकृष्णले सामालाई पक्षी बन्ने श्राप दिन्छन् ।
 

मान्यता छ कि एउटी स्त्री आफ्ना पतिभन्दा पनि भाइसँग हुँदा आफूलाई बढी सुरक्षित महसुस गर्छिन् । दिदीबहिनी र दाजुभाइको पवित्र सम्बन्धका बारेमा अनेकन् प्रसंग छन् । रामायणमा वर्णन भए अनुसार भूमिबाट उत्पत्ति भएकी माता सीतालाई ‘भुमिजा’का नामले पनि जानिन्छ । त्यसैगरी भूमिमा उत्पन्न हुने खढ (रारी) लाई  ‘भुमिज’ र संस्कृतमा ‘तृण’ भनिन्छ । भुमिजा र भुमिज दुवै भूमिबाटै उत्पन्न भएकाले उनीहरूबिच भाइबहिनीको सम्बन्ध मानिन्छ । 

कथा प्रसंगमा एकचोटि रावणले अशोक वाटिकामा सीतामातासँग जोडबल गर्न खोजे । सीताले आफू बसिरहेको चटाइको एक सानो टुक्रा खढ (रारी) निकालिन् र अगाडि राखेर भनिन्— ए रावण, तिमी कति मूर्ख हौ ? तिमी यो खढ (मेरो भाइ)लाई त पार गर । यस सन्दर्भले एउटी बहिनीको भाइप्रतिको अटल विश्वासलाई विम्बित गर्छ । 
तृण धरी ओट कहती बैदेही, 
सुमिरि अवधपति परम सनेही । 

सामाचकेवा लोकपर्वको महात्म्य एउटा भाइले आफ्नै पिताबाट श्रापित दिदीलाई श्रापमुक्त गराउन गरेको कठोर तपस्यासँग सम्बन्धित छ । पण्डित रामचन्द्र झाद्वारा सम्पादित वर्षकृत्य प्रथम भाग पृष्ट १७८–१८१ मा सामा पूजा एवं पूजा विधि उल्लेख गरिएको छ । यस पुस्तकमा सामाचकेवा पर्वलाई पद्मपुराणसँग जोड्दै ‘श्री पद्मपुराने सुतशौनक संबादे सामापुजाव्रतकथा’ भनी उल्लेख गरिएको पाइन्छ । 

सामा श्रीकृष्णकी छोरी तथा साम्बकी बहिनी थिइन् । सामाकी आमा जाम्बवती थिइन् । सामा अत्यन्तै धार्मिक तथा प्रकृतिप्रेमी थिइन् । उनको घरनजिकै रहेको वृन्दावन जङ्गलमा चारुवक्य नामका ऋषिका आश्रम थियो र उनीसँग भेट्न सामा रात्रिको समयमा जाने गर्थिन् । 

सामा वृन्दावन जाने क्रममा एक ऋषिसँग प्रेमालाप गरिरहन्छिन् भनी चुडक नामका व्यक्ति (कुरा लगाउने वा चुगला) ले श्रीकृष्णसँग कुरा लगाउँछन् । क्रोधमा श्रीकृष्णले सामालाई पक्षी बन्ने श्राप दिन्छन् । पिताद्वाराश्रापित सामा पक्षी बनी वृन्दावनमा उड्न थालिन् । उनका पति चक्रवाकले पत्नी वियोगमा अत्यन्त व्यथित भई महादेवको आराधना गरे र पक्षी बन्ने वरदान पाई उनी पनि वृन्दावनमा चकेवा बनी सामासँगै बस्न थाले । यी सबै घटनाबाट सामाका भाइ साम्ब अनभिज्ञ थिए । सामा पक्षी बनी उडिरहेको थाहा पाएपछि उनी अति दुःखी हुन्छन् र आफ्नी बहिनीलाई श्रापमुक्त गराउन श्रीकृष्णको तपस्या गर्छन् । उनको तपस्याले भगवान् खुसी भई सामाचकेवा दुवैलाई श्राप मुक्त गरिदिन्छन् । तत्पश्चात् दिदीबहिनी तथा दाजुभाइबिचको पवित्र तथा अनुपम प्रेम प्रतीकका रूपमा सामाचकेवा पर्व मनाउन थालेको जनविश्वास रहेको पाइन्छ ।

  • सामा चकेवाको खेल 

सामा चकेवा खेल वा पर्व मिथिलाको एक विशेष किसिमको सांस्कृतिक धरोहरका रूपमा रहेको मानिन्छ । यसमा विशेषतः महिलाहरूको सहभागिता रहन्छ । यो पर्व  माटोका विभिन्न मूर्तिहरू बनाउने, सुकाउने, रंगाउने प्रक्रियाबाट सुरु हुन्छ । 

कार्तिक शुल्क सप्तमीबाट सुरु भई पूर्णिमाको रात यस पर्वको समापन हुन्छ । यसमा सामा, चकेवा, सतभैया (सप्तऋषि), वृन्दावन लगायत रंगीविरंगी आकर्षक मूर्तिहरूसँगै कुरा लगाउने (फटाहा चुगला)को मूर्ति खलनायकका रूपमा बनाइएको हुन्छ । यस पर्व मनाउन छोरीचेलीहरू माइत आउने चलन छ । 

राति खाना खाइवरी नजिकको अगेना, बारीमा महिलाहरू समूह बनाएर सामाचकेवा खेल्ने गरिन्छ । सामाचकेवा खेलमा दाजुभाइको लामो आयु, राम्रो स्वास्थ्य, धनधान्यमा वृद्धिका लागि मंगल कामनायुक्त विभिन्न लोकगीत गाउनुको विशिष्ट महत्त्व रहेको छ । 

अयलै कातिक मास माइ हे, 
सामा लेल अवतार । 
कानी कानी चिठीया लिखौलनि फलीं बहिनि,
भेजलनी हजमा केर हाथ । 
चिठिया दिहै रे भैया, 
फल्लाँ–भैया केर हाथ ।
 

यस गीतमा बहिनीको भावुक हृदय, दाजुभाइप्रतिको अटूट विश्वास र सामाको आगमनको पूर्वसन्ध्यामा महसुस भएको खुसी अभिव्यक्त छ । 

सामा चकेवा अइह हे
कुर खेत मे वैसियह हे
सभ रंग पटिया ओछैह हे

यस गीतमा सामाचकेवालाई भनिएको छ— आऊ, जोतेको खेतमा रंगी–विरंगी चटाई ओछ्याई बस । 
जेहेन नदिया सेमार, तेहेन भैया असवार
जेहेन केरक थम्भ, तेहेन भइयाक जाँघ
जेहेन दोवियाक पात, तेहेन भैयाक पिठ
जेहेन रेशमक रेश, तेहेन भैयाक केश

यस गीतमा दिदीबहिनीले दाजुभाइप्रति प्रार्थना गरेका छन्— लुगा धुने घाटजस्तै दाजुभाइको पिठ्यु होस्, रेशमको जस्तै कपाल होस् आदि भनेर । 
पर्वको अन्तिम दिन, कार्तिक पूर्णिमाको रातमा दाजुभाइले सबै मूर्तिलाई घुँडामा राखी फोड्छन् र दही–च्युरा खुवाई अर्काे वर्ष पुनः आउने निम्तोसहित बिदा गरिन्छ । 
(लेखक जानकी मेडिकल कलेजका प्राध्यापक हुन् ।)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. विरेन्द्र मुनिजी
डा. विरेन्द्र मुनिजी
लेखकबाट थप