अब्बल प्रदर्शनपछि उत्साही नेपाली यू–१९ महिला टोलीको अबको यात्रा
काठमाडौँ । नेपाली टोली आईसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ । नेपालले अब सन् २०२५ को जनवरीमा मलेसियामा आयोजना हुने यू–१९ महिला विश्वकप खेल्नेछ ।
नेपाली टोली छनोट प्रतियोगितामार्फत एसिया महादेशको प्रतिनिधित्व गर्दै विश्वकपमा पुगेको हो । छनोट प्रतियोगितामा अप्ठ्यारो परिस्थितिबिच आफू अनुकूलको नतिजा निकाल्दै नेपाली टोली यू–१९ महिला विश्वकपमा स्थान बनाउन सफल भएको हो ।
बुधबार खेलिएको निर्णायक खेलमा नेपालले आयोजक राष्ट्र संयुक्त अरब इमिरेट्स (यूएई) लाई आठ विकेटले हराउँदै विश्वकपमा स्थान पक्का गरेको हो । टस जिती पहिलो ब्याटिङको निर्णय लिएको यूएईले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ८३ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको नेपाली टोलीले भने १४.४ ओभरमै केवल दुई विकेट गुमाए ८६ रन बनाउँदै विजय लक्ष्य पार गर्यो । नेपाल र यूएई दुवैको समान १०–१० अङ्क भए पनि नेट रन रेटमा थोरै रन अन्तरले नेपाल अगाडि रह्यो ।
अन्तिम अङ्क तालिकामा नेपालको नेट रन रेट ३.९३५ र यूएईको नेट रन रेट ३.७४० रह्यो । जबकि, अन्तिम खेलअघि यूएईको नेट रन रेट ४.७९१ र नेपालको नेट रन रेट ४.३३० रहेको थियो । त्यसैले बुधबारको खेलमा नेपाली टोली निकै दबाबमा थियो ।
बुधबारको खेलमा नेपालले पहिले ब्याटिङ गरेमा कम्तीमा एक सय ४० रन बनाउनु पर्ने हुन्थ्यो । त्यसपछि यूएईलाई कम्तीमा २१ रनको अन्तरले हराउनु पर्ने अवस्था थियो । यदि, नेपालले पहिले बलिङ गरेमा यूएईलाई एक सय ४० रनभित्रै रोक्ने प्रयास गर्नु पर्ने थियो । त्यसपछि नेपालले १६.१ ओभरमै विजय लक्ष्य पुरा गर्नु पर्ने अवस्था थियो ।
यदि, बुधबारको खेलमा यूएईसँग पराजित भएको भए वा खेल अनिर्णीत रूपमा सकिएको भए नेपाललाई पछि पार्दै यूएई नै विश्वकपमा छनोट हुने थियो । तर, छनोट चरणको अन्तिम खेलमा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शनसहित पहिलो पटक यू–१९ महिला विश्वकप खेल्ने अवसर सृजना गरे ।
पहिले ब्याटिङको निम्तो पाएको नेपालका लागि बलरहरूले निखारिएको प्रदर्शन गरे । यूएईलाई एक सय रनभन्दा कम योगफलमा समेट्ने क्रममा नेपाली टोलीकी बलर कृष्मा गुरुङ एक्लैले चार विकेट लिइन् । उनले चार ओभरमा केवल १७ रन खर्चिइन् । उनले फालेको १३ बलमा यूएईका ब्याटरले रन बनाउन सकेनन् ।
यसैगरी, रिया शर्माले पनि दुई विकेट हात पारिन् । उनले चार ओभरमा एक मेडन राख्दै केवल १२ रन खर्चिएकी थिइन् । उनले फालेको १६ बलमा यूएईका ब्याटरले रन बनाउन सकेनन् । सिमाना केसीले पनि दुई विकेट लिइन् । उनले चार ओभरमा केवल १८ रन खर्चिइन् । उनले फालेको १२ बलमा यूएईका ब्याटरले रन बनाउन सकेनन् ।
यसैगरी, रचनाकुमारी चौधरी पनि एक विकेट लिइन् । यूएईका लागि समाइरा धर्निधरकाले सर्वाधिक ३१ रन बनाइन् । रिनिथा रजिथले पनि टोलीको खातामा २० रन थपिन् । यूएईका अन्य ब्याटरले गतिलो प्रदर्शन गर्न सकेनन् ।
जवाफी ब्याटिङमा ओर्लिएको नेपालका लागि ब्याटरहरुले पनि गतिलो प्रदर्शन गरे । ओपनर साना प्रवीणले अविजित ३५ रनको योगदान गरिन् । उनले ४२ बलको सामना गरी एक चौका पनि प्रहार गरिन् ।
यसैगरी, कप्तान पूजा महतोले पनि टोलीका लागि २१ रनको योगदान गरिन् । उनले १८ बलमा चार चौका प्रहार गरिन् । अर्की ओपनर सावित्री धामीले पनि १२ रन बनाइन् । उनले नौ बलमा एक चौका हिर्काएकी थिइन् । सोनी पाख्रिनले पनि टोलीका लागि १९ बलमा अविजित १३ रनको योगदान गरिन् । नेपाली टोलीले अतिरिक्त रूपमा पायो रन पायो ।
- विश्वकप छनोट यात्राका सारथिहरू
एसियाली क्षेत्रको छनोट प्रतियोगितामा नेपाल र यूएईका अतिरिक्त थाइल्यान्ड र कुवेत पनि सहभागी थिए । तर, अन्तिम खेलअघि नै यी दुवै राष्ट्रको अगाडि बढ्ने सम्भावना समाप्त भइसकेको थियो । चार अङ्कसहित थाइल्यान्ड तेस्रो र ६ वटै खेलमा पराजित भएको कुवेत अन्तिम स्थानमा रहे ।
छनोट प्रतियोगितामा ६ खेल खेलेको नेपालले एक खेलमात्र हार बेहोर्यो । त्यो हार पनि यूएईसँगै भोगेको थियो । नेपालले आफ्नो पहिलो खेलमा थाइल्यान्डलाई ६७ रनले हराएको थियो । नेपाली टोलीले आफ्नो दोस्रो खेलमा कुवेतलाई एक सय आठ रनले हराएको थियो ।
यसैगरी, आफ्नो तेस्रो खेलमा भने नेपाली टोली आयोजक यूएईसँग १३ रनले पराजित भएको थियो । नेपालले चौथो खेलमा थाइल्यान्डलाई एक सय ६ रनले र पाँचौँ खेलमा कुवेतलाई एक सय ६५ रनले हराएको थियो । अन्तिम खेलमा नेपालले यूएईलाई आठ विकेटले पराजयको स्वाद चखायो ।
नेपाललाई पहिलो पटक आईसीसी यू–१९ महिला टी–२० विश्वकपमा छनोट गराउने टोलीकी कप्तान पूजा महतो हुन् । उपकप्तानको भूमिकामा भने सोनी पाख्रिन रहेकी थिइन् । विकेटकिपरको भूमिकामा एलिसा यादव थिइन् ।
यसैगरी, टोलीका अन्य सदस्यमा साना प्रवीण, ज्योत्सनिका मरासिनी, कुशुम गोदार, सावित्री धामी, कृष्मा गुरुङ, मनिषा उपाध्याय, रिया शर्मा, सिमाना केसी, स्नेहा महरा, रचनाकुमारी चौधरी र तृषना विक रहेका थिए ।
छनोट प्रतियोगितामा कप्तान पूजाले ऐतिहासिक प्रदर्शन पनि गरिन् । उनले मंगलबार खेलिएको कुवेतविरुद्धको खेलमा शतक बनाएकी थिइन् । यो प्रतियोगितामा शतक प्रहार गर्ने उनी पहिलो खेलाडी पनि बन्न पुगिन् ।
१८ वर्षीया पूजाले अविजित एक सय ३० रन बनाएकी थिइन् । उनले केवल ६९ बलको सामना गरी १७ चौका पनि हिर्काएकी थिइन् । त्यो खेलमा उनको स्ट्राइक रेट १८८.४१ रहेको थियो । त्यसअघि उनले केवल ५७ बलमा १२ चौकाको मद्दतले आफ्नो शतक पुरा गरेकी थिइन् ।
अन्तर्राष्ट्रिय क्रिकेटमा पूजाले बनाएको यो पहिलो शतक हो । त्यो खेलमा पूजा एक्लैले पाँच विकेट पनि लिएकी थिइन् । उनले चार ओभरमा एक मेडन राख्दै केवल आठ रन खर्चिएकी थिइन् । पूजाले एकै ओभरमा चार विकेट हात पारेकी थिइन् ।
पूजाले आफ्नो तेस्रो ओभरमा चार विकेट लिएकी थिइन् । उनले त्यो ओभरको पहिलो, दोस्रो, चौथो र पाँचौँ बलमा विकेट लिएकी थिइन् । उनी प्लेयर अफ दि म्याच पनि घोषित भएकी थिइन् । त्यो खेलमा नेपाल एक सय ६५ रनको विशाल अन्तरले विजयी भएको थियो । त्यो खेलले नेपालको नेट रन रेट गतिलो बनाउन पनि योगदान गरेको थियो । पूजाले यूएईविरुद्धको खेलमा पनि ४३ बलमा ४८ रन बनाएकी थिइन् ।
यसैगरी, थाइल्यान्डविरुद्धको खेलमा नेपाली ब्याट्र साना प्रवीणले पनि अर्धशतक प्रहार गरेकी थिइन् । त्यो खेलमा उनले ४६ बलमा ५३ रन बनाएकी थिइन् । त्यो खेलमा पनि नेपाल एक सय ६ रनको फराकिलो अन्तरले विजयी भएको थियो । समग्रमा प्रतियोगिता अवधिभर नेपाली टोलीका ब्याटर र बलरले गतिलो सामूहिक खेल भावना देखाउँदै उत्कृष्ट प्रदर्शन गरेका थिए ।
- मलेसियामा बलिया प्रतिद्वन्द्वीसँग भिडन्त गर्ने अवसर
आईसीसी यू–१९ महिला टी–२० विश्वकपको यो दोस्रो संस्करण हो । दोस्रो संस्करण सन् २०२५ को जनवरी १८ देखि फेब्रुअरी २ तारिखसम्म मलेसियामा आयोजना हुँदैछ । नेपालले पहिलो पटक यू–१९ महिला विश्वकप खेल्न लागेको हो ।
यो प्रतियोगितामा नेपालले आफूभन्दा निकै बलिया प्रतिद्वन्द्वीहरूसँग खेल्नु पर्नेछ । प्रतियोगिताको दोस्रो संस्करणमा १६ वटा टोलीको सहभागिता रहने छ । प्रतियोगितामा सहभागी हुने १६ वटै टोलीको टुंगो लागिसकेको छ ।
मलेसियाले आयोजक राष्ट्रका रूपमा प्रतियोगितामा सहभागिता जनाउने छ । अस्ट्रेलिया, बंगलादेश, इङ्ल्यान्ड, भारत, आयरल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका र वेस्ट इन्डिज गरी १० राष्ट्रले भने अघिल्लो संस्करणको प्रदर्शनका आधारमा स्वतः प्रतियोगितामा प्रवेश पाएका हुन् ।
पाँचवटा राष्ट्र भने विभिन्न महादेशबाट छनोट चरण पार गर्दै विश्वकपमा पुगेका हुन् । नेपाल एसियाबाट, नाइजेरिया अफ्रिकाबाट, अमेरिका अमेरिकी महादेशबाट, सामोआ पूर्वी एसिया प्यासिफिक क्षेत्रबाट र स्कटल्यान्ड युरोपबाट यू–१९ महिला विश्वकपमा छनोट भएका हुन् ।
- यस्तो छ प्रतियोगिताको ढाँचा
प्रारम्भिक चरणमा प्रतियोगितामा सहभागी १६ वटा टोलीलाई चारवटा समूहमा विभाजन गरिने छ । प्रतियोगिताको समूह ‘ए’ मा भारत, आयोजक मलेसिया, श्रीलंका र वेस्ट इन्डिज रहेका छन् । समूह ‘बी’ मा इङ्ल्यान्ड, आयरल्यान्ड, पाकिस्तान र अमेरिका रहेका छन् ।
यसैगरी, प्रतियोगिताको समूह ‘सी’ मा न्युजिल्यान्ड, नाइजेरिया, सामोआ र दक्षिण अफ्रिका रहेका छन् । नेपाल भने प्रतियोगिताको समूह ‘डी’ मा परेको छ । उक्त समूहमा नेपालका अतिरिक्त अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड परेका छन् ।
प्रतियोगिताको पहिलो चरणमा प्रत्येक समूहमा रहेका चारवटा टोलीले एक–अर्कासँग एक–एक खेल खेल्नेछन् । प्रारम्भिक चरणको खेलपछि प्रत्येक समूहबाट तीन–तीनवटा टोली प्रतियोगिताको ‘सुपर सिक्स’ चरणमा प्रवेश गर्नेछन् ।
‘सुपर सिक्स’ चरणमा पुगेका १२ टोलीलाई पनि दुई समूहमा विभाजन गरिने छ । ‘सुपर सिक्स’ चरणको पहिलो समूहमा प्रारम्भिक चरणको समूह ‘ए’ र समूह ‘डी’ बाट आएका तीन–तीन टोलीको सहभागिता रहने छ ।
यसैगरी, ‘सुपर सिक्स’ चरणको दोस्रो समूहमा प्रारम्भिक चरणको समूह ‘बी’ र समूह ‘सी’ बाट आएका तीन–तीन टोलीको सहभागिता रहने छ । ‘सुपर सिक्स’ चरणको खेलमा प्रारम्भिक चरणबाट पहिलो भएर आएको टोलीले अर्को समूहबाट पहिलो भएर आएको टोलीसँग भने प्रतिस्पर्धा गर्नेछैन ।
यसैगरी, प्रारम्भिक चरणमा दोस्रो भएर आएको टोलीले ‘सुपर सिक्स’ चरणमा अर्को समूहबाट दोस्रो भएर आएको टोलीसँग प्रतिस्पर्धा गर्नेछैन । प्रारम्भिक चरणमा तेस्रो भएर आएको टोलीले पनि ‘सुपर सिक्स’ चरणमा अर्को समूहबाट तेस्रो भएर आएको टोलीसँग भिडन्त गर्नेछैन ।
यसका आधारमा ‘सुपर सिक्स’ चरणमा प्रत्येक टोलीले दुई–दुई खेलमात्र खेल्नेछन् । उदाहरणको लागि समूह ‘ए’ बाट पहिलो भएर आएको टोलीले ‘सुपर सिक्स’ चरणमा समूह ‘डी’ बाट दोस्रो र तेस्रो भएर आएका टोलीसँग मात्र भिडन्त गर्नेछ ।
‘सुपर सिक्स’ चरणको खेलपछि दुवै समूहबाट तालिकाको पहिलो र दोस्रो स्थानमा रहने टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनलमा ‘सुपर सिक्स’ चरणको एउटा समूहबाट पहिलो भएर आएको टोलीले अर्को समूहबाट दोस्रो भएर आएको टोलीसँग भिडन्त गर्नेछ ।
त्यसपछि सेमिफाइनलमा सफलता हात पार्ने दुई टोली प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल फेब्रुअरी २ तारिखमा खेलिने छ । त्यसअघि प्रारम्भिक चरणबाटै बाहिरिएका चार टोलीबिच १३औँ देखि १६औँ स्थानसम्मको वरीयता निर्धारणका लागि पनि दुई खेल खेलाइने छ ।
- भारत साबिक विजेता
यू–१९ महिला टी–२० विश्वकपको पहिलो संस्करण दक्षिण अफ्रिकामा आयोजना भएको थियो । प्रतियोगिताको पहिलो संस्करणमा पनि १६ वटा राष्ट्रले नै सहभागिता जनाएका थिए । पहिलो संस्करण पनि अहिलेकै ढाँचामा खेलाइएको थियो ।
त्यतिबेला दक्षिण अफ्रिकाले आयोजकका रूपमा प्रतियोगितामा सहभागिता जनाएको थियो । अस्ट्रेलिया, बंगलादेश, इङ्ल्यान्ड, भारत, आयरल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तान, श्रीलंका, अमेरिका, वेस्ट इन्डिज र जिम्बाबेले भने वरीयताका आधारमा स्वतः प्रतियोगितामा प्रवेश पाएका थिए ।
इन्डोनेसिया, रुवान्डा, स्कटल्यान्ड र संयुक्त अरब इमिरेट्स (यूएई) ले भने विभिन्न महादेशबाट छनोट चरण पार गर्दै यू–१९ महिला टी–२० विश्वकपको पहिलो संस्करण खेलेका थिए । समूह ‘ए’ बाट बंगलादेश, अस्ट्रेलिया र श्रीलंका क्रमशः पहिलोदेखि तेस्रो हुँदै ‘सुपर सिक्स’ चरणमा पुगेका थिए ।
यसैगरी, समूह ‘बी’ बाट इङ्ल्यान्ड, पाकिस्तान र रुवान्डा, समूह ‘सी’ बाट न्युजिल्यान्ड, वेस्ट इन्डिज र आयरल्यान्ड तथा समूह ‘डी’ बाट भारत, दक्षिण अफ्रिका र यूएई क्रमशः पहिलोदेखि तेस्रो हुँदै ‘सुपर सिक्स’ चरणमा प्रवेश गरेका थिए ।
‘सुपर सिक्स’ चरणको पहिलो समूहबाट भारत पहिलो र अस्ट्रेलिया दोस्रो हुँदै सेमिफाइनलमा प्रवेश गरेका थिए । ‘सुपर सिक्स’ चरणको दोस्रो समूहबाट भने इङ्ल्यान्ड पहिलो र न्युजिल्यान्ड दोस्रो हुँदै सेमिफाइनलमा पुगेका थिए ।
प्रतियोगिताको सेमिफाइनलमा भारतले न्युजिल्यान्डलाई आठ विकेटले र इङ्ल्यान्डले अस्ट्रेलियालाई तीन रनले हराउँदै फाइनलमा स्थान पक्का गरेका थिए । प्रतियोगिताको फाइनलमा भने भारतले इङ्ल्यान्डलाई सात विकेटले हराउँदै उपाधि चुमेको थियो ।
प्रतियोगिताको पहिलो संस्करणमा भारतकी ब्याटर स्वेता सेरावतले सर्वाधिक दुई सय ९७ रन बनाएकी थिइन् । यो सूचिमा दोस्रो स्थानमा रहेकी इङ्ल्यान्डकी ग्रेस सेरिभेन्सले दुई सय ९३ रन जोडेकी थिइन् । अस्ट्रेलियाकी म्यागी क्लर्कले सर्वाधिक १२ विकेट लिएकी थिइन् । यो सूचिमा दोस्रो स्थानमा रहेकी भारतकी प्रसवी चोपडाले ११ विकेट हात पारेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्की अदालतमा बहस : ‘थाहा छैन’ संगठित अपराधको ‘कोड ल्याङ्वेज’ त होइन ?
-
१० बजे १० समाचार : सीके र रेशम मिल्दै, वामदेवलाई मागेको पद दिन अनकनाए माधव
-
सुदूरपश्चिममा पाँच हजार किलोमिटर सडक निर्माण गर्न गुरुयोजना तयार
-
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
-
१२ अर्ब बजेटको समीक्षामा खर्बौंका आयोजनामाथि बहस
-
लक्ष्मी स्टील्समा क्रेनले च्यापिएर एक मजदुरको मृत्यु