पाकिस्तानी टोलीका नयाँ कप्तानले खेलको नियम नै नबुझेपछि...
काठमाडौँ । अस्ट्रेलिया भ्रमणमा रहेको पाकिस्तानी क्रिकेट टोलीले अहिले घरेलु टोलीविरुद्ध तीन खेलको टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्दैछ । शृंखलाको पहिलो खेल बिहीबार राति खेलिएको थियो । तर, वर्षाका कारण त्यो खेल पुरै ओभर खेलाउन सम्भव भएन ।
त्यसैले सात–सात ओभरको खेल खेलाइएको छ । खेलमा घरेलु टोली अस्ट्रेलियाले पाकिस्तानलाई २९ रनले हरायो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले निर्धारित सात ओभरमा चार विकेट गुमाएर ९३ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको पाकिस्तानी टोलीले भने निर्धारित ओभरमा नौ विकेट गुमाएर ६४ रनमात्र बनाउन सक्यो । त्यो खेलमा पाकिस्तानी टोलीका नयाँ कप्तान मोहम्मद रिजवानले एउटा गम्भीर गल्ति गरेका कारण विवादसमेत उत्पन्न भएको थियो ।
खासमा वर्षाका कारण खेल सात–सात ओभरमा झारिएपछि नियममा पनि केही परिवर्तन भएको थियो । परिवर्तित नियम अनुसार, दुईजना बलरलाई मात्र दुई–दुई ओभर बलिङ गर्ने अनुमति दिइएको थियो । बाँकी तीन बलरले भने एक–एक ओभर बलिङ गर्नु पर्ने थियो ।
यसमा अर्को विकल्प पनि दिइएको थियो । दोस्रो विकल्प अनुसार, एकजना बलरले तीन ओभर बलिङ गर्न पाउँथे । यस्तो स्थितिमा बाँकी बलरहरुले भने एक–एक ओभरमात्र बलिङ गर्न पाउँथे । तर, पाकिस्तानी टोलीका कप्तान मोहम्मद रिजवानले नियम बुझेनन् ।
त्यसैले उनले आफ्ना तीनजना बलर साहिन शाह अफरिदी, नसिम शाह र ह्यारिस रउफलाई दुई–दुई ओभर बलिङ गर्न लगाए । यो नियम विपरितको कार्य थियो । सोही विषयलाई लिएर अस्ट्रेलियन खेलाडी र पदाधिकारीले आपत्ति जनाएका थिए ।
विवादका कारण खेल केही समय प्रभावित भएको थियो । त्यसपछि कप्तान मोहम्मद रिजवानले आफूबाट गल्ति भएको स्वीकार गरेका थिए । त्यसपछि खेल फेरि अघि बढेको थियो । खेलमा अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले ४३ रन बनाए ।
अनुभवी खेलाडी म्याक्सवेलले आक्रामक ब्याटिङ गर्दै केवल १९ बलमा तीन छक्का र पाँच चौका पनि हिर्काए । उनले टी–२० मा आफ्नो १० हजार रन पनि पुरा गरे । उनी म्यान अफ दि म्याच पनि बने । मार्कस स्टोइनिसले अविजित २१ रन बनाए । उनले सात बलमा एक छक्का र दुई चौका हिर्काए ।
पाकिस्तानी बलर अब्बास अफरिदीले दुई विकेट लिए । नसिम शाह र ह्यारिस रउफले पनि एक–एक विकेट हात पारे । पाकिस्तानी ब्याट्सम्यानको प्रदर्शन भने निराशाजनक रह्यो । माथिल्ला ६ ब्याट्सम्यानले त दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।
अब्बास अफरिदीले अविजित २० रन बनाए । हसिबुल्लाह खानले १२ र साहिन शाह अफरिदीले ११ रन जोडे । पाकिस्तानका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । इङ्ल्यान्डका बलर जेभियर बार्टलेट र नाथन एलिसले तीन–तीन विकेट लिए । एडम जाम्पाले दुई र स्पेन्सर जोन्सनले एक विकेट हात पारे ।