शुक्रबार, ३० कात्तिक २०८१
ताजा लोकप्रिय
सन्दर्भ : विद्यापति स्मृति दिवस

विद्यापति : जसलाई भगवान् शिवले सेवक बनेर दर्शन दिएका थिए

बिहीबार, २९ कात्तिक २०८१, १६ : ५९
बिहीबार, २९ कात्तिक २०८१

विद्यापति मैथिलीका आदिकवि तथा सर्वाधिक ज्ञाता कवि हुन् । विद्यापतिले मैथिलीका अतिरिक्त संस्कृत तथा अवहट्टमा पनि रचना गरे । यी ती दुई प्रमुख भाषा हुन्, जसबाट मैथिलीको विकास भयो । विद्यापतिले बंगाली र उडिया भाषामा पनि रचना गरेका छन् ।

विद्यापतिको अवसान भएको कार्तिक धवल (शुक्ल) त्रयोदशीको दिनलाई विद्यापति स्मृति दिवसको रूपमा मनाइने गरिन्छ । विद्यापतिको जन्म र अवसान भएको वर्षको विषयमा अनेक मत प्रकट गरिएका छन् ।

कतिपय आलेखमा जन्म सन् १३५२ मा र अवसान सन् १४४८ मा भएको उल्लेख छ । तर शोधको आधारमा भनिएको एक लेखमा जन्म सन् १३८० मा भएको उल्लेख पाइन्छ । उनको अवसानको मास, पक्ष र तिथिको विषयमा भने उनकै एक पदावली प्रसिद्ध छ— ‘विद्यापतिक आयु अवसान । कार्तिक धवल त्रयोदशी जान ।’ 

यसैका आधारमा सम्पूर्ण मिथिलाञ्चलमा कार्तिक मासको शुक्ल पक्षको त्रयोदशी तिथिमा उनको स्मृति दिवस मनाउँदै आइएको छ ।

  • कवि कोकिल

विद्यापतिको नाम संस्कृत भाषाबाट व्युत्पन्न भएको छ । ‘विद्या’को अर्थ ज्ञान र ‘पति’को अर्थ ‘स्वामी’ हुन्छ, जसको पूर्ण अर्थ ज्ञानी अर्थात् प्रज्ञावान् भन्ने बुझिन्छ । विद्यापति निश्चय पनि अत्यन्तै मेधावी थिए । मिथिलाका राजदरबारमा विद्यापति राज पण्डितको पदमा नियुक्त थिए ।

१५औँ शताब्दीका कवि विद्यापतिलाई मैथिली साहित्यमा सबैभन्दा उच्च पद प्राप्त छ । विद्यापतिपछिको समयमा गोविन्द दास, चन्दा झा, मनबोध, पण्डित सीताराम झा, जीवनाथ झा (जीवन झा) आदि प्रमुख साहित्यकारले मैथिली साहित्यलाई समृद्ध बनाउन योगदान गरे ।

विद्यापति मैथिली भाषाका प्रसिद्ध कवि हुन् । उनलाई ‘कवि कोकिल’को उपाधि प्राप्त छ । उनलाई साहित्यिक योगदानका लागि महाकवि कोकिलको उपाधि प्रदान गरिएको हो । 

संस्कृतको शब्द ‘कोकिल’को अर्थ कोइली चरा हुन्छ । कालो रंगको यो चरा वसन्त ऋतुको आरम्भदेखि वर्षाको अन्त्यसम्म देखिन्छन् । संसारको प्रायः हरेक भूभागमा पाइने यो चराको नाम पनि प्रायः सबै भाषामा स्वरको अनुकरणमा रहेको छ । 

खासगरी आँप फल्ने समयमा कोइलीले अति मधुर र प्रिय स्वर गुञ्जन गरिरहन्छ । कवि विद्यापतिले आफ्ना रचनालाई कोइलीले झैँ सुमधुर स्वरमा गाउने भएकाले उनलाई कवि कोकिल भनेर सम्मान गरिएको हो । 
कोकिलको स्त्रीलिंग ‘कोकिला’ हुन्छ । भोजपुरी लोकगीत गायिका शारदा सिन्हालाई बिहार स्वर कोकिलाको उपाधि दिइएको छ । ७२ वर्षको उमेरमा सिन्हाको देहावसान यही कार्तिक धवल चतुर्थी (२०८१ कार्तिक २०) को दिन भएको छ ।

उगना विद्यापतिको दृष्टिबाट एकैछिन ओझेल भएर कपालगंगाबाट जल लिएर आइपुगे । उगनाले यति छिटो पानी कसरी ल्याए ? कुनै विशिष्ट पुरुषको लीला ठानेर विद्यापतिले उगनालाई वास्तविक स्वरूपमा प्रकट हुन प्रार्थना गरे । विद्यापतिको आग्रहलाई स्विकार्दै भगवान् शिवले उनलाई दर्शन दिएर बिदा भए ।

विद्यापतिलाई भारतीय साहित्यको ‘शृंगार–परम्परा’का साथै ‘भक्ति–परम्परा’का प्रमुख स्तम्भ मानिन्छ । उनका कवितामा सौन्दर्य र प्रेमको सुन्दर चित्रण छ । यिनी मैथिलीको सर्वोपरि कविका रूप जानिन्छन् । यिनको काव्यमा मध्यकालीन मैथिली भाषाको स्वरूपको दर्शन गर्न सकिन्छ । 

माता गंगादेवी र पिता गणपति ठाकुरका पुत्र विद्यापतिको पूरा नाम विद्यापति ठाकुर हो । उनका पिता गणपति ठाकुर राजा गणेश्वरका दरबारिया पण्डित थिए । विद्यापतिले महामहोपाध्याय पण्डित हरि मिश्रबाट शिक्षा लिएका थिए । विद्यापतिका दुई संरक्षक थिए— मिथिलाका राजा कीर्ति सिंह र महाराजा शिव सिंह । 

विद्यापतिको जन्मस्थल मिथिलाको बिस्फी गाउँ हो । यो गाउँ वर्तमानमा मधुवनी जिल्ला, विहार प्रान्त, भारतमा पर्छ । विजयेन्द्र कुमार माथुरद्वारा लिखित ‘ऐतिहासिक स्थानावली’ (प्रथम संस्करण ः १९६९) ग्रन्थको पृष्ठ ८६४ मा बिस्फी गाउँलाई मैथिली कवि विद्यापतिको जन्मस्थानका रूपमा उल्लेख गरिएको छ । यो ग्रन्थ इतिहास र भूगोलको दृष्टिले निकै महत्त्वपूर्ण छ, जसमा चार हजार प्राचीन एवं मध्ययुगीन स्थान नामको परिचय एवं विवेचना गरिएको छ । 

बिस्फी मधुबनीदेखि २१ किलोमिटर पश्चिम बागमती नदीको तटस्थित एक प्राचीन गाउँ हो । भनिन्छ, १४०० ई. तिर महाराज शिवसिंहले यो गाउँ विद्यापतिलाई दान दिएका थिए ।

विद्यापतिले सम्पूर्ण जीवन साहित्यलाई अर्पित गरे । मृत्युको अन्तिम क्षणसम्म पनि उनको काव्यधारा प्रवाहित भइरह्यो । भनिन्छ, आफ्नो जीवनको अन्तिमकाल आइपुगेको आभास भएपछि उनी गङ्गालाभका लागि प्रस्थान गरे । अलिवाजितपुर पुग्दा उनी अघि बढ्न नसक्ने भएर त्यहीँ माता गङ्गाको आह्वान गरे । उनको भक्तिपूर्ण वन्दनाबाट प्रशन्न भएर गंगाको धार उनी भएकै ठाउँमा आइपुग्यो । 

विद्यापतिको यो पदावली अमर छ—

बड सुखसार पाओल तुआ तीरे । 
छोडइत निकट नयन बह नीरे ।। 

  • सेवक उगना 

विद्यापति शिव, शक्ति र राधाकृष्णका उपासक थिए । उनका अधिकांश रचना राधाकृष्ण, महादेव, देवी र गङ्गाका स्तुतिहरूमा आधारित छन् । महादेवप्रति समर्पित रचना नचारीका नामले विख्यात छन् । 
उनी ज्योतिष र तन्त्रपद्धतिका पनि ज्ञाता थिए । उनका कतिपय स्तुतिमा तन्त्रको प्रयोग रहेको छ ।

विद्यापतिका अनेक रचनाले मिथिलाका लोक–व्यवहारलाई साहित्यिक प्रतिष्ठा प्रदान गर्‍यो । उनका व्यवहार गीतका अनुसरण प्रक्रिया निरन्तरत प्रवाहित हुँदै आएको छ । विद्यापति नारी हृदयका मर्मज्ञ थिए । नारीमा अन्तर्निहित भावलाई उनले साकार रूप दिएका छन् । 

भगवान् शिव विद्यापतिको भक्तिबाट अति प्रशन्न भएर उगना नामको सेवकको रूपमा अवतार लिए । शिव सेवाकार भएर जागिर खोज्दै विद्यापतिको घर पुगे । विद्यापतिसित सेवकलाई ज्याला दिने क्षमता थिएन, तर उगना दुई छाकको भोजनमा भए पनि सेवक भएरै बसे । 

उनको अवसानको मास, पक्ष र तिथिको विषयमा भने उनकै एक पदावली प्रसिद्ध छ— ‘विद्यापतिक आयु अवसान । कार्तिक धवल त्रयोदशी जान ।’

ग्रीष्म ऋतुमा एकपटक विद्यापति राजा शिव सिंहलाई भेट्न जाँदै थिए, बाटोमा उनलाई बेस्सरी तिर्खा लाग्यो । आसपासमा पानीको स्रोत नदेखिएपछि सेवकलाई पानी खोजेर ल्याउन अह्राए । उगना विद्यापतिको दृष्टिबाट एकैछिन ओझेल भएर कपालगंगाबाट जल लिएर आइपुगे । पानी पिएर विद्यापति स्थिर भएपछि उनलाई ख्याल आयो कि नजिकै पानीको कुनै स्रोत थिएन, उगनाले यति छिटो पानी कसरी ल्याए ? 
कुनै विशिष्ट पुरुषको लीला ठानेर विद्यापतिले उगनालाई वास्तविक स्वरूपमा प्रकट हुन प्रार्थना गरे । विद्यापतिको आग्रहलाई स्विकार्दै भगवान् शिवले उनलाई दर्शन दिएर बिदा भए ।

विद्यापति मैथिली साहित्यका महाकवि हुन् । आधुनिक मैथिली साहित्यको लेखन तथा विस्तारमा उनको ठुलो योगदान छ । मैथिली भाषा र साहित्यमा उनले गरेको योगदानको नेपाल र भारत दुवै देशले उच्च सम्मान गर्दै आ–आफ्नो देशको हुलाक टिकटमा उनको तस्बिर अङ्कित गरेका छन् । नेपाल सरकारले विद्यापति पुरस्कार कोष समेत स्थापना गरेको छ । विद्यापतिको जीवनी र रचनाहरू पाठ्यक्रममा समावेश गरिएका छन् । मुलुकभित्र र बाहिर विद्यापतिका सयौँ सालिक स्थापना भइसकेका छन् ।

नेपाली र नेपाल भाषा साहित्य तथा संस्कृतिमा पनि विद्यापतिको प्रभाव परेको छ । विद्यापति पदावलीका अनेकौँ पद नेपाली साहित्यमा प्रयोग भएको पाइन्छ । महाकवि विद्यापति आदिकाल (वीरगाथाकाल) र भक्तिकालका सन्धि कवि मानिन्छन् । उनी साहित्य, कर्मकाण्ड, धर्मशास्त्र, दर्शन, न्याय, सौन्दर्यशास्त्र, संगीतशास्त्र, इतिहास एवं भूगोलका प्रकाण्ड पण्डित थिए । मैथिली भाषामा रचिएका ‘पदावली’ उनको कीर्तिका आधार ग्रन्थ हुन् । ‘कीर्तिलता’ र ‘कीर्तिपत्ताका’ उनका प्रसिद्ध कृति हुन् ।

महाकवि विद्यापतिलाई बङ्गालीहरूले पनि आफ्नो कवि ठान्छन् । बंगालमा विद्यापतिका गीत यति लोकप्रिय भए कि कतिपय व्यक्तिले अन्य वैष्णव कविका पदहरूका साथ विद्यापतिका गीतहरूलाई पनि आफ्नो संग्रहमा आदरपूर्वक स्थान दिएका छन् । जतिबेलादेखि बंगालमा वैष्णव महाजन पदावलीको संकलन आरम्भ भयो, त्यतिबेलादेखि नै वैष्णव काव्यका आदि स्रष्टाको रूपमा विद्यापतिका पदहरू तिनमा आदरपूर्वक संग्रहित गर्न थालियो ।

(लेखक झा इतिहास, संस्कृति र समसामयिक विषयमा दक्खल राख्छन् ।)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अजयकुमार झा
अजयकुमार झा
लेखकबाट थप