खानेपानी योजना सञ्चालन गर्न आर्थिक सहयोग सङ्कलन
खोटाङ । वर्षौंदेखि बन्द खानेपानी योजना सञ्चालन गर्न यहाँको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका स्थानीयवासीले सांस्कृतिक कार्यक्रम गरी सहयोग रकम सङ्कलन गरेका छन् । सहरबोटे खानेपानी योजना पुनःसञ्चालनमा ल्याउन आर्थिक सहयोग सङ्कलन गर्ने उद्देश्यले उपभोक्ताले हरिबोधिनी एकादशीका अवसरमा सांस्कृतिक कार्यक्रम आयोजना गरेका थिए ।
हलेसी तुवाचुङ नगरपालिका प्रमुख विमला राईको उपस्थितिमा सर्वदलीय बैठक बसी उक्त योजना सञ्चालन गर्न चेसकुमार राईको संयोजकत्वमा आर्थिक सङ्कलन मूल समिति गठन गरिएको थियो । हरेक योजनाका लागि सरकारको मुख ताक्ने प्रवृत्ति रोक्न उपभोक्ताले स्वतःस्फूर्त अग्रसरता देखाएका हुन् ।
सांस्कृतिक कार्यक्रममार्फत रु तीन लाख १७ हजार सात सय १६ सङ्कलन भएको समितिका संयोजक राईले जानकारी दिए । अभियान केही दिनसम्म सञ्चालन हुने समितिले जनाएको छ ।
सहरबोटे मुहानको पानी च्यास्मीटार र बडहरे लैजान विसं २०६२ मा १८ रोपनी खेतसहित खरिद गरिएको थियो । खरिद गरिएको १९ वर्षसम्म एक व्यक्तिका नाममा राखिएको खेतसहितको मुहान नगरप्रमुख राईको पहलमा गत कात्तिक ७ गते वडा कार्यालय च्यास्मीटार र बडहरेका नाममा नामसारी गरिएसँगै समुदायको सहभागितामा योजना सञ्चालनको तयारी थालिएको हो ।
बडहरे र च्यास्मीटारका दुई सय घरपरिवारका लागि खानेपानी सुविधा उपलब्ध गराउन विसं २०६५ मा सुरु गरिएको योजना विसं २०७० माघमा पूरा भएको थियो । करिब रु ८१ लाख खर्च गरेर सञ्चालनमा ल्याइएको खानेपानी योजना नियमित मर्मत नहुँदा बन्द भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यराति कालिकोटमा भूकम्पको धक्का
-
विद्युत प्राधिकरणको हेटौंडास्थित जिन्सी व्यवस्थापन शाखाबाट ११ करोडको सामान गायब
-
१२ बजे, १२ समाचार : बयानमा रविले गरे २६ प्रश्नको सामनादेखि रास्वपाद्वारा बालेनसँग सम्वाद गरेको स्वीकारसम्म
-
नासाको ‘पार्कर सोलार प्रोब’ सूर्यको सबैभन्दा नजिक पुग्यो
-
पोखराको फेवाताल किनारमा शनिबारदेखि सडक महोत्सव
-
बराहक्षेत्र मन्दिर परिसर बाढीको जोखिममा