श्रीलङ्काको मध्यावधि निर्वाचनमा पनि राष्ट्रपति दिसानायकेको विजयी लक्ष्य
कोलम्बो । श्रीलङ्काकाको संसदको मध्यावधि निर्वाचनका लागि बिहीबार मतदान भएको छ । मतदानका लागि बिहानै देखि मतदाता मतदानस्थलहरूमा लामबद्ध भई शान्तिपूर्ण रूपमा मतदान गरिरहेका छन् ।
राष्ट्रपति अनुरा कुमारा दिसानायकेको पार्टीले निर्वाचनबाट आर्थिक सुधारका लागि जनादेश प्राप्त गर्ने अपेक्षा गरिएको छ । दुई वर्षअघि तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षेलाई सत्ताच्युत गरिएपछि देशको आर्थिक मन्दीपछि सुधारका लागि अघि बढ्न ५५ वर्षीय दिसानायकेले विधायिकाको २२५ सिटमध्ये दुई तिहाइ सिट जित्ने आशा गरेका छन् ।
संसदीय निर्वाचनका लागि करिब एक करोड ७१ लाख मानिस मतदान गर्ने निर्वाचनमा आठ हजार ८०० उम्मेदवार प्रतिस्पर्धाका लागि छनोट भएका छन् र उनीहरूका अभियान शान्तिपूर्ण रहेको निर्वाचन अनुगमनकर्ताले बताएका छन् ।
प्रहरी प्रवक्ता निहाल थलडुवाले ८० हजार प्रहरी अधिकारी परिचालन गरिएको निर्वाचनको अनुगमनका लागि पहिलो पटक ड्रोनको प्रयोग गर्न लागिएको जानकारी दिए । मतदान स्थानीय समयअनुसार साँझको ४ः०० बजे सम्पन्न हुनेछ ।
भ्रष्टाचारविरुद्ध लड्ने र देशको चोरी भएको सम्पत्ति फिर्ता गर्ने वाचाका साथ गत सेप्टेम्बरमा भएको चुनावमा दिसानायके राष्ट्रपति निर्वाचित भएपछि पहिलोपटक सत्ताको नेतृत्व सम्हालेका थिए । कोलम्बोको वेलावाटे जिल्लामा पहिलो पटक मतदान गर्नेमध्येका एक ७० वर्षीय पेन्सनधारी मिल्टन गान्कान्डेगेले भने, “म नयाँ देश, जनताप्रति मैत्रीपूर्ण नयाँ सरकारको अपेक्षा गर्दछु ।”
उनले भने, “पहिलेका शासकहरूले हामीलाई धोका दिए। हामीलाई नयाँ शासकको समूह चाहिएको छ जसले देशको विकास गर्नेछ ।” दिसानायकेको जेभीपी वा पिपुल्स लिबरेशन फ्रन्ट अर्को सरकार गठनका लागि चाहने पेसाकर्मीहरूको राष्ट्रिय जनसत्ता (एनपीपी) गठबन्धनको मुख्य घटक हो ।
निवर्तमान विधानसभामा एनपीपीले जम्मा तीन सिट जितेको थियो । दिसानायके करिब २५ वर्षदेखि सांसद भएका थिए भने केही समयका लागि कृषिमन्त्रीसमेत बनेका थिए । उनले सन् २०२२ मा देशलाई सबैभन्दा खराब आर्थिक सङ्कटमा पुर्याएको आरोप लागेका परम्परागत राजनीतिज्ञहरूबाट आफूलाई टाढा राख्दै देशको विकासमा आफ्नो अनुभवलाई निष्ठापूर्वक प्रयोग गर्ने बताएका छन् ।
उनको जेभीपी पार्टीले सन् १९७१ र १९८७ मा दुई विद्रोहको नेतृत्व गरेको थियो, जसका कारण कम्तीमा ८० हजारको मृत्यु भएको थियो दुई वटा विद्रोहको नेतृत्व असफल भएपनि दिसानायकेले सेप्टेम्बर २१ मा भएको चुनावबाट निर्वाचित बनेपछि सत्ता सम्हालेका थिए ।
विश्वविद्यालयका प्राज्ञसमेत रहेका ५२ बर्षीय विश्लेषक शिवलोगादासन भन्छन्, “परिवर्तन तुरुन्तै हुने वा देखिने कुरा होइन । दिसानायकेलाई आफ्नो वाचा पूरा गर्न थप समय चाहिन्छ। केही चीजहरू परिवर्तन हुन थालेका छन् ।”
पूर्ववर्ती राष्ट्रपति रनिल विक्रमासिङ्घेले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट प्राप्त गरेको विवादास्पद २.९ अर्ब अमेरिकी डलरको बेलआउटमा पुनः वार्ता गर्ने यसअघिको प्रतिबद्धताका बावजुद दिसानायकेले अन्तर्राष्ट्रिय ऋणदातासँगको सम्झौतालाई कायम राख्ने निर्णय गरेका छन् ।
देशको मुख्य निजी क्षेत्रको लबी, सिलोन चेम्बर अफ कमर्शले दिसानायकेलाई मौन समर्थन गरिरहेको छ र उनले सुधारका साथ अगाडि बढ्ने अपेक्षा गरेको छ । “निरन्तरको सुधारले लगानीकर्ताको विश्वास र वित्तीय अनुशासन दुवैलाई प्रोत्साहित गर्न सक्छ, दिगो विकासको लागि आधार तयार गर्न सक्छ,” सीसीसीका सचिव भुवानीकाबाहु परेराले मतदान अघि एएफपीसँग भने ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को एक प्रतिनिधिमण्डलले बिहीबार कोलम्बोमा आर्थिक प्रगतिको समीक्षा गर्ने र त्यसपछि ३३ करोड अमेरिकी डलर बराबरको बेलआउट कर्जा जारी गर्ने कार्यक्रम छ । गठबन्धन सरकारमा सहभागी हुन अभियान चलाएका विपक्षी नेता सजिथ प्रेमदासाले आफ्नो अन्तिम चुनावी र्यालीमा दिसानायकेलाई कर कटौतीको वाचा पूरा गर्न दबाब दिने बताएका छन् ।
सर्वेक्षण अनुगमनकर्ता र विश्लेषकहरूले बिहीबारको निर्वाचनले विगतका चुनावमा देखिएको उत्साह वा हिंसा दुवैको रेकर्ड तोड्न असफल भएको टिप्पणी गरेका छन् । राजनीतिक विश्लेषक कुशल परेराले भने, “विपक्षीहरू निस्प्रभावी देखिएका छन् यस परिवेशमा भएको निर्वाचनको परिणाम पूर्वनिर्धारित निष्कर्ष नै हो ।”
निवर्तमान संसद्मा पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेको पार्टी श्रीलङ्का पोदुजाना पेरामुना (एसएलपीपी) वा पिपुल्स फ्रन्टको वर्चस्व थियो। राजापाक्षेले चुनाव लडेका छैनन् तर उनका छोरा तथा पूर्व खेलकुदमन्त्री नमाल पुनः चुनाव लडिरहेका छन् । एक निजी क्षेत्रका ४९ वर्षीय उद्यमी दमयन्था परेराले आफूले अझै पनि एसएलपीपीलाई भोट हालेको बताए । “मैले आफ्नो अन्तस्करणअनुसार मतदान गरें,” उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गम गाउँमा आँखा शिविर, ७८६ जनाले लिए सेवा
-
ट्रम्पलाई समर्थन गर्नु मस्कलाई पर्ला महँगो ?
-
ह्वात्तै युरिक एसिड बढाउँछन् यी चिज, हिँडडुल गर्नै हुन्छ अप्ठ्यारो
-
हिमाल हेर्न कोखेडाँडा
-
१२ बजे, १२ समाचार : 'भीआईपीलाई चोख्याउन बयान कागज' देखि 'यू-१९ क्रिकेटमा नेपालको विश्वकप यात्रा'सम्म
-
विभाजित कम्युनिष्ट पार्टी एकीकृत हुनुपर्छ : अध्यक्ष नेपाल