बिहीबार, ०६ मङ्सिर २०८१
ताजा लोकप्रिय

पोखरा र बुटवलमा कन्सर्ट गर्दै कालीप्रसाद

बुधबार, २८ कात्तिक २०८१, १४ : ०७
बुधबार, २८ कात्तिक २०८१

काठमाडौँ । नेपालका चर्चित सङ्गीतकार तथा गायक कालीप्रसाद बासकोटा आफ्नो साङ्गीतिक करियर १५ वर्ष पुगेको अवसर पारेर पोखरा र बुटवलमा गुञ्जने भएका छन् । नवीन शैलीका गीत गाउन र तयार पार्न रुचाउने कालीप्रसाद आफ्नो ब्यान्ड साथीभाइसहित पोखरा र बुटवलमा गुञ्जन लागेका हुन् ।

काली र उनको ब्यान्ड साथीभाइ यही शुक्रवार पोखराको लेक साइडमा अवस्थित किङ्स लन्ज पोखरामा साङ्गीतिक प्रस्तुति दिँदैछन् । यहाँ उनीहरूको ब्यान्डको तेस्रो प्रस्तुति हुनेछ । किङ्स लाउन्ज पोखराले कालीका फ्यानहरूबाट उनलाई पुनः सुन्ने चाहना राखेपछि काली र उनको ब्यान्डको कार्यक्रम राखिएको जनाएको छ ।

काली र उनको ब्यान्डले पोखरापछि शनिवार बुटवलको द कन्सेप्ट क्लब एन्ड पबमा आफूलाई प्रस्तुत गर्नेछ । पोखरा र बुटवलमा काली र उनको ब्यान्डले उनले ‘निर जहिल्यै रिसाउनी’, ‘अजम्बरी लाउला पिरती’, ‘माया रैछ र भर रैछ नि’ र ‘जीवन जात्रा हो’ लगायतका लोकप्रिय गीत सुनाउनेछन् । पोखरा र बुटवलपछि काली र उनको ब्यान्डले निकट भविष्यमै सुनसरी, झापा, चितवनलगायतका स्थानमा आफूलाई गुञ्जाउँदैछन् । यसअघि उनीहरुले काठमाडौँसहित ललितपुर, मोरङ, सुनसरी, धनकुटा र भोजपुरमा प्रस्तुति दिइसकेका छन् ।

‘यो टुरले मेरो व्यक्तिगत उपलब्धिलाई मात्र उत्सवका रूपमा मनाउँदै छैन, यसले नेपाली सङ्गीतको वृत्ति विकासलाई पनि उजागर गर्नेछ । हाम्रो टुरले फ्यानमाझ पुराना र नयाँ गीत पस्कनेसँगै मेरो यात्रा, करियर, गीत सिर्जनाका अविस्मरणीय क्षणलाई दर्शकमाझ प्रस्तुत गर्नेछ’, काली भन्छन् ।

कालीप्रसादको नेपाल टुरको व्यवस्थापन पीभीई नेटवर्कले गर्नेछ । नेटवर्कले चार वर्षदेखि काली र उनको ब्यान्डको व्यवस्थापन हेर्दै आएको छ । आफ्नो नवीन शैलीका लागि परिचित कालीप्रसादले नेपाली सम्पदाका समृद्ध तत्त्वहरूसँग समसामयिक ध्वनिहरू मिसाएर नेपाली फिल्मका सङ्गीतलाई पुनः आकार दिएका छन् ।

उनका गीत परिवारदेखि समाज हुँदै राष्ट्र र अन्तर्राष्ट्रिय क्षेत्रमा लोकप्रिय छन् । उनको १५ वर्षे करियरको उत्सवमा हातेमालो गर्न पाउँदा हामी उत्साहित छौँ’, पीभीई नेटवर्कका विकेश कायस्थ भन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप