आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

गाउँ र सहरबिचको खाडल कसरी पुर्ने ?

बुधबार, २८ कात्तिक २०८१, १३ : ४६
बुधबार, २८ कात्तिक २०८१

प्राकृतिक सौन्दर्य र विविध सांस्कृतिक धरोहरका लागि प्रसिद्ध छ हाम्रो देश । यद्यपि यतिखेर गाउँका युवाहरुले विदेश र सहरबजारतिर अवसर र भविष्य खोज्दा गाउँको जनसंख्या घट्दो छ । गाउँहरूबाट युवाहरूको पलायनले गर्दा उर्वर भूमिहरू बाँझिन थालेका छन् । 

पहिले धान, गहुँ र कोदो बालीमा चल्ने हावाले समृद्धिको कथा सुनाउँथ्यो, तर ती कतिपय ठाउँ उराठलाग्दा देखिन्छन् । कतिपय स्थानमा बाँदरले रजाइँ गरिरहेका छन् ।

यता सहरहरूमा छोराछोरी पढाउन वा कुनै काम–पेसा गर्न मानिसहरुको चाप बढ्न थालेको देखिन्छ । सहरहरूमा जनसंख्या अत्यधिक बढिरहेको छ, जसले गर्दा अति भीडभाड र धेरै समस्या उत्पन्न भएका छन् । खासगरी डेरा भाडा अकासिएको छ । मानिसहरु सोच्लान् कि गाउँको दुःखबाट उम्कियौँ, तर सहरमा तिनको कमाइ पूरै भाडा तिर्नमै सकिन्छ । तर यी सबै समस्याका बाबजुद मानिसहरू अझै पनि सहरतिर दौडिरहेका छन्— राम्रो अवसर, शिक्षा र सुविधा खोज्दै ।

गाउँहरू भने यी सुविधाहरूको कमीले ग्रस्त छन् । कतिपय गाउँमा कोही दुर्घटनामा परे वा गम्भीर बिरामी भए समयमै उपचार पाउने सम्भावना ज्यादै कम हुन्छ । रोजगारी, स्वरोजगारी र अन्य सेवा–सुविधाको अभावका कारण मानिसहरु गाउँमा बस्न चाहँदैनन् । जति युवाहरु गाउँघरमा बसिरहेका छन्, उनीहरुका लागि सरकारले रोजगार तथा स्वरोजगारका कार्यक्रम ल्याउन सकेको छैन । ग्रामीण अर्थतन्त्रको आधार कृषिको प्रवद्र्धन गर्न सकिएको छैन । कतिपय गाउँमा आधुनिक कृषि प्रविधि पुगेको छैन अर्थात् गाउँगाउँमा सरकारको उपस्थिति खासै देखिँदैन । 

मानिसहरु सोच्लान् कि गाउँको दुःखबाट उम्कियौँ, तर सहरमा तिनको कमाइ पूरै भाडा तिर्नमै सकिन्छ । तर यी सबै समस्याका बाबजुद मानिसहरू अझै पनि सहरतिर दौडिरहेका छन्— राम्रो अवसर, शिक्षा र सुविधा खोज्दै ।

भ्रष्टाचारले स्थिति झन् जटिल बनाएको छ । संघदेखि स्थानीय सरकारको बजेटको सदुपयोग भएको देखिँदैन । शिक्षा र स्वास्थ्यजस्ता आधारभूत कुरामा सरकारले गाउँगाउँमा प्रभावकारी ढंगले कार्य गरेको देखिँदैन । सामुदायिक विद्यालयमा त्यति विद्यार्थी देखिँदैनन् । गाउँघरमा पहिलेजस्तो सांस्कृतिक तामझाम पनि देखिँदैन । 

गाउँको जनसंख्या घट्दै गर्दा यता सहरतिर सम्पत्तिको मूल्य अकासिएको छ । कतिपय मानिस गाउँका पुख्र्यौली सम्पत्ति बेचेर सहर–बजार चाप्दै छन् । सहरमा गएपछि नयाँ समस्यामा अल्झिनुपर्छ, हाम्रा धेरै सहरमा वायुको गुणस्तर खस्केको छ । धुलोधुवाँ एकातिर छ, अर्कोतिर इन्धनको प्रयोगले वातावरणमा असर गरिरहेको छ । यसले पनि मानिसको स्वास्थ्यमा असर गरिरहेको छ । 

अर्कोतिर, फास्ट फुड, बजारिया पेय पदार्थ लगायतले मानिसको स्वास्थ्यमा असर गरिरहेको छ । सहरमा स्वस्थकर र अस्वस्थकर खानेकुराको छनोट भन्नु ‘खराब’ र ‘अझै खराब’ बिचको निर्णयजस्तै हुन्छ ।
यी सबैको समाधानका लागि पहिलो कदम भनेको सरकारको इमानदार पहल नै हो, जसले ग्रामीण विकासलाई प्राथमिकता दिन्छ र गाउँ र सहरको सुविधाबिचको खाडललाई पुर्छ । यसका लागि स्वास्थ्य, शिक्षा र आधुनिक कृषिमा जोड दिइनुपर्छ । युवाहरूलाई गाउँ फर्कन वा गाउँमै रहन प्रेरित गर्न उनीहरूलाई परम्परागत खेतीपातीभन्दा बाहिर रोजगारका सम्भावना चाहिन्छ ।

समस्याहरूको समाधान भनेको गाउँ र सहरबिचको खाडल वा भिन्नतालाई कम गर्ने र दुवैतर्फ समग्र सुधार ल्याउने हो । 

भ्रष्टाचारलाई रोक्नु पनि अति आवश्यक छ । कडा निरीक्षण र पारदर्शी प्रणालीले जनताको विश्वास फर्काउन सक्छ र विनियोजित स्रोतहरू सही ठाउँमा पुग्न सुनिश्चित गर्न सक्छ । विकासमा समर्पित, व्यक्तिगत लाभभन्दा माथि उभिने स्थानीय नेताहरूको छनोटमा सबैले ध्यान दिनुपर्छ ।

उद्योग र उद्यमशीलतालाई गाउँ क्षेत्रमा स्थापनाका लागि प्रोत्साहन गर्न सरकारले कर छुट दिने, पूर्वाधारको विकास गर्ने र बिनाब्याजमा ऋण दिन सक्छ । यस्तै, स्थानीय उत्पादनको बजारका लागि सरकारले पहल गर्नुपर्छ । 

गाउँमा सबै सुविधा भयो र रोजगारी तथा स्वरोजगारीका अवसर सिर्जना भए भने मानिसले गाउँ छाड्दैनन् । त्यसैले सरकारले स्थानीय उत्पादनको वृद्धिमा र पूर्वाधार विकासमा जोड दिनैपर्छ ।  

अर्कोतिर सरकारले सहरका समस्यातर्फ पनि ध्यान दिनुपर्छ । प्रदूषण कम गर्न सहरमा इन्धनको सट्टा विद्युतको प्रयोग गर्न सकिन्छ । 

सहरमा स्वस्थ जीवनशैलीको विकल्प खोज्दा एक अर्को समस्या सामना गर्नुपर्छ—खानेकुरा । सहरी क्षेत्रमा ताजा र जैविक खानाको कमीले गर्दा प्रशोधित र प्याक गरिएको फुड प्रोडक्टले बजार लिएको छ । यस्ता खानाहरूमा चिनी, चिल्लो र रसायनको बढी प्रयोग हुन्छ, जसले स्वास्थ्यलाई नोक्सान पुर्‍याउँछ । त्यसैले गाउँका उत्पादनलाई सहरतिर ल्याउने वातावरण सरकारले बनाउनुपर्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

आरपी गैरे
आरपी गैरे
लेखकबाट थप