शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय
च्याम्पियन्स ट्रफी क्रिकेटमा भारत–पाकिस्तान विवाद

घमन्ड त्याग्न भारतलाई पाकिस्तानी क्रिकेटर शाहिद अफरिदीको सुझाव

बिहीबार, २९ कात्तिक २०८१, १० : ५३
बिहीबार, २९ कात्तिक २०८१

काठमाडौँ । आगामी वर्षको प्रारम्भमै आयोजना हुने भनिएको आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगितामा सहभागी हुन भारतीय टोली पाकिस्तान नजाने भएपछि अहिले यो विवाद विश्व क्रिकेटमा सबैभन्दा ठुलो चर्चाको विषय बनेको छ ।

आईसीसी च्याम्पियन्स ट्रफीको नवौँ संस्करणमा सन् २०२५ को फेब्रुअरी १९ देखि मार्च ९ तारिखसम्म पाकिस्तानमा आयोजना हुँदै छ । भारतीय क्रिकेट कन्ट्रोल बार्ड (बीसीसीआई) ले आफ्नो टोली पाकिस्तान नजाने जानकारी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) लाई पनि गराइसकेको छ ।

भारतीय टोली पाकिस्तान नजाने भएपछि आईसीसीले प्रतियोगिता ‘हाइब्रिड मोडल’ मा आयोजना गर्ने छलफल पनि अगाडि बढाएको छ । तर, पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) भने प्रतियोगिता ‘हाइब्रिड मोडल’ मा आयोजना गर्ने पक्षमा देखिएको छैन ।

भारतीय टोली च्याम्पियन्स लिग खेल्न पाकिस्तान भ्रमणमा आउनु पर्ने पीसीबीको अडान छ । भारतीय टोली च्याम्पियन्स ट्रफी खेल्न पाकिस्तान नजाने भएपछि यो विवाद गम्भीर मोडमा पुगेको छ । बीसीसीआईले सुरक्षाको कारण देखाउँदै पाकिस्तान नजाने निर्णय लिएको हो ।

यो विवादका कारण आईसीसी पनि दबाबमा परेको छ । भारतीय टोली च्याम्पियन्स ट्रफी खेल्न पाकिस्तान नआए भविष्यमा पाकिस्तानले भारतसँग कुनै पनि प्रतियोगिता नखेल्ने धम्की पनि आईसीसीलाई दिएको छ ।

आईसीसी भने प्रतियोगिता ‘हाइब्रिड मोडल’ मा आयोजना गरेर विवादको समाधान खोज्ने योजनामा देखिन्छ । बीसीसीआई पनि प्रतियोगिता ‘हाइब्रिड मोडल’ मा आयोजना गरिनु पर्ने वा पाकिस्तानबाट प्रतियोगिता दक्षिण अफ्रिकामा सारिनु पर्ने पक्षमा देखिएको समाचारमा जनाइएको छ ।

यो विषयलाई लिएर पाकिस्तानका चर्चित क्रिकेटर शाहिद अफरिदीले पनि आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले पाकिस्तान र भारतबिचको राजनीतिक सम्बन्धको प्रभाव क्रिकेटमा पर्न नहुने टिप्पणी गरेका छन् ।

‘सन् १९७० पछि पहिलो पटक क्रिकेट गम्भीर समस्यामा परेको छ । भारतले राजनीतिक सम्बन्ध र क्रिकेट फरक कुरा हो भन्ने बुझ्नु आवश्यक छ । ओलम्पिक अभियान जस्तै हामीले आफ्नो क्रिकेट सम्बन्धलाई पनि बलियो बनाउनु आवश्यक छ,’ अफरिदीले भनेका छन् ।

यसैगरी, आफ्नो समयका प्रभावशाली खेलाडी अफरिदीले सामाजिक सञ्जालमार्फत भारतलाई आफ्नो घमन्ड त्याग्न सुझाव पनि दिएका छन् । ‘सधैं घमन्ड गरेर हुँदैन । खेलकुदमा यो राम्रो होइन । भारतले आफ्नो घमन्ड त्याग्न जरुरी छ । च्याम्पियन्स ट्रफी खेल्न भारतीय टोली पाकिस्तान भ्रमणमा आउने छ भन्नेमा म विश्वस्त छु,’ उनले भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप