शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पिताको प्रतिक्रियाका कारण सन्जु सामसन विवादमा

‘रोहित शर्मा, विराट कोहली, एमएस धोनी र राहुल द्रविडले मेरो छोराको खेलजीवन बरबाद पारे’
बिहीबार, २९ कात्तिक २०८१, १४ : २६
बिहीबार, २९ कात्तिक २०८१

काठमाडौँ । अहिले भारतीय क्रिकेट टोलीका ब्याट्सम्यान सन्जु सामसन चर्चामा छन् । पछिल्लो समय टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार दुई शतक प्रहार गरेपछि उनको चर्चा चुलिएको हो । उनले बंगलादेशविरुद्धको तेस्रो टी–२० अन्तर्राष्ट्रियमा एक सय ११ रन बनाएका थिए ।

गत अक्टोबर १२ तारिखमा हैदराबादमा खेलिएको त्यो खेलमा उनले ४७ बलमा आठ छक्का र ११ चौका प्रहार गरेका थिए । त्यो खेलमा भारतले बंगलादेशलाई एक सय ३३ रनको फराकिलो अन्तरले हराएको थियो ।

हाल दक्षिण अफ्रिका भ्रमणका क्रममा पनि उनले शतक बनाएर भारतलाई जित दिलाएका छन् । उनले दक्षिण अफ्रिकाविरुद्धको पहिलो टी–२० अन्तर्राष्ट्रियमा केवल ५० बलको सामना गरी १० छक्का र सात चौकाको मद्दतले एक सय सात रन बनाएका थिए ।

त्यो खेलमा भारत ६१ रनले विजयी भएको थियो । त्यसपछि भारतीय समर्थकहरुले सन्जु सामसन क्षमतावान खेलाडी भए पनि उनलाई लामो समय टोलीमा अवसर नदिइएको भन्दै सामाजिक सञ्जालमा टिप्पणी गरिरहेका छन् ।

सोही विषयलाई लिएर अहिले आएर सन्जु सामसनका पिता विश्वनाथ सामसनले भारतका चर्चित क्रिकेटरहरुमाथि आफ्नो छोराको खेलजीवन बरबाद पारेको गम्भीर आरोप लगाएका छन् । सन्जुका पिताले खासगरी चारजना चर्चित क्रिकेटरमाथि आफ्नो छोराको खेलजीवन बरबाद पारेको आरोप लगाएका हुन् ।    

उनले विराट कोहली, रोहित शर्मा, महेन्द्रसिंह धोनी र राहुल द्रविडका कारण आफ्नो छोराको खेलजीवन धरापमा परेको आरोप लगाएका हुन् । आफ्नो छोरोका प्रदर्शन उच्च स्तरको भए पनि यी चार क्रिकेटरले उनलाई टोलीमा स्थान नदिएको आरोप विश्वनाथले लगाएका हुन् ।

‘पूर्वकप्तान धोनी, कोहली र शर्माले क्षमता हुँदाहुँदै पनि मेरो छोरालाई टोलीमा अवसर दिएनन् । प्रशिक्षक द्रविडले पनि संजुको क्षमतालाई चिन्न सकेनन् । उनीहरुकै कारण १० वर्षसम्म मेरो छोराको खेलजीवन संकटमा पर्‍यो,’ विश्वनाम सामसनले भनेका छन् ।

भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै विश्वनाथले भने, ‘क्षमता भएर पनि सन्जुले एक दशकसम्म मानसिक यातना खेप्नु पर्‍यो । उनलाई कसैले पनि टोलीमा स्थान दिएन । तर, उनले हिम्मत हारेनन् र अवसर पाउनासाथ आफ्नो क्षमता देखाए ।’

विश्वनाथले भारतीय टोलीका पूर्वखेलाडी क्रिस श्रीकान्तमाथि आरोप लगाएका छन् । बंगलादेशविरुद्ध सन्जु सामसनले शतक प्रहार गरेपछि क्रिस श्रीकान्तले कमजोर टोलीविरुद्ध शतक बनाउनु स्वभाविक भएको प्रतिक्रिया दिएका थिए ।

सोही विषयलाई लिएर विश्वनाथले क्रिस श्रीकान्तमाथि आक्रोश पोखेका हुन् । ‘अन्तर्राष्ट्रिय क्रिकेटमा शतक भनेको शतक नै हो । कुन टोलीविरुद्ध शतक बनाएको हो भन्ने कुराले ठुलो अर्थ राख्दैन । त्यसैले कुनै पनि खेलाडीको उपलब्धिलाई ओझेलमा पार्ने काम गर्नु भनेको अपराध हो,’ उनले भनेका छन्, ‘श्रीकान्त आफैले पनि बंगलादेशविरुद्ध २६ रनमात्र बनाउन सकेको होइन र ?’ विश्वनाथको कथन छ ।

सन्जुका पिताले भारतीय टोलीका वर्तमान प्रमुख प्रशिक्षक गौतम गम्भीर र सूर्यकुमार यादवको भने प्रसंशा गरेका छन् । ‘प्रशिक्षक र कप्तानले हरेक खेलाडीको क्षमता पहिचान गर्न सक्नुपर्छ । उनीहरुको मनमा कसैप्रति ईश्याको भाव हुनुहुँदैन,’ विश्वनाथले भनेका छन् ।

भारतीय क्रिकेटरमा सन्जु सामसन शान्त र विनम्र खेलाडीका रूपमा चिनिन्छन् । तर, पिताको सार्वजनिक प्रतिक्रियाका कारण उनी पटक–पटक विवादमा पर्ने गरेका छन् । अहिले पनि सन्जुको पिताको टिप्पणी सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

संजु सामसन यसअघि पनि आफ्नो पिताको सार्वजनिक टिप्पणीका कारण विवादमा परिसकेका छन् । विश्वनाथले सन् २०१६ मा केरल क्रिकेट एसोसिएसनका पदाधिकारीसँग पनि झगडा गरेका थिए । त्यसपछि आफ्ना छोरासँग खेल मैदानमा नआउन उनलाई चेतावनी दिइएको थियो । अहिले फेरि पिताका कारण नै सामसन विवादमा परेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप