रोहित शर्माले आजैको दिन बनाएका थिए यो गजबको कीर्तिमान !
काठमाडौँ । आजभन्दा १० वर्षअघि आजकै दिन (नोभेम्बर १३ तारिख) भारतीय क्रिकेटर रोहित शर्माले अन्तर्राष्ट्रिय क्रिकेटमा एउटा गजबको कीर्तिमान बनाएका थिए । भारतीय क्रिकेटप्रेमी अहिले रोहित शर्मालाई ‘हिट म्यान’ भनेर सम्बोधन गर्छन् । उनले त्यो उपनाम पनि त्यही खेलमार्फत पाएका थिए ।
सन् २०१४ को नोभेम्बर १३ तारिखमा कोलकाताको एडन गार्डन्स स्टेडियममा भारत र श्रीलंकाबिच एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलिएको थियो । पाँच खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला अन्तर्गतको त्यो चौथो खेल थियो ।
त्यो खेलमा भारतले टस जिती पहिले ब्याटिङको निर्णय लिएको थियो । त्यो खेलमा भारतीय टोलीका कप्तान थिए, विराट कोहली । ओपनर ब्याट्सम्यानको भूमिकामा थिए, रोहित शर्मा । त्यो खेलमा रोहित शर्माले बनाएको विश्व कीर्तिमान हालसम्म कसैले तोड्न सकेको छैन ।
रोहित शर्मा एक्लैले त्यो खेलमा दुई सय ६४ रन बनाएका थिए । सुन्दा पनि अचम्मा लाग्ने यो स्कोर उनले केवल एक सय ७३ बलमा बनाएका थिए । उनले श्रीलंकाली टोलीका नुवान कुलशेकरा, एन्जेलो म्याथ्यूज, थिसरा परेरा, अजन्था मेन्डिस, तिलकरत्ने दिल्सानजस्ता धुरन्धर बलरलाई हायल–कायल बनाएका थिए ।
रोहित शर्माले श्रीलंकाली बलरहरुले फालेको प्रत्येकजसो बलमा बाउन्ड्री प्रहार गरेका थिए । त्यो खेलमा उनले छक्काबाट ५४ र चौकाबाट एक सय ३२ रन बटुलेका थिए । उनले नौवटा छक्का र ३३ वटा चौका प्रहार गरेका थिए ।
त्यो खेलमा विराट कोहलीले पनि ६६ रन बनाएका थिए । पहिले ब्याटिङ गरेको भारतीय टोलीले केवल पाँच विकेटको नोक्सानीमा चार सय चार रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको श्रीलंकाली टोली ४३.१ ओभरमा दुई सय ५१ रन बनाउँदै आउट भएको थियो ।
भारतले त्यो खेल एक सय ५३ रनले जितेको थियो । शृंखलाअन्तर्गत खेलिएको पाँचवटै खेलमा भारत विजयी भएको थियो । रोहित शर्माले त्यो खेलमा बनाएको कीर्तिमान लामो समयसम्म तोडिने सम्भावना देखिँदैन ।
त्यो खेलमा अन्ततः रोहित शर्माको विकेट श्रीलंकाली बलर कुलशेकराले लिएका थिए । कुलशेकराले रोहितलाई माहेला जयाबद्र्धनेद्वारा क्याच गराएका थिए । रोहित शर्मा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा तीनवटा दोहोरो शतक बनाउने खेलाडी पनि हुन् ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको एउटै पालीमा सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा रोहित शर्मापछि न्युजिल्यान्डका मार्टिन गप्टिल दोस्रो स्थानमा छन् । उनले सन् २०१५ को मार्च २१ तारिखमा खेलिएको वेस्ट इन्डिजविरुद्धको खेलमा अविजित दुई सय ३७ रन बनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ती भारतीय स्वतन्त्रताका सेनानी, जो नेपालको राणाशासनविरुद्ध लडेर सहिद भए
-
शैक्षिक जनशक्ति विकास परिषद्द्वारा तालिम पाठ्यक्रम स्वीकृत
-
चितवनमा हात्ती तथा पर्यटन महोत्सव सुरु, तस्बिरहरु
-
गौतम बुद्ध रंगशाला निर्माणका लागि रकम निकासा गर्ने बागमती सरकारको निर्णय
-
चुम्बन गर्दा सर्छ माउथ अल्सर ?
-
कर्मचारीका पार्टीगत ट्रेड युनियन हटाउन कांग्रेस–एमाले सहमत