शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

बागमती सरकारले जनताको आकांक्षा पुरा गर्न सकेन : नेता जम्कट्टेल

बुधबार, २८ कात्तिक २०८१, १४ : ३५
बुधबार, २८ कात्तिक २०८१

हेटौँडा । नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेलले सरकारले जनताको आकांक्षा पूरा गर्न नसकेको बताएका छन् । दुई ठुला दलहरू सम्मिलित सरकारले नागरिकको सामान्य अपेक्षा समेत पूरा गर्न नसकेको उनले बताए ।

बुधवार मुख्यमन्त्री बहादुरसिंह लामालाई सरकारका काम कारबाहीका विषयमा माओवादी केन्द्रको धारणा सहित ज्ञापनपत्र बुझाउने क्रममा नेता जम्कट्टेलले सरकार सङ्घीयताको मर्म र भावनाअनुसार सञ्चालन नभएकोमा टिप्पणी गरे । प्रदेश विकासको आकांक्षा र आवश्यकतालाई सम्बोधन गर्दै अगाडि बढ्नुपर्ने उनको भनाई छ ।

‘प्रदेश सरकार आफैँ छ वा छैन भन्ने अवस्थामा पुगेको महसुस भएको छ । नागरिकको गुनासोहरू सम्बोधन गर्न सकिएको छैन’ उनले भने, ‘प्रदेशको नागरिकको अपेक्षा र गुनासो प्रति गम्भीर बन्न सकेन । सरकारले सङ्घीयता र संविधान कार्यान्वयन, नागरिकको विकासको आकांक्षा पुरा गर्न सकेको छैन ।’

मुख्यमन्त्री लामालाई माओवादीको ८ बुँदे ज्ञापन पत्र

बागमती सरकारको कामकाज र सङ्घीयताका सवालका विषयमा माओवादी केन्द्रले ८ बुँदे मागसहित ज्ञापन पत्र बुझाएको छ । माओवादी केन्द्र संसदीय दलका नेता जम्कट्टेल, प्रमुख सचेतक रत्नप्रसाद ढकाल सहितका संासदहरुले मुख्यमन्त्री लामालाई ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्रमार्फत् गत असोज १४ मा र त्यसअघि बसेका सर्वदलीय बैठकले गरेका निर्णयहरू हुबहु कार्यान्वयन गर्नुपर्ने माग माओवादी केन्द्रले अघि सारेको छ । सङ्घीयताको संस्थागत शुद्धीकरण, सुशासन र तीव्र विकासमा केन्द्रित हुन नसकेको, प्रदेश सरकारको जिम्मेवार बन्न नसक्दा पहिलो त्रैमासिक प्रगति प्रतिवेदन सन्तोषजनक नभएको माओवादीको ज्ञापन पत्रमा उल्लेख छ ।

सरकारको कामबाट जनता चरम निराशामा रहेको, युवा शक्ति बिदेसिने दर बढिरहेको अवस्थामा सुशासनको अपेक्षा समेत गर्न सक्ने अवस्था नरहेको माओवादी केन्द्रको भनाई छ । सरकारले गत असोज ११ र १२ गते आएको बाढी पहिरोले क्षति व्यहोरेका नागरिकहरूलाई त्यसलाई सम्बोधन गर्न नसकेको माओवादी केन्द्रको निष्कर्ष रहेको छ ।

प्रतिपक्ष दलले उठाएका जायज सवालहरूलाई तत्कालै कार्यान्वयनमा ल्याउन माओवादी केन्द्रले सरकारसँग माग गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप