शुक्रबार, १९ पुस २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

बुधबार, २८ कात्तिक २०८१, २२ : ००
बुधबार, २८ कात्तिक २०८१

आज २०८१ कार्तिक २८ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

  • कुलमानको पत्रकार सम्मेलन

बुधबार नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन गर्दै आफूले डेडिकेटेड र ट्रंकलाइनको महसुलबारे गरेका हरेक निर्णय कानुनसम्मत भएको बताए । विद्युत् प्राधिकरणले ऐन, नियम र कानुनअनुसार नै महसुल नतिर्ने उद्योगहरूमा लाइन काटेको घिसिङको भनाइ थियो ।

  • संयन्त्रमाथि प्रश्न

सरकार सञ्चालन गर्न सहजीकरण गर्न भन्दै सत्तारुढ दल कांग्रेस र एमालेले तिहारको छेको पारेर गठन गरेको दुई दलीय संयन्त्रको पहिलो बैठककै निर्णयमा प्रश्न उठेको छ । कात्तिक २१ गते बसेको संयन्त्रको पहिलो बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको संयोजन प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको निर्देशनमा परराष्ट्रमन्त्री आरजु राणा देउवाले गर्ने निर्णय गरेको थियो ।

  • बाढीले क्षति

 असोजको दोस्रो साता परेको अविरल वर्षासँगै आएको बाढीले देशैभर ४३ राजमार्गको ८१९ स्थानमा सडक अवरुद्ध भएको थियो । जसमध्ये ३६६ स्थानमा अस्थायी रूपमा पुनः निर्माण गरेपछि दुवैतर्फी सञ्चालनमा आएको छ । 

  • आलोचना खेप्दै

कार्तिक २५ गते पोखरा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डीपी अर्यालले आक्रामक अभिव्यक्ति दिए । अर्यालले सभापति लामिछाने जिउँदो छँदासम्म अर्को विकल्प सोच्न नसकिने प्रस्ट पारे । ‘म यही मञ्चबाट के भन्न चाहन्छु भने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछाने जिउँदो रहँदासम्म रवि लामिछाने नै हो,’ उनले भने ।

  • चुरे उत्थानशील आयोजना

नेपालमा चुरे उत्थानशील आयोजना लागु भएको तीन वर्ष भएको छ । तर आर्थिक प्रगति भने जम्मा १८ प्रतिशतमात्रै छ । ११ जिल्लाका २६ वटा नदी तथा नदीका वरिपरिको क्षेत्र संरक्षणका लागि आयोजना लागु भएको हो । तर यो आयोजनाको कार्यान्वयन लक्ष्यअनुसार हुन सकेको छैन ।

  • धर्मशाला विवाद

 काठमाडौँ जिल्ला अदालतले पशुपतिनाथ विकास कोषको गौशाला धर्मशाला विवादमा सुनाएको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ । जिल्ला न्यायाधीश कलमप्रसाद पोखरेलले २०८१ असोज १६ गते सुनाएको फैसलाको पूर्णपाठ हालै सार्वजनिक भएको हो । फैसलामा गौशाला धर्मशालामा मारवाडीहरूको कुनै पनि हक नभएको व्याख्या गरिएको छ ।

  • नेपाल विश्वकपमा

अप्ठ्यारो परिस्थितिबिच आफू अनुकूलको नतिजा निकाल्दै नेपाल आईसीसी यू–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ । नेपालले अब सन् २०२५ को जनवरीमा मलेसियामा आयोजना हुने यू–१९ महिला विश्वकप खेल्नेछ ।

  • सक्रिय राजनीति

पूर्वउपराष्ट्रपति एवं पूर्व जनमुक्ति सेनाका कमान्डर नन्दकिशोर पुन 'पासाङ' माओवादी केन्द्रमा फर्किन लागेका छन् ।  पासाङलाई पार्टीको पदाधिकारीमा महत्त्वपूर्ण जिम्मेवारी दिनेगरी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सहमति भएको स्रोतले बताएको छ । उनी २०७२ सालमा उपराष्ट्रपतिमा निर्वाचित भएपछि माओवादीबाट अलग भएका थिए । २०७९ को निर्वाचनपछि आफ्नो दोस्रो कार्यकाल सकिएसँगै उनी निष्क्रिय रहँदै आएका थिए ।

  • सहकारी ठगी प्रकरण

 बुटवलको सुप्रिम सहकारीको रकम सङ्गठित रूपमा ठगी गरेको आरोप लागेका पूर्वगृहमन्त्री रवि लामिछानेसँग जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले बुधबार दोस्रो दिन बयान लिएको छ । रविको बयान नसकिएकाले बिहीबार (भोलि) पनि जारी रहने जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफ्नो प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा पत्नीसँगको डिभोर्सबारे पनि प्रष्टीकरण दिएका छन् ।  मितेरी सहकारी ठगीबारे उनको संलग्ता रहेको र सम्बन्ध विच्छेद नै किर्ते गरेको बारे प्रश्न उठिरहेको बारे उनले भनेका छन्,‘ मैले कानुनी रूपमा डिभोर्स पनि गरेको हुँ । किर्ते गरेको होइन ।’

  • ‘ग्रीन सिग्नल’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेको चार महिना पूरा हुँदैछ । तर ओली नेतृत्वको एमाले र सत्ता साझेदार अर्को मुख्य दल नेपाली कांग्रेसका नेता–कार्यकर्ता भने सरकारले प्रभावकारी काम गर्न नसकेको बताउँदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप