नेपाली फिल्ममा कुनै नयाँ धार देखिन्न
सन् १९७४ मा म मुम्बई पुगेको थिएँ । त्यतिबेला मुम्बई फिल्म उद्योग पनि पूर्ण रूपले कलर भएको थिएन । केही फिल्म ब्ल्याक एन्ड ह्वाइट बनिरहेका थिए । त्यो समय एउटा ब्ल्याक एन्ड ह्वाइट फिल्ममा एसिस्टेन्ट सम्पादक भएर काम गर्ने मौका मिल्यो । त्यसपछि मुम्बईमा फिल्मका विभिन्न काम गरेँ ।
म हिन्दी फिल्मको सफल सम्पादक पनि हो । धेरै हिन्दी फिल्ममा काम गरेको थिएँ । नेपालमा ‘सिन्दूर’ भन्ने फिल्म बन्दै थियो । प्रकाश थापा मुम्बई आउनुभएको थियो । त्यो समय ईपी र एलपी भन्ने रेकर्ड प्रविधि चल्थ्यो । ‘सिन्दूर’ फिल्मको पाँच मिनेटको गीत काटेर तीन मिनेट २५ सेकेन्ड बनाउनुपर्ने थियो । त्यही क्रममा प्रकाश थापाले मेरो गुरु कमलाकर कारखानिससँग भेट्नुभएको थियो ।
म पहिलेदेखि नै प्रकाश थापाको फ्यान थिएँ । किनभने उनी नेपाली फिल्ममा लाग्नु अगाडि हिन्दी फिल्मका स्थापित भिलेन थिए । धेरै हेन्डसम र पर्सनालिटी समेत राम्रो भएका उनको ‘मिलन की रात’, ‘सुहागरात’ जस्ता फिल्म भर्खर आएका थिए । जसमा उनी मुख्य भिलेन थिए ।
गुरुले थापाको पाँच मिनेटको गीत काटेर छोट्याउने जिम्मा मलाई दिनुभयो । त्यो क्रममा थापासँग नेपालीमा बोलेको सुनेपछि उहाँले यो कुन भाषा हो भनी सोध्नुभयो ।
मैले नेपाली भाषाका बारेमा र थापा नेपालीको राम्रा निर्देशक भएको समेत बताएँ । उहाँले फेरि सोध्नुभयो, ‘नेपालीमा कति फिल्म बनेका छन् ।’ मेरो जवाफ थियो, ‘६–७ वटा ।’
गुरुले प्रश्न गर्नुभयो, नेपाल एउटा देश होइन र ? किन अहिलेसम्म ६–७ फिल्म ?
एक पिरियड सकिएपछि नयाँ धार, पुराना धार भन्ने आयो । नयाँ धारको चलेको फिल्म कुन चाहिँ हो भनेर हेर्न जान्छु, खै त्यहाँ कुनै नयाँ धार त देख्दिनँ ।
केही समयपछि गुरुपूर्णिमाको दिन आयो । गुरुले सबै चेलालाई बोलाएर गुरु दक्षिणा लिँदै एक–एकवटा आज्ञा दिनुभयो । मेरो पालामा पहिले सोध्नुभयो, ‘तेरो भाषा के ?’
मैले भनेँ— नेपाली ।
उहाँले भन्नुभयो, ‘१० वटा पोजेटिभ फिल्म नेपाली भाषामा बनाउनू । यो नै मेरा लागि गुरुदक्षिणा ।’
१० वटा फिल्म कहाँबाट पैसा ल्याएर बनाउने ? यो प्रश्न मेरो मनमा आएको थियो, तर म त्यहाँ अरुभन्दा कान्छो चेलो थिएँ, त्यसैले गुरुलाई भन्न केही भन्न सकिनँ, ‘हुन्छ’ मात्रै भनेँ ।
केही दिनमा गुरुलाई भेटेर यो भन्छु भन्ने सोचेको थिएँ— ‘फिल्म बनाउन पैसा कहाँबाट ल्याउनू ! गुरुजी ! बरु अर्को कुनै गुरुदक्षिणा भन्नुस्् ।’
मैले भेट्नुअघि नै गुरु बित्नुभयो र उहाँको आज्ञा मसँगै रह्यो ।
त्यतिबेला म मुम्बईको जुन ठाउँमा बस्थेँ, त्यहाँको मान्यता थियो— गुरुको आज्ञा पूरा गर्नैपर्छ । १० वटा फिल्म कसरी बनाउने भनेर सोच्दै गर्दा साथीहरूले भने— पहिले एक पाइला त हिँड, त्यसपछि दश पाइला पुगिहाल्छ नि !
मैले भन्थेँ— एउटा फिल्म बनाउन पनि पैसा चाहियो ।
साथीहरुले सिकाए— त्योभन्दा अगाडि कथा छान, स्क्रिनप्ले लेख, म्युजिक कम्पोज गर । रञ्जित गजमेर तिम्रो एकदमै मिल्ने साथी हो । उहाँसँग गीत बनाऊ । यो सबै प्लानिङ गर्न पैसा लाग्दैन । अनि पो पैसा जुटाउन सहज हुन्छ ।’
त्यो समय मैले हिन्दी फिल्महरूको सम्पादन गर्दै थिएँ । समय निकालेर आफ्नो काम पनि गर्न थालेँ । फिल्म ‘बाँसुरी’को कथावस्तुसँगै गीतहरु तयार भए । त्यसपछि मात्र निर्माता खोजेँ ।
फिल्ममा आशा भोसलेले गीत गाएर सहयोग गर्नुभयो । उहाँलाई पैसा दिन खोज्दा उल्टै मलाई पैसा दिनुभयो । सबैको सपोर्टले ‘बाँसुरी’ तयार भयो ।
त्यो समय फिल्म सेलोलाइटमा निर्माण हुन्थ्यो । हामीले सिक्दा सेलोलाइटमा सिक्यौँ । त्यो समय ३५ एमएममा काम गर्दा खर्च धेरै महँगो पथ्र्याे । १६ एमएमको नेगेटिभको प्राइज थोरै थियो । त्यही बेला भारतमा १६ एमएममा खिचेर ३५ एमएममा बनाउने प्रविधि भित्रियो । त्यो प्रविधि पहिलोपटक नेपाली फिल्ममा लिएर पसेको व्यक्ति मै हुँ, फिल्म ‘बाँसुरी’मार्फत । सन् १९८१ मा ‘बाँसुरी’ फिल्म बनाउन चार लाख ७५ हजार लागेको थियो ।
- नेपालै प्यारो
फिल्म बाँसुरीको एउटा गीतको शब्दप्रति तत्कालीन पञ्चायत सरकारले आपत्ति जनायो । फिल्म केही ठाउँमा रिलिज भएको थियो । ‘हिमाल जलेर ज्वाला भएछ’ भन्ने शब्द सरकारलाई मन परेन र ब्यान्ड गरियो । फिल्मका निर्माता मोहन बेनर्जी, जो भारतीय थिए, उनले लगानी भने उठाए ।
गुरुदक्षिणा स्वरूप जसोतसो पहिलो कदम (बाँसुरी) हिँडे पनि मलाई नौ कदम हिँड्न बाँकी नै थियो । त्यसपछि म ‘कुसुमे रुमाल’को तयारीमा लागेँ ।
दशौँ फिल्म बनाएपछि मेरो कर्म क्षेत्र बम्बई नै थियो, उतै जान सोचेको थिएँ । प्रकाश थापा दाइ, जितेन्द्र महत अभिलाषीजी लगायत दुई–चार जनाले सोधे— ‘तिम्रा मित्रहरू मुम्बईमा धेरै छन् कि नेपालमा ?’
त्यो समय भुवन केसी स्ट्रगल गर्न मुम्बईमा थिए । भुवनका काका गायक ध्रुव केसीले मलाई भन्नुभयो, ‘एउटा केटो नेपालबाट आएको छ । त्यो मेरो छोरो हो । भेटघाट गरौँ ।’
त्यसपछि मैले तृप्ति र भुवनको जोडी लिएर ‘कुसुमे रुमाल’ बनाएँ । हाम्रो फिल्ममा यो जोडी देखिएपछि प्रधानले ‘सम्झना’ भन्ने फिल्ममा तृप्ति र भुवन नै लिए ।
‘कुसुमे रुमाल’पछि ‘अन्याय’, ‘लाहुरे’ हुँदै १०औँ चलचित्र ‘दक्षिणा’ बनाएँ । फिल्मको नाम ‘गुरुदक्षिणा’ राख्ने इच्छा थियो, तर त्यस नामबाट अरु कसैले दर्ता गराएको रहेछ । त्यसैले दक्षिणा मात्र राखेँ ।
दशौँ फिल्म बनाएपछि मेरो कर्म क्षेत्र बम्बई नै थियो, उतै जान सोचेको थिएँ । प्रकाश थापा दाइ, जितेन्द्र महत अभिलाषीजी लगायत दुई–चार जनाले सोधे— ‘तिम्रा मित्रहरू मुम्बईमा धेरै छन् कि नेपालमा ?’
म केही बोलिनँ ।
उहाँहरूले भन्नुभयो— तिमीलाई नेपाली दर्शकले अति माया गर्न थालेका छन् । पैसै चाहिन्छ भने त जाऊ । पैसाभन्दा ठुलो प्रेम, स्नेह, वातावरण चाहिन्छ भने यतै बसौँ न । यतै गरौँ ।
उहाँहरूले यसो भन्दा मलाई कस्तो–कस्तो लागेको थियो । हो त, उता गएर पनि के गर्ने ? यहाँको रस बसिसक्यो, साथीभाइ पनि यतै बढी भइसके । यतै बस्नुपर्छ भनेर बसेँ ।
- २५ फिल्म बनाउने धोको
स्टोरी, स्क्रिनप्ले, डायलग, डाइरेक्सन, इडिटिङ यी सबै विधा म सम्हाल्ने गर्छु । म राइटर र इडिटर दुवै हुँ । जसले इडिटिङ राम्रो गर्छ, त्यसले स्क्रिनप्ले राम्रो गर्न सक्छ ।
अहिलेसम्म त्यही गरिराछु । गीतकार त बाध्यताले भएको हुँ । एक–दुईवटा गीतकारकहाँ जाँदा अहिले मुड छैन, पर्सि आउनु न भनेर झुलाए ।
हाम्रो नेपाली फिल्मको प्लस प्वाइन्ट भनेको इमोसनल हुनुपर्छ, मनलाई च्वास्स छुनैपर्छ, मिठो गीत–संगीत हुनैपर्छ, अनि कन्टेन्ट राम्रो हुनुपर्छ ।
म अलिअलि कविता लेख्थेँ । कोसिस गर्दागर्दै केही गाना लेखेँ । अहिलेसम्म मैले २३ वटा चलचित्र बनाइसकेँ, यो ‘पहाड’ मेरो २४औँ चलचित्र हो । ‘पहाड’पछि अब एउटा चलचित्र गर्ने इच्छा छ ।
भोलि भेट होला भन्नेहरूसँग कहिलेकाहीँ घाटमा मात्र भेट्नुपर्छ । जिन्दगीको केहीभरै हुँदैन । तर, मैले २५औँ चलचित्र बनाउन सकुँ भनेर भगवान्प्रति आस्था राखेको छु । मैले प्रार्थना गर्छु— २५औँ पुर्याउन देऊ है भगवान् । फिल्म लाइनमा एउटा भनाइ छ, ‘२५औँ चलचित्र डाइरेक्सन गर्नेले गाई दान गर्नुपर्दैन ।’
- नयाँ धार ?
पहिले फिल्म आउँदा दर्शकहरू एकदमै रमाइलो गर्थे, एक खालको उत्साह हुन्थ्यो ।
इन्डियामा त कुनै नेपाली फिल्म लाग्यो भने गेट नै बनाइन्थ्यो । त्यसपछि समयले यति ठुलो फड्को मार्यो कि जमाना पूरै परिवर्तन भयो । अहिलेको डिजिटलको जमानाले सेलोलाइट पनि फालिदियो । चलचित्र क्षेत्रमा एकदमै फास्ट परिवर्तन भयो । समय यति छिटो भाग्यो कि पछ्याउनै गाह्रो भयो मलाई । पछ्याउन र बुझ्नै धेरै समय लाग्यो ।
यो बिचको समय नेपाली चलचित्रका लागि साह्रै वाहियात फिल्म बने । हेरिनसक्नुका फिल्म पनि बने । पुराना मेकर्सले लाइन नै छाडिदिए । त्यसपछि एक पिरियड सकिएपछि नयाँ धार, पुराना धार भन्ने आयो । नयाँ धारको चलेको फिल्म कुन चाहिँ हो भनेर हेर्न जान्छु, खै त्यहाँ कुनै नयाँ धार त देख्दिनँ ।
अहिले मार्केट विस्तार भएको छ । भारतमा धेरै नेपाली छन्, उनीहरुसम्म नेपाली फिल्म पुर्याउनुपर्छ ।
हाम्रो नेपाली फिल्मको प्लस प्वाइन्ट भनेको इमोसनल हुनुपर्छ, मनलाई च्वास्स छुनैपर्छ, मिठो गीत–संगीत हुनैपर्छ, अनि कन्टेन्ट राम्रो हुनुपर्छ । पहिले हामीलाई स्टार चाँहिदैनथ्यो । अहिले एकदम राम्रो मार्केट बनिसकेको अवस्था छ, यस्तो अवस्थामा स्टार पनि चाहिँदो रहेछ ।
अहिले साह्रै उत्साहजनक समय सुरु भएको छ । पछिल्लो समय दसैँ–तिहारयता जुन पनि फिल्म लागे, डुबेको छैन । जुन–जुन फिल्म डुब्यो, जसले लगानी पनि उठाउन सकेनन्, ती फिल्मलाई अहिले लगायो भने पनि डुब्छन् । बकबास थिए र डुबे । केही ढंगका फिल्म, सीप पुर्याएर बनाएका कन्टेन्ट बेस फिल्महरू चलेकै छन् ।
- दर्शक पर्खिरहेका छन्
हामीले दर्शकलाई गाली गर्नुपर्ने कुनै ठाउँ छैन । नेपाली दर्शकले त्यतिबेला पनि उति नै माया गरिरहेका थिए, अहिले पनि त्यति नै माया गरिरहेका छन् । कन्टेन्ट ठिकठाक छ भने लगानी उठाएर गइरहेका छन् । अझ राम्रो छ भने राम्रै कमाएका छन् ।
अहिले मार्केट विस्तार भएको छ । भारतमा धेरै नेपाली छन्, उनीहरुसम्म नेपाली फिल्म पुर्याउनुपर्छ ।
मेची क्रस गरेपछि हिन्दी बोल्नुपर्छ होला, बंगाली बोल्नुपर्छ होला भन्ने हुन्छ, तर आसाम, सिक्किम दार्जिलिङ लगायत क्षेत्रमा नेपाली बोल्दाबोल्दै बर्मा पुगिन्छ । कहीँ पनि हिन्दी बोल्नुपर्दैन । यी सबै नेपाली बेल्ट हुन् । यता बम्बई, कलकत्तामा पनि धेरै नेपाली छन् । यिनीहरूको माझमा मार्केटिङ गर्नका लागि अलिकति चुनौती छ ।
एउटा कुरा के भयो भने त्यहाँका दर्शक पनि नेपाली फिल्म पर्खिरहेका छन्, हामी पनि त्यहाँ जान खोजिरहेका छौँ । यसका लागि चलचित्र विकास बोर्डले काम गर्नुपर्छ । सिक्किममा पनि विकास बोर्ड बन्दै छ । यी दुवैले सहकार्य गरिदियो भने पुल बन्छ र बजार विस्तार हुन्छ । नेपाली फिल्मको भविष्य अझ सुनौलो हुन्छ ।
(वरिष्ठ निर्देशक घिमिरेसँग कुवेर गिरीले गरेको कुराकानीमा आधारित ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्मचारीका पार्टीगत ट्रेड युनियन हटाउन कांग्रेस–एमाले सहमत
-
सुरक्षित कारोबार ऐन २०८१ लाई संशोधन गर्न बनेको विधेयकमा सांसदको विरोध
-
भन्सार शुल्क घटाउँदा पनि किन घट्यो सुन आयात ?
-
सुशासन स्थापित गर्न दुई ठुला दल मिलेर सरकार बनाएका हौँ : मन्त्री राणा
-
इसेवा र मोबाइल बैंकिङमा समस्या
-
राजधानीमा बलात्कारपछि १७ वर्षीया किशोरीको हत्या प्रकरण : आरोपी नातेदार