शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

बोर्डर–गावस्कर ट्रफीअघि रिकी पोन्टिङ र गौतम गम्भीरबिच आरोप–प्रत्यारोप

‘विराटको बारेमा मैले सुझावमात्र दिएको थिएँ, गम्भीरले त आवश्यकताभन्दा बढी नै बुझेछन्’
बिहीबार, २९ कात्तिक २०८१, १३ : २०
बिहीबार, २९ कात्तिक २०८१

काठमाडौँ । घरेलु मैदानमा न्युजिल्यान्डसँग ‘ह्वाइट वास’ भएपछि भारतीय क्रिकेट टोली अस्ट्रेलिया यात्रामा निस्किएको छ । अस्ट्रेलिया भ्रमणका क्रममा भारतले आयोजक राष्ट्रसँग बोर्डर–गावस्कर ट्रफी खेल्ने कार्यक्रम रहेको छ ।

बोर्डर–गावस्कर ट्रफी पाँच टेस्टको शृंखला हो । शृंखलाको पहिलो खेल नोभेम्बर २२ तारिखमा पर्थमा सुरु हुनेछ । दोस्रो खेल दिसेम्बर ६ तारिखमा एडलेइडमा सुरु हुनेछ । दोस्रो टेस्ट दिवा–रात्री रुपमा खेलिने बताइएको छ ।

यसैगरी, तेस्रो टेस्ट डिसेम्बर १४ देखि १८ तारिखसम्म गाबामा खेलिने छ । चौथो टेस्ट भने डिसेम्बर २६ देखि ३० तारिखसम्म मेलबर्नमा खेलिने छ । शृंखलाको पाँचौँ तथा अन्तिम टेस्ट जनवरी ३ देखि ७ तारिखसम्म सिडनीमा हुनेछ ।

रमाइलो पक्ष के हो भने, बोर्डर–गावस्कर ट्रफी सुरु हुनुअघि नै यी दुई राष्ट्रका पूर्व क्रिकेटरबिच आरोप–प्रत्यारोप सुरु भएको छ । खासगरी अस्ट्रेलियाका पूर्वकप्तान रिकी पोन्टिङ र भारतका पूर्वखेलाडी गौतम गम्भीरबिच आरोप–प्रत्यारोप सुरु भएको हो ।

गम्भीर भारतीय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक पनि हुन् । बोर्डर–गावस्कर ट्रफीलाई लिएर पहिलो टिप्पणी भने रिकी पोन्टिङले गरेका थिए । सबैभन्दा पहिले पोन्टिङले आईसीसी पोडकास्टमा कुराकानी गर्दै भारतका प्रभावशाली ब्याट्सम्यान विराट कोहलीको प्रदर्शनलाई लिएर प्रश्न उठाएका थिए ।

पोन्टिङले कोहलीजस्तो अनुभवी खेलाडीको पछिल्लो प्रदर्शन निकै निराशाजनक रहेको टिप्पणी गरेका थिए । आफ्नो समयका प्रभावशाली ब्याट्सम्यान पोन्टिङले पछिल्लो पाँच वर्षयता कोहलीले ६० टेस्ट खेलेर केवल तीनवटा शतक प्रहार गरेको धारणा राखेका थिए ।

‘पछिल्लो पाँच वर्षको अवधिमा कोहलीले ६० टेस्ट खेलेर तीन वटा शतकमात्र प्रहार गरेका छन् । कोहलीजस्तो अनुभवी खेलाडीका लागि यो निराशाजनक अवस्था हो । उनको ब्याटिङमा पहिलेजस्तो आक्रामकता देखिँदैन,’ पोन्टिङले भनेका थिए ।

पोन्टिङले आफ्नो प्रभावका कारणमात्र कोहली टोलीमा टिकिरहेको टिप्पणी पनि गरेका थिए । ‘कोहलीको स्थानमा अरु कुनै खेलाडी हुन्थे भने निकै अघि टोलीबाट हटाइसकिन्थयो । उनी आफ्नो प्रभावका कारणमात्र टोलीमा टिकिरहेका छन्,’ पोन्टिङले भनेका थिए ।

लगत्तै भारतीय टोलीका प्रमुख प्रशिक्षक गम्भीरले पोन्टिङलाई कडा जवाफ फर्काएका थिए । भारतीय टोली अस्ट्रेलिया प्रस्थान गर्नुअघि सञ्चारकर्मीसँग कुरा गर्दै गम्भीरले भारतीय क्रिकेटसँग पोन्टिङको कुनै सम्बन्ध नरहेको बताएका थिए ।

‘भारतीय क्रिकेटसँग पोन्टिङको कुनै सम्बन्ध छैन । त्यसैले उनले धेरै चासो देखाउनु आवश्यक छैन । पोन्टिङले भारतको भन्दा पनि आफ्नो देशको क्रिकेटमा ध्यान दिए हुन्छ । विराट कोहली र रोहित शर्मा भारतीय टोलीका महत्वपूर्ण सदस्य हुन् । म विराट र रोहितको प्रदर्शनलाई लिएर रत्तिभर चिन्तित छैन,’ पोन्टिङलाई जवाफ फर्काउँदै गम्भीरले भनेका छन् ।

गम्भीरको टिप्पणी सार्वजनिक भएपछि पोन्टिङ चुप लागेर बसेनन् । उनले फेरि गम्भीरलाई जवाफ फर्काए । पोन्टिङले च्यानल सेभनसँग कुराकानी गर्दै गौतम गम्भीर आफूलाई ‘आवश्यक्ताभन्दा बढी बाठो सम्झने र छिट्टै आवेषमा आउने ब्यक्ति’ भएको टिप्पणी गरे ।

‘मैले गौतम गम्भीरसँग यस्तै प्रतिक्रियाको आशा गरेको थिएँ । मैले कोहलीको आलोचना गरेको होइन । बरु उनलाई आफ्नो प्रदर्शनमा सुधार ल्याउन सुझाव दिएको हुँ । कोहलीजस्ता अनुभवी खेलाडीले थोरै मेहनत गरे भने उनी पुनः लयमा फर्कन सक्छन् । त्यसैले मैले उनलाई सुझाव दिएको थिएँ,’ पोन्टिङले भनेका छन् । पोन्टिङले आफू अझै गौतम गम्भीरसँग हात मिलाउन तयार रहेको पनि बताएका छन् ।

‘अस्ट्रेलियामा कोहलीको प्रदर्शन सधैं उत्कृष्ट रहँदै आएको छ । यसपटक पनि उनले गतिलो प्रदर्शन गरुन् भन्ने मेरो चाहना हो । तर, गौतम गम्भीरले आवश्यकताभन्दा बढी नै बुझेछन् । उनी छिट्टै आवेषमा पनि आउँछन् । यदि गम्भीर मेरो अगाडि आए भने म उनीसँग हात मिलाउन तयार छु । सायद, गम्भीर मसँग हात मिलाउन तयार नहोलान्,’ पोन्टिङले भनेका छन् ।

पोन्टिङ यतिमा मात्र रोकिएनन् । उनले त्यसपछि पनि निरन्तर गौतम गम्भीरमाथि शब्दको प्रहार जारी राखेका छन् । उनले न्युजिल्यान्डसँग घरेलु मैदानमा पराजित भएपछि गौतम गम्भीर निकै डराएको टिप्पणी पनि गरेका छन् ।

‘न्युजिल्यान्डसँग घरेलु मैदानमा नमिठो हार भोगेपछि गौतम गम्भीर निकै डराएका छन् । मैले यस्तै अनुभव गरिरहेको छु । डर उनको अनुहारमा स्पष्ट रुपमा देखिन्छ । यसले उनलाई अझ झगडालु बनाएको छ,’ पोन्टिङले भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप