मङ्गलबार, ०१ माघ २०८१
ताजा लोकप्रिय
स्थानीय तह उपनिर्वाचन

अघिल्लो पटक जितेको ८ सिट जोगाउन माओवादीलाई चुनौती, को–कोसँग गर्दैछ तालमेल ?

बिहीबार, २९ कात्तिक २०८१, ०९ : ५७
बिहीबार, २९ कात्तिक २०८१

काठमाडौँ । आगामी मंसिर १६ मा हुन गइरहेको स्थानीय तह निर्वाचनमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले अघिल्लो निर्वाचनमा जितेको स्थानलाई सुरक्षित राख्दै थप ४/५ सिट थप्ने दाबी गरेको छ । अघिल्लो निर्वाचनको तुलनामा माओवादीप्रति जनमत बढ्दै गएकाले थप सिट जित्न सक्ने आत्मविश्वास बढेको उपमहासचिव हरिबोल गजुरेलले बताए ।

‘देशैभर माओवादीप्रति जनमत बढ्दै गइरहेको छ । अघिल्लो निर्वाचनमा जितेका स्थानलाई कायमै राखी केही सिट बढाउन सक्छौँ भन्ने आत्मविश्वास बढ्दै गएको छ,’ उनले भने, ‘निर्वाचनलाई आफ्नो पक्षमा पार्न सम्पूर्ण ध्यान केन्द्रित गर्छौं ।’

बुधबार बिहानमात्रै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्य दलको तुलनामा माओवादी नै ठिक रहेछ भन्ने आम जनताले बुझ्दै गएकाले स्थानीय तह निर्वाचनमा माओवादीको राम्रो परिणाम आउने दाबी गरेका थिए । ‘राम्रो काम गर्दागर्दै माओवादीलाई सत्ताबाट किन हटाइयो ? कांग्रेस–एमालेको गठबन्धन सरकार किन बन्यो ? आम जनताले राम्रैसँग बुझेका छन् । कांग्रेस–एमालेभन्दा माओवादी नै ठिक रहेछ भन्ने बुझेका छन् । त्यसकारण आत्मसमीक्षा सहित जनताको घरघर जानुपर्छ’, कीर्तिपुरमा आयोजित उम्मेदवार घोषणा सभामा प्रचण्डले भनेका थिए ।

अघिल्लोपटक रुकुम (पूर्व)को पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष र हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष पद माओवादीले जितेको थियो । यी दुवै पालिकामा योपटक पनि माओवादीले नै जित्ने सो पार्टीका नेताहरूको दाबी छ ।

यसैगरी, महोत्तरीको रामगोपालपुर नगरपालिका–२, मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२, पुथा उत्तरगंगा गाउँपालिका–२, जाजरकोटको कुशे गाउँपालिका–७, कालिकोटको तिलागुफा नगरपालिका–४ र दार्चुलाको  दुहुँ गाउँपालिका–५ को वडाध्यक्ष यसअघि माओवादी केन्द्रले जितेको थियो । उपनिर्वाचन हुन लागेका बाँकी ३६ सिटमध्ये कांग्रेसले २६, एमालेले ८, जसपा र स्वतन्त्रले एक/एक सिट जितेका थिए ।

तर योपटक सत्तामा कांग्रेस–एमालेको गठबन्धन रहेकाले माओवादीले भनेजस्तो विरासत कायमै राख्न चुनौती देखिन्छ । कांग्रेस र एमालेले निर्वाचनमा एकल प्रतिस्पर्धा गर्ने भनिए पनि माओवादीको आधार क्षेत्र रहेका स्थानमा संयुक्त उम्मेदवार बनाएर जाने तयारी छ ।

काठमाडौँको कीर्तिपुर नगरपालिका प्रमुख, नुवाकोटको ककनी गाउँपालिका–२, दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष, झापाको कन्काइ नगरपालिका–६, जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख, रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–५ लगायत स्थानमा जितका लागि सम्पूर्ण शक्ति खर्च गर्ने माओवादी केन्द्रका सचिव लीलामणि पोखरेलले बताए ।

‘हामी अघिल्लो विरासतलाई जोगाउँदै थप परिणाम ल्याउने गरी निर्वाचनमा खटिन्छौँ । विगतमा सरकारमा रहेर हामीले राम्रो काम गरेका छौँ । अहिले प्रतिपक्षमा हुँदा झन् जनतासँग जान पाइएको छ । यस हिसाबले हामी चुनावी तयारी गरिरहेका छौँ’, पोखरेलले भने ।  

बागमती, मधेस, लुम्बिनी, कर्णालीमा लगायत प्रदेशमा चुनावी सहकार्यका लागि छलफल भइरहेको अध्यक्ष प्रचण्डले कीर्तिपुर सभामै बताइसकेका छन् । उपमहासचिव हरिबोल गजुरेलले नेकपा, नेकपा एकीकृत समाजवादीसँग चुनावी तालमेल हुन सक्ने बताए । कात्तिक २६ गते बसेको माओवादी पदाधिकारी बैठकले स्थानीय तह निर्वाचनमा एकल प्रतिस्पर्धा गर्ने निर्णय गरेको थियो । यद्यपि बैठकले सत्ता बाहिर रहेका नेकपा, एकीकृत समाजवादी लगायत दलसँग आवश्यकता अनुसार केही स्थानमा सहकार्य हुने सक्ने ढोका खुलै राखेको थियो ।

स्थायी समिति सदस्य एवं कर्णालीका इन्चार्ज कालीबहादुर मल्ल कर्णालीमा माओवादी केन्द्रले एकल प्रतिस्पर्धा गर्ने बताए । उनका अनुसार समाजवादी मोर्चाका दलहरूले माओवादीलाई समर्थन गर्ने गरी छलफल अघि बढाइएको छ ।

माओवादी केन्द्रका कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले यस प्रदेशमा कोहीसँग पनि तालमेल नगर्ने बताए । बरु माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्न जसपा नेपाल र नेकपा एकीकृत समाजवादीलाई प्रस्ताव गरिएको र यसबारे छलफल भइरहेको उनको भनाइ छ ।

मधेसमा गढीमाई नगरपालिका बाहेक अन्यमा माओवादी केन्द्रले एकल उम्मेदवारी दिने प्रदेश इन्चार्ज लीलामणि पोखरेलले बताए ।

प्रदेशगत हरहिसाब

कोशी

कोशी प्रदेशमा हुन लागेको स्थानीय तह उपनिर्वाचनमा माओवादी केन्द्रलाई खासै ठुलो दबाब छैन । किनकि, कोशी अन्तर्गत रिक्त स्थानीय तह पदमा यसअघि माओवादीले जितेको थिएन । ती क्षेत्रमा अघिल्लोपटक कांग्रेस र एमालेले जितेका थिए ।

योपटक माओवादीले झापाको कन्काई नगरपालिका–६ र मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जित्ने सम्भावना रहेका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङको भनाइ छ ।

यो प्रदेशमा रिक्त रहेको कन्काई नगरपालिका–६ (झापा), सिरीजंगा गाउँपालिका–३ (ताप्लेजुङ), लालिगुँरास नगरपालिका–८ (तेह्रथुम), गढी गाउँपालिका–६ (सुनसरी), ग्रामथान गाउँपालिका अध्यक्ष (मोरङ), मोलुङ गाउँपालिका–५ (ओखलढुंगा), जिल्ला समन्वय समिति प्रमुख (ओखलढुंगा), त्रियुगा नगरपालिका–१२ (उदयपुर), बेलका नगरपालिका–९ (उदयपुर) मा उपनिर्वाचन हुँदैछ ।

मधेस

यसैगरी मधेस प्रदेशका डाक्नेश्वरी नगरपालिका–१ (सप्तरी), डाक्नेश्वरी नगरपालिका–४ (सप्तरी), धनुषाधाम नगरपालिका–१ (धनुषा), रामगोपाल नगरपालिका–२ (महोत्तरी), ईशनाथ नगरपालिका–७ (रौतहट), राजपुर नगरपालिका–६ (रौतहट), गढीमाई नगरपालिका–८ (रौतहट) मा उपनिर्वाचन हुँदैछ । यहाँ एकीकृत समाजवादीलाई केही सिट छोड्न सकिने प्रदेश इन्चार्ज लीलामणि पोखरेलले बताए । अघिल्लो निर्वाचनमा जितेका स्थानमा विरासत कायमै राख्न थप मेहनत गर्ने उनको भनाइ छ ।

बागमती

संघीय राजधानीसमेत रहेको काठमाडौँमा कीर्तिपुर नगरपालिकालाई माओवादीले विशेष ध्यान दिएको छ । भौगोलिक र सांस्कृतिक वैभवले भरिपूर्ण यस नगरपालिकालाई कांग्रेस र एमालेले प्रतिष्ठाको विषय बनाएका छन् । अघिल्लो पटक यो नगरपालिकाको मेयर कांग्रेसले जितेको थियो भने माओवादी तेस्रो स्थानमा थियो ।

माओवादीले मेयर पदका लागि पुरानै अनुहारलाई दोहो¥याएको छ । प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले कीर्तिपुरमात्र नभइ गौरीशंकर गाउँपालिका, ककनी गाउँपालिकालाई समेत विशेष ध्यान दिएको बताए ।

पहिलाको विरासतलाई जोगाएर थप एक/दुई सिट जित्ने पौडेलको दाबी छ । रिक्त ४४ सिटमध्ये कम्तीमा १०/१२ सिट माओवादीले जित्ने सम्भावना रहेको उनले बताए ।

यो प्रदेशका कीर्तिपुर नगरपालिकाका प्रमुख (काठमाडौँ), गौरीशंकर गाउँपालिका उपाध्यक्ष (दोलखा), कीर्तिपुर नगरपालिका–१ (काठमाडौँ), कीर्तिपुर नगरपालिका–४ (काठमाडौँ), ककनी गाउँपालिका–२ (नुवाकोट), हेटौंडा उपमहानगरपालिका–१२ (मकवानपुर), काठमाडौँ महानगरपालिका–१६ (काठमाडौँ) मा उपनिर्वाचन हुँदैछ ।

गण्डकी

गण्डकीको गोरखा नगरपालिका– ५(गोरखा) मा निर्वाचन हुँदैछ । यहाँ माओवादीले विष्णु राना मगरलाई उम्मेदवार बनाएको छ ।

लुम्बिनी

यसैगरी लुम्बिनीको मुसिकोट नगरपालिका–१(गुल्मी), रुन्टीगढी गाउँपालिका–४ (रोल्पा), पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष (रुकुमपूर्व), पुथा उत्तरगंगा–२ (रुकुमपूर्व), शुद्धोधन गाउँपालिका (कपिलवस्तु), ठाकुरबाबा नगरपालिका–४(बर्दिया) मा उपनिर्वाचन हुँदैछ ।

रोल्पा र रुकुमपूर्व बाहेकका स्थानमा एकीकृत समाजवादीसँग मिल्न सकिने नेताहरूले बताएका छन् । नेकपाका नेताहरूले पनि साथ दिने विश्वासमा माओवादी छ ।

कर्णाली

माओवादी आधार क्षेत्र कर्णालीमा महाबु गाउँपालिका अध्यक्ष (दैलेख), दुल्लु नगरपालिका–१३ (दैलेख), तिलागुफा नगरपालिका–४ (कालिकोट), नलगाड नगरपालिका उपप्रमुख (जाजरकोट), कुसे गाउँपालिका–७ (जाजरकोट), सानीभेरी गाउँपालिका–५ (रुकुमपश्चिम), त्रिपुरासुन्दरी नगरपालिका–५ (डोल्पा), सर्केगाँड गाउँपालिका उपप्रमुख (हुम्ला) मा उपनिर्वाचन हुँदैछ । तर यहाँ कोहीसँग पनि सहकार्य नहुने इन्चार्ज कालीबहादुर मल्लले बताए ।

सुदूरपश्चिम

सुदूरपश्चिममा माओवादीले जित्न सक्ने आधार भेटाएको छैन । यद्यपि सबै ठाउँमा उम्मेदवारी दिने गरी सिफारिस गरेको छ ।

यहाँ स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष (बाजुरा), सुर्मा गाउँपालिका–४ (बझाङ), पूर्वीचौकी गाउँपालिका–६ (डोटी), दुहुँ गाउँपालिका–५ (दार्चुला), भीमदत्त नगरपालिका–६ (कञ्चनपुर)मा उपनिर्वाचन हुँदैछ ।

समाजवादी मोर्चामा आबद्ध भएका हिसाबले विप्लव नेतृत्वको नेकपा र एकीकृत समाजवादीले आवश्यकता हेरेर माओवादीका उम्मेदवारलाई समर्थन गर्ने नेताहरूले बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप