बिहीबार, १८ पुस २०८१
ताजा लोकप्रिय

आईपीएल क्लब रोयल च्यालेन्जर्स बेंगलुरुले रिलिज गरेलगत्तै जसले बनाए तेहरो शतक

बिहीबार, २९ कात्तिक २०८१, १६ : २८
बिहीबार, २९ कात्तिक २०८१

काठमाडौँ । अघिल्लो सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) मा महिपाल लोमरोर रोयल च्यालेन्जर्स बेंगलुरुका खेलाडी थिए । तर, आगामी सिजनको आईपीएलको मेगा अक्सन (खेलाडी खरिद–बिक्री प्रक्रिया) अघि नै रोयल च्यालेन्जर्स बेंगलुरुले उनलाई रिलिज गरिसकेको छ ।

त्यसैले आईपीएलको आगामी संस्करणमा उनी अन्य जुनसुकै क्लबमा आबद्ध हुन पनि स्वतन्त्र छन् । तर, आईपीएलको मेगा अक्सनअघि महिपालले कमाल गरेका छन् । उनले भारतको चर्चित घरेलु प्रतियोगिता रणजी ट्रफी एलिटमा तेहरो शतक बनाएर धेरैको मन जितेका छन् ।

२५औँ वर्ष प्रवेशको सँघारमा रहेका महिपाल लोमरोरले उत्तराखण्डविरुद्धको खेलका क्रममा बिहीबार राजस्थानका लागि तेहरो शतक बनाएका हुन् । उनले तीन सय ६० बलको सामना गरी १३ छक्का र २५ चौकाको मद्दतले तेहरो शतक पुरा गरेका हुन् । उनी अझै अविजित छन् ।

आईपीएलको आगामी अक्सनमा अब रोयल च्यालेन्जर्स वेंगलुरुले उनलाई ठुलो रकममा फेरि क्लबमा भित्राउने सम्भावना छ । अघिल्लो सिजन बेंगलुरुले उनलाई ९५ लाख भारतय रुपैयाँमा अनुबन्ध गरेको थियो । यसपटक मेगा अक्सनमा अन्य क्लबले पनि उनीमाथि आँखा लगाउने पक्का छ ।

महिपालले रणजी ट्रफीमा यसअघि पनि शतब बनाएका थिए । राजस्थानका लागि कार्तिक शर्माले पनि एक सय १३ रनको योगदान गरे । रोयल च्यालेन्जर्स बेंगलुरुमा आबद्ध हुनुअघि उनले २० लाख भारतीय रुपैयाँ पारिश्रमिकमा राजस्थान रोयल्सबाट खेलेका थिए ।

यसैगरी, रणजी ट्रफीअन्तर्गत नै बिहीबार गोवा र अरुणाञ्चल प्रदेशबिचको खेलमा पनि एउटै टोलीका दुई खेलाडीले तेहरो शतक प्रहार गरे । अरुणाञ्चलविरुद्धको खेलमा गोवाका ब्याट्सम्यान स्नेहल कौथनकर र कस्यप बाक्लेले तेहरो शतक बनाएका हुन् ।

स्नेहलले अविजित तीन सय १४ रन बनाए । उनले दुई सय १५ बलको सामना गरी चार छक्का र ४५ चौका प्रहार गरे । कस्यपले पनि अविजित तीन सय रन बनाए । उनले दुई सय ६९ बलको सामना गरी दुई छक्का र ३९ चौका हिर्काए ।

यी दुई ब्याट्सम्यानको उत्कृष्ट प्रदर्शनमा गोवाले दुई विकेटको नोक्सानीमा सात सय २७ रन बनाउँदै पाली समाप्तिको घोषणा गरेको थियो । जवाफमा अरुणाञ्चल प्रदेश आफ्नो पहिलो पालीमा ८४ रन र दोस्रो पालीमा ९२ रनमा अलआउट भयो । त्यो खेलमा गोवा पाँच सय ५१ रनले विजयी भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप