डेडिकेटेड र ट्रंकलाइन महसुल विवाद झन् गिजोलियो
काठमाडौँ । बुधबार नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन गर्दै आफूले डेडिकेटेड र ट्रंकलाइनको महसुलबारे गरेका हरेक निर्णय कानुनसम्मत भएको बताए । विद्युत् प्राधिकरणले ऐन, नियम र कानुनअनुसार नै महसुल नतिर्ने उद्योगहरूमा लाइन काटेको घिसिङको भनाइ थियो ।
उनले भने, ‘प्राधिकरण ऐन, नियमभन्दा एक इन्च बाहिर गएको छैन । तर मन्त्रिपरिषद्ले नै लाइन जोड्ने निर्णय गरेकाले त्यसको पालना गर्नु हाम्रो कर्तव्य हो ।’ घिसिङको यो भनाइ र सम्मेलनमा उनको हाउभाउ हेर्दा लाइन जोड्ने निर्णयप्रति उनी खुसी छैनन् भन्ने प्रस्ट झल्किन्थ्यो ।
कुलमानले पत्रकार सम्मेलनमार्फत यस्तो भन्दै गर्दा काटिएका उद्योगमा प्राधिकरणले लाइन जोडिरहेको थियो । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले डेडिकेटेड र ट्रंक लाइनको महसुल नतिरेर काटिएका उद्योगमा २४ घण्टाभित्र लाइन जोड्ने निर्णय गरेको थियो । बैठकले टाइम अफ डे (टीओडी) मिटरका आधारमा १५ दिनभित्र बक्यौता उठाउने निर्णय पनि गरेको थियो ।
यही निर्णयलाई थप व्याख्या गर्न सोमबार ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणको बोर्ड बैठक बोलाए । दिउँसो ३ बजे बोलाइएको बैठक एक घण्टा ढिला गरी बस्यो । तर ८ सदस्यीय बोर्डमा जम्मा ४ जना मात्रै उपस्थित भएपछि बैठकले औपचारिकता पाउन सकेन । अनौपचारिक बैठकमै प्रबन्ध निर्देशक घिसिङले कम्तीमा बक्यौताको पहिलो किस्ता तिरेपछि मात्रै लाइन जोड्नुपर्ने आफ्नो पुरानै अडान दोहोर्याए ।
कोरम नपुगेर औपचारिकता पाउन नसकेपछि ऊर्जामन्त्री खड्काले मंगलबार बिहान साढे ११ बजे पुनः बोर्ड बैठक बोलाए । उक्त समयमा पनि बोर्डका सदस्यहरू उपस्थित भएनन् । त्यसपछि ऊर्जा मन्त्रालयका अधिकारीहरू फोन गरेरै उपत्यका बाहिर रहेका सदस्यहरूलाई काठमाडौँ आउन निर्देशन दिए । अन्ततः दिउँसो करिब ३ बजे प्राधिकरणको बोर्ड बैठक बस्यो । प्राधिकरणको बोर्डमा ऊर्जामन्त्री अध्यक्ष र प्राधिकरणका प्रबन्ध निर्देशक सदस्य सचिव हुने व्यवस्था छ ।
बैठक सुरु हुनसाथ ऊर्जामन्त्री र प्रबन्ध निर्देशक घिसिङबीच फरकफरक धारणा प्रस्तुत भयो । बोर्डका एक सदस्यका अनुसार मन्त्रीले सुरुमै मन्त्रिपरिषद्को निर्णय ४८ घण्टा हुनै लाग्दासमेत किन कार्यान्वयन नभएको भनी घिसिङलाई प्रश्न गरे । घिसिङले चाहिँ निर्णय २४ घण्टापछि मात्रै कार्यालयमा पुगेको र बोर्ड बैठक बस्ने भनेपछि सोहीअनुसार आफू अगाडि बढेको प्रतिक्रिया दिए । घिसिङले अगाडि थपे, ‘मन्त्रिपरिषद्ले नै जोड्ने निर्णय गर्यो । तपाईं (मन्त्रीस्तरीय) निर्णयले पटक पटक लाइन जोड्न निर्देशन दिएकाले सरकारको निर्णय मान्नु प्राधिकरणको दायित्व ठानेर कार्यान्वयन गर्छु । तर डेडिकेटेड र ट्रंकलाइनको महसुल कानुनी रूपमा उठाउने कुरामा तलमाथि हुन दिन्नँ ।’
कुलमानले मन्त्री खड्कालाई महसुल नउठाउने हो भने नियमनकारी निकाय, ऊर्जा मन्त्रालय र मन्त्रिपरिषद्बाट निर्णय गराउन चुनौती समेत दिएको एक सदस्यले बताए । बैठकमा कुलमानले भनेका थिए, ‘प्राधिकरणले ऐन, नियमभन्दा बाहिर रहेर बिल काटेको छैन । यो मेरो लागि गरिएको पनि होइन । राज्यको सेवा उपभोग गरेवापत् पैसा तिर्नुपर्दैन भन्ने लाग्छ भने मन्त्रिपरिषद्बाट निर्णय गराउनुस् हामी पालना गर्छौँ ।’
कुलमानको चुनौतीपछि ऊर्जामन्त्री झोक्किए र टीओडी मिटरमा आधारमा उठाउने निर्णय भएकाले सोही अनुसार गर्न निर्देशन दिए । त्यसपछि अरू सदस्यहरूले भनाइ राखे । अन्ततः बोर्डले लाइन जोड्ने निर्णय गर्यो र प्राधिकरणले मंगलबार राति करिब ११ बजेदेखि उद्योगहरूमा क्रमशः लाइन जोड्न थाल्यो ।
त्यसो त मन्त्रिपरिषद्ले निर्णय गर्नुअघि यो विषय लगभग सल्टिसकेको थियो । प्राधिकरणले दिएको जानकारी अनुसार लोडसेडिङको समयमा ३३९ वटा उद्योगले डेडिकेटेड तथा ट्रंक लाइनको सुविधा उपभोग गरेका थिए । त्यसमध्ये अरूले महसुल तिरिसकेका छन् । पटक पटकको सूचना र चेतावनीपछि कात्तिक ८ गते प्राधिकरणले ३४ उद्योगको लाइन काटेको थियो । यसमध्ये पनि २ उद्योगले लाइन काटेपछि महसुल पूरै तिरेको र ४ उद्योगले किस्तामा तिर्न सुरु गरेपछि प्राधिकरणले लाइन जडान गरिदियो । कुलमानले यही नजिरलाई टेकेर भन्दै आएका छन्, ‘प्राधिकरणले पठाएको बिल गलत थियो भने यत्रो उद्योगले किन महसुल तिरे ?’
करिब ३०० उद्योगले डेडिकेटड र ट्रंक लाइनको महसुल तिरे पनि २८ ठुला उद्योग भने अन्तिम अवस्थामा पनि नतिर्ने पक्षमा गए । यसका लागि उनीहरूले राजनीतिक लबिङ गरे । ऊर्जा मन्त्रालयका उच्च अधिकारीदेखि ठुला दलका केही शीर्ष नेतालाई पटक पटक भेटे । अन्ततः सरकारले लाल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भन्दै महसुल नतिरेका उद्योगमा पनि लाइन जोड्ने मन्त्रिपरिषदबाटै निर्णय गर्यो ।
मन्त्रिपरिषद्को निर्णय कानुनसरह हुने भएकाले उक्त निर्णय मान्न नेपाल विद्युत् प्राधिकरण बाध्य भयो । तर प्राधिकरणको नेतृत्व गरिरहेका प्रबन्ध निर्देशक कुलमान घिसिङले भने कानुनअनुसार डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाएरै छोड्ने बताएका छन् । बुधबारको पत्रकार सम्मेलनमा उनले त्यसको छनक दिए । घिसिङले भने, ‘सरकारले १५ दिनको समय दिएको छ । त्यसकारण प्राधिकरणले पठाएको बिलअनुसार उद्योगीहरूले बिल तिर्नुहुन्छ । यदि यो समयमा पनि तिर्नु भएन भने हामी प्रक्रियाअनुसार अगाडि बढ्छौँ ।’ यसरी कुलमानले घुमाएर १५ दिनमा पनि महसुल बुझाउन नआए फेरि लाइन काट्ने चेतावनी दिइसकेका छन् ।
त्यसो त डेडिकेटेड र ट्रंकलाइन विवादको विषयमा प्राधिकरण र उद्योगीहरू लगभग सहमतिमा पुगिसकेका थिए । अघिल्लो हप्ता बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले मध्यमार्गी उपाय निकाल्दै ५६ किस्तामा महसुल तिर्न सकिने र चित्त नबुझेमा ५ प्रतिशत धरौटी राखेर प्रशासकीय पुनरावलोकनमा जाने निर्णय गरेको थियो । यसमा उद्योगीहरू सहमत थिए । तर अचानक क्याबिनेटले यसलाई गिजोल्यो । बुधबारको पत्रकार सम्मेलनमा कुलमानले किस्ताको कुरा फेरि दोहोर्याए । उनले उद्योगीहरूलाई भने, ‘एकैपटक बुझाउनुपर्छ हामीले भनेका छैनौँ । कम्तीमा एउटा किस्ता बुझाउनुस् । राज्यको प्रिमियम सुविधा प्रयोग गरेपछि शुल्क पनि सोही अनुसार तिर्नुपर्छ भन्ने बुझ्नुस् ।’