पूर्वउपराष्ट्रपति पासाङ माओवादी बैठकमा जान थाले
काठमाडौँ । पार्टीको सक्रिय राजनीतिमा फर्किन लागेका पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ नेकपा माओवादी केन्द्रको आन्तरिक बैठकमा सहभागी हुन थालेका छन् । उनी कात्तिक २६ गते बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको बैठकमा समेत उपस्थित भएको पाइएको छ ।
‘अतिथि’को रूपमा बैठकमा सहभागी भएका उनले पार्टीमा आफ्नो भूमिकाबारे चासो राखेको एक पदाधिकारीले जानकारी दिए । सो बैठकमा पासाङ पार्टीमा स्थान खोज्नुका साथै ‘म पार्टीको मान्छे हो कि होइन’ भनेर नेताहरूलाई प्रश्न गरेको ती पदाधिकारीको भनाइ छ ।
‘पासाङजी अतिथिका रूपमा बैठकमा सहभागी हुनुभएको थियो । उहाँले हामीसँग मेरो पार्टीमा हैसियत के हुन्छ ? मलाई कुन जिम्मेवारी दिने हो भनेर प्रश्न गर्नुभएको थियो’, ती पदाधिकारीले भने । उनका अनुसार बैठक सकिने बेला भने उनी सञ्चारकर्मीलाई छल्दै खुमलटारबाट बाहिरिएका थिए ।
उनले बैठकमा आफू पार्टीको सक्रिय राजनीतिमा फर्किन चाहेको भन्दै राजनीतिक रूपमा सही गलत के हुन्छ भनेर सुझाव समेत मागेका थिए । सो क्रममा उनले पूर्वउपराष्ट्रपतिको रूपमा आफूले सरकारबाट कुनै सुविधा नलिएको समेत दाबी गरेका थिए ।
पासाङले सक्रिय राजनीतिमा फर्किने चाहना राखेपछि अध्यक्ष प्रचण्डले ‘राज्यले कुनै पनि सेवा सुविधा दिएको छ कि छैन’ भनेर प्रश्न गरेका थिए । सो प्रश्नको जवाफ दिने क्रममा उनले राज्यबाट कुनै सुविधा नलिएको दाबी गरेका हुन् । पासाङले सक्रिय राजनीतिमा फर्किने चाहना राखेपछि बैठकमा उनलाई पार्टी राजनीतिमा स्वागत गर्न मिल्छ कि मिल्दैन भन्ने विषयमा केहीबेर बहस चलेको थियो । सो क्रममा अमेरिका, भारत, युरोपेली मुलुक लगायत देशहरूको अभ्यासबारे समेत चर्चा चलेको थियो ।
त्यसपछि पनि भएका छलफलबाट अध्यक्ष प्रचण्ड र पासाङबीच उनी राजनीतिमा फर्किनेबारे सहमति जुटेको स्रोतले बतायो । उनी छिट्टै पार्टी राजनीतिमा औपचारिक रूपमा फर्किने बताइएको छ ।
नेकपा माओवादी केन्द्रका सचिव दीनानाथ शर्माले पदाधिकारी बैठकमा पासाङ सहभागी भएको पुष्टि गरे । ‘पासाङजी बैठकमा आउनुभएको थियो । तर सक्रिय राजनीतिमा फर्किने वा कुन पद दिने भन्ने विषयमा कुनै निर्णय भएको छैन’, शर्माले रातोपाटीसँग भने ।
अर्का एक नेताका अनुसार अध्यक्ष प्रचण्डसँग पासाङले उपाध्यक्ष पद मागेका छन् भने त्यसमा प्रचण्डले पनि सहमति जनाएका छन् । यद्यपि पासाङलाई दिने पदबारे पार्टीभित्र भने औपचारिक छलफलले प्रवेश पाइसकेको छैन । उपमहासचिव हरिबोल गजुरेलले आफूहरू पासाङलाई स्वागत गर्न तयार रहेपनि कुन पद दिने भन्नेमा निर्णय भइनसकेको बताए ।
‘पासाङजीलाई कुन पद दिने भन्नेमा पार्टीभित्र छलफलकै क्रममा छ । यस विषयमा पुसको पहिलो हप्ता बस्ने केन्द्रीय समिति बैठकले टुंग्यो लगाउनेछ । अहिले कुनै निर्णय भएको छैन’, उनले भने ।
तत्कालीन माओवादी जनयुद्धकालका डेपुटी कमान्डर पुनः माओवादी शान्ति प्रक्रियामा आएपछि सेना समायोजनमा नगएर राजीनामा प्रवेश गरेका थिए । जसअनुसार संसदीय राजनीतिमा लागेका उनी २०७२ सालमा उपराष्ट्रपतिमा निर्वाचित भएका थिए । त्यससँगै माओवादीबाट अलग भएका उनी २०७९ को निर्वाचनपछि उपराष्ट्रपति पदबाट बाहिरिएसँगै भने फेरि पार्टी राजनीतिमा आउन खोजेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई
-
बिहीबारदेखि सभापति कप फुटबल
-
सामाजिक सञ्जालबाट यौन दुर्व्यवहार गर्ने इन्ड्राइभ राइडर पक्राउ
-
बैतडीमा आगलागीबाट सात लाख बढीको क्षति