बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

किर्गिस्तानद्वारा आयोजित उच्चस्तरीय सत्रमा राष्ट्रपति पौडेलको सम्बोधन

बुधबार, २८ कात्तिक २०८१, १३ : २३
बुधबार, २८ कात्तिक २०८१

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनका कारण पीडित हुनेहरूलाई न्याय दिने हो भने उनीहरूले भोगेका जलवायु समस्या र गरिबी निवारण कार्यक्रमलाई एकीकृतरुपमा सम्बोधन गर्नुपर्ने बताएका छन् । अजरबैजानको बाकुमा सोमबारदेखि सुरु भएको कोप २९ सम्मेलनका क्रममा बुधवार  किर्गिस्तानद्वारा आज यहाँ आयोजित उच्चस्तरीय सत्रलाई  सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन् । 

‘जलवायु परिवर्तनका कारण पर्वतीय क्षेत्रका युवा विदेश पलायन हुँदा त्यस क्षेत्रका गरिब महिला, बच्चाबच्ची र वृद्धवृद्धा अझ बढी जलवायु प्रभावमा परेका छन्, उनीहरूलाई न्याय दिने हो भने उनीहरूले भोगेका जलवायु समस्या र गरिबी निवारण कार्यक्रमलाई एकीकृत रूपमा सम्बोधन गर्नुपर्ने हुन्छ,’ राष्ट्रपति पौडेलले भने । 

पर्वतीय क्षेत्रका नागरिकले बेहोरेका जलवायु समस्या उनीहरूको आफ्नै कारणले नभई त्यो त द्रुत गतिमा प्राकृतिक स्रोतको दोहन गरेर धनी भएका विकसित राष्ट्रहरूले गरेको कार्बन उत्सर्जनका कारण भएको उनको धारणा थियो । ‘उनीहरूलाई जलवायु न्याय दिनमा कोप २९ सफल हुनेछ भन्ने मेरो पूर्ण विश्वास छ,’ राष्ट्रपति पौडेलले भने । 

जलवायु परिवर्तनका प्रभाव हरेक वर्ष बढ्दो रहेको र त्यसले नयाँ रेकर्ड कायम गर्दै गएको बताउँदै त्यसका कारण पर्वतीय क्षेत्र तुलनात्मक रूपमा बढी जोखिममा परेको उनको भनाइ थियो । गत अगस्तमा नेपालको सगरमाथा क्षेत्रमा हिउँताल फुट्दा थामे गाउँका ३५ भन्दा बढी घरधुरी विस्थापन भई करोडौँको हानीनोक्सानी बेहोर्नु परेको सन्दर्भ उल्लेख गर्दै उहाँले गत मनसुन सिजनमा आएको बाढी पहिरोमा नेपालका ५०० बढी नागरिकले जीवन गुमाउनु परेको उनले जानकारी दिए । 

‘यसको पीडा अझै सन्चो भएको छैन, आउँदा दिनमा यो समस्या अझ बल्झिने छ र विकराल अवस्था सृजना गर्ने छ भन्ने आङ्कलन अहिले नै गरेनौ र उपयुक्त सावधानी लिएनौ भने भोलि अझ बढी हानि नोक्सानी बेहोर्नु पर्ने छ,’ राष्ट्रपति पौडेलले भने ।  

उनले नेपाल र किर्गिस्तान दुवै पर्वतीय मुलुक भएकोले हामीहरूले भोगेका जलवायु परिवर्तनका असर र प्रभाव पनि समान रहेको जिकिर गरे ।  साथै, नेपाल र किर्गिस्तानले विगतमा हिउँ चितुवा संरक्षणमा पनि सँगै काम गरेको अनुभव रहेको उनले स्मरण गरे । सो कार्यक्रममा किर्गिस्तान राष्ट्रपति, मंगेलियाका राष्ट्रपति, अजरबैजानका विदेशमामिला मन्त्रीलगायतले धारणा राखेका थिए ।

अजरबैजानको बाकु सहरमा यही कात्तिक २६ गतेबाट सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन (कोप–२९) अन्तर्गत मंगलबार राष्ट्रपति पौडेलले उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई सम्बोधन गरेका थिए । 

सम्मेलनका क्रममा नेपालले आफ्ना एजेन्डामाथि विश्वको ध्यानाकर्षण गराउन आज यहाँ  राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन गर्दैछ । सम्मेलन (कोप–२९) अन्तर्गत नेपालले आज यहाँ आयोजना गर्ने ‘माउन्टेन इन पेरिल, एड्रेसिङ लस एण्ड डयामेज इन द हिमालय’ ( ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानि तथा नोक्सानीको सम्बोधन’)  शीर्षकको उच्चस्तरीय राउण्ड टेबल बैठकलाई उनले सम्बोधन गर्नेछन् । 

अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल सोमबार बाकु आइपुगेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप