बिहीबार, ०६ मङ्सिर २०८१
ताजा लोकप्रिय
सहकारी ठगी प्रकरण

इन्कारी बयान दिए रविले, आफ्नो बचाउ गर्दै अरुमाथि थुपारे दोष

भोलि पनि बयान जारी रहने
बुधबार, २८ कात्तिक २०८१, २० : २५
बुधबार, २८ कात्तिक २०८१

बुटवल । बुटवलको सुप्रिम सहकारीको रकम सङ्गठित रूपमा ठगी गरेको आरोप लागेका पूर्वगृहमन्त्री रवि लामिछानेसँग जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले बुधबार दोस्रो दिन बयान लिएको छ । रविको बयान नसकिएकाले बिहीबार (भोलि) पनि जारी रहने जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।

जिल्ला सहकारी वकिलको कार्यालय रुपन्देहीका  न्यायाधिवक्ता प्रेमराज पौडेलले दुई दिन बयान लिइए पनि अझै पूर्ण नभएकाले भोलि पनि बयान लिने रातोपाटीलाई बताए ।

पौडेलले प्रश्न सोध्ने क्रम करिब अन्तिम चरणमा पुगे पनि  नम्बरिङको काम नभएको जानकारी दिए । जिल्ला सरकारी वकिलको कार्यालयमा आज लिएको बयानमा इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजय पण्डित, जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेल र केही अनुसन्धान अधिकृतहरूले रवि लामिछानेसँग सोधपुछ गरेका थिए ।

रविलाई आज जिल्ला प्रहरी कार्यालय रुपन्देहीमै राखिने  एसपी रञ्जित सिंह राठौरले बताए । मंगलबार दिउँसो पोखराबाट भैरहवा ल्याइएका लामिछानेसँग हिजोदेखि नै बयान लिन सुरु गरिएको हो ।

रवि लामिछानेलाई आज बिहान १० बजेर १० मिनेट जाँदा बयानका लागि सरकारी वकिलको कार्यालयमा लगिएको थियो । उनलाई साँझ ७ बजेसम्म बयान लिएर जिल्ला प्रहरी कार्यालयमा लगिएको छ ।

आरोप अस्वीकार गरे रविले

दुई दिनसम्म जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा दिएको बयानमा रविले सुप्रिम सहकारी प्रकरणमा निर्दाेष रहेको जिकिर गरेका छन् । उनले सहकारी सम्बन्धी सङ्गठित रूपमा रकम हिनामिनामा  आफ्नो संलग्नता नरहेको भन्दै बचाउ गरेका छन् ।

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको विषयमा सङ्गठित ठगी गरेको आरोप  लागेका रविले सहकारीको रकम लैजान आफ्नो कुनै भूमिका नरहेको बताएका हुन् । स्रोतका अनुसार सुप्रिम सहकारीको रकम गोर्खा मिडियामा कसरी पुग्यो भन्नेबारे सोधिएको प्रश्नमा रविले यसबारे सम्पूर्ण काम जीबी राईले गरेकाले आफूलाई जानकारी नरहेको बताएका छन् ।

‘कुन–कुन सहकारीबाट पैसा लिएको छ, त्यो हेर्ने काम  मेरो थिएन । सहकारी सम्बन्धी हेर्ने जीबी हुन् भनेर रविले बयान दिएका छन्,’ स्रोतले भन्यो, ‘आफू सहकारीको सदस्य या ऋणी नभएकाले आफ्नो नाममा लगेको पैसाबारे केही थाहा नभएको रविले बताएका छन् ।’

स्रोतका अनुसार आफूले पैसा लैजान कतै हस्ताक्षर नगरेको, ऋण नमागेको र कुनै निवेदन समेत नदिएको जिकिर गर्दै रविले सहकारीको रकम हिनामिनामा आफ्नो कसरी संलग्नता हुन्छ भन्दै बयानका क्रममा प्रतिप्रश्नसमेत गरेका छन् ।

रविको बयान भोलि सकेर कास्की प्रहरीसमक्ष फिर्ता पठाउने तयारी भइरहेको स्रोतको भनाइ छ ।

आन्दोलनका कार्यक्रम स्थगित

रविलाई भैरहवामा ल्याएपछि पक्ष र विपक्षमा भएका आन्दोलनमा कार्यक्रम स्थगित भएका छन् । मंगलबार दिनभर भैरहवामा सहकारी पीडित र रविको दल राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले आन्दोलन गरेका थिए ।

बुधवार रास्वपाका कार्यकर्ताहरूले विरोध प्रदर्शन गरे पनि सहकारी पीडितहरूले आन्दोलन गरेनन् । भोलि रविको पक्षमा सभा नगर्ने रास्वपा लुम्बिनी प्रदेशका उपाध्यक्ष शालिकराम घिमिरेले बताए ।

यता सुप्रिम सहकारी पीडित संघर्ष समितिले बुधबार भैरहवामा जुलुस निकालेन भने भोलि पनि सडक संघर्षको कार्यक्रम ल्याउने सम्भावना नरहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप