शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

आजदेखि ऐतिहासिक नमोबुद्ध जात्रा

बिहीबार, २९ कात्तिक २०८१, २२ : १५
बिहीबार, २९ कात्तिक २०८१

काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिका–११ स्थित ऐतिहासिक त्था पर्यटकीयस्थल नमोबुद्धमा आज साँझदेखि जात्रा सुरु भएको छ । जात्राअन्तर्गत आज साँझदेखि बौद्ध धर्मावलम्बीले नमोबुद्धमा पितृको सम्झानामा ‘दीप प्रज्वलन’ गर्दछन् । 

कात्तिक शुक्ल पूर्णिमा तिथि अर्थात् शुक्रबार दिनभरि बत्ती बाल्ने गरिन्छ । जात्राअन्तर्गत आज रातिदेखि शनिबार बिहानसम्म मेला लाग्ने गर्दछ भने मेला अवधिभर परम्परागत गीत तथा नृत्य प्रस्तुत गर्नेहरूको घुइँचो लाग्ने गरेको नमोबुद्ध गुठीका अध्यक्ष लोप्साङ बज्र लामाले जानकारी दिए । उनका अनुसार मेला अवधिभर ‘पितृ’को सम्झानामा बत्ती बालिरहने गरिन्छ । 

“बत्ती बाल्नाले पितृलाई वर्षभरि उज्यालो हुने मान्यताअनुसार यहाँ बर्सेनि पितृलाई बत्ती बाल्ने परम्परा छ”, लामाले भने । उनका अनुसार पितृमोक्ष तथा आत्मा शान्तिका लागि बत्ती बाल्ने गरिएको हो । 

पूर्णिमाको दिन भने शान्तिका प्रतीक गौतमबुद्धको पूर्वजन्ममा ‘राजकुमार’ले देहत्याग गरी बघिनीलाई जीवन प्रदान गरेको दिनका रूपमा मानिन्छ । उक्त दिन दर्शनार्थीको घुइँचो अन्य दिनभन्दा बढी हुने अध्यक्ष लामाले उल्लेख गरे । 

“किंवदन्तीअनुसार बुद्धले लुम्बिनीमा पुनर्जन्म प्राप्त गरेपछिको जीवन त्याग गरेको भूमि, ‘नमोबुद्धाय नमः’बाट नमोबुद्ध नामकरण भएको थियो । द्वापरयुगका उनै राजकुमारको अस्थिपञ्जर गाडेर बनाइएको चैत्य, जीवन त्याग गरेको स्थानमा पूजाअर्चना र दीप प्रज्ज्वलन गर्न बर्सेनि बौद्ध धर्मालम्बीको घुइँचो लाग्ने गर्दछ”, उनले भने । मेलामा बर्सेनि करिब एक लाखले नमोबुद्धको दर्शन–पूजाअर्चना गर्ने मन्दिर व्यवस्थापन समितिले जनाएको छ । 

विशेषगरी तामाङ र नेवार समुदायका धर्मावम्बीहरूले मेला भर्ने गरेको नमोबुद्धका मूल लामा गुरु कान्छा लामाले बताए । उनका अनुसार तत्कालीन पञ्चलादेश (पनौती राज्य) का राजा महारथ र रानी सत्यवतीका तीन छोरा पूर्वतर्फको गन्धमान पर्वत (जङ्गल) मा सिकार खेल्ने क्रममा कान्छा राजकुमारले भोकले छटपटिएको सुत्केरी बघिनीलाई आफ्नो रगत र शरीरको मासु काट्दै खुवाएर आफूले देहत्याग गरी जीवन प्रदान गरेका थिए ।

सोही विश्वासका आधारमा प्रत्येक कात्तिक शुक्ल पूर्णिमाका अवसरमा ठूलो मेला लाग्ने गरेको लामागुरु लामाले बताए । “पाँच डमरु जन्माएका बघिनी लक्ष्मी र पाँच डमरु भिक्षु मानिएको हो”, उनले भने ।

उनका अनुसार राजकुमारले बघिनीलाई बचाएर आफूले देहत्याग गरेपछि राजारानी सोही नजिकै बाँकी जीवन चैत्यसेवामा बिताएका थिए । “तत्पश्चात् राजारानी शङ्खेश्वरी अजि–अजिमाको नामले चिनिँदै आउनुभएको हो”, लामागुरुले भने । 

विसं ९७४ मा गन्धमान पर्वतको टुप्पोमा अस्थिपञ्जर जम्मा गरी स्तुपा (चैत्य) बनाएको अभिलेख पाइन्छ । उक्त पर्वत आठ हजार फिटको उचाइमा रहेको छ । उक्त पर्वतमा राजकुमारले बघिनीलाई आफैँले शरीरको मासु काटेर खुवाइरहेको दृष्य कुँदिएको मूर्ति छ । 

स्थानीय राकेश लामाका अनुसार जात्रा–मेलाबाहेक पनि नमोबुद्धमा सधैँजसो स्वदेशलगायत विदेशका बौद्धमार्गीको चहलपहल हुने गर्दछ । मेलामा यस वर्ष छिमेकी जिल्ला सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, भक्तपुर, ललितपुर, काठमाडौँ, धादिङ, नुवाकोटलगायतबाट सहभागिता रहने अनुमान गरिएको छ । हाल उक्त स्थानमा विशाल गुम्बा, मन्दिर, गुम्बा र चैत्य छन् । गुम्बामा बुद्ध पाठशालासमेत सञ्चालन हुँदै आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप