शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

पूर्ण स्वास्थ्यका लागि स्वजागरण

बुधबार, २८ कात्तिक २०८१, १२ : २९
बुधबार, २८ कात्तिक २०८१

कुनै पनि वृक्ष पूर्णरूपमा विकसित हुन त्यसको बीज गुणस्तरीय हुनुपर्दछ।  बीजभित्र त्यो वृक्ष केको हो, कस्तो हुन्छ, पातहरू कस्ता हुन्छन्, जरा कति टाढा फैलिन सक्छन्, वृक्षको उचाइ कति,  फूल कसरी, कहिले कुन ऋतुमा फुल्ने, फूलपछि फल बन्न कति समय लाग्ने आदि सम्पूर्ण कुराहरू त्यसभित्र छिपेको हुन्छ। यतिमात्र नभएर एउटा बीजबाट अरू कति नयाँ वृक्ष उत्पन्न गराउने भन्ने कुरा पनि उसमा नै निहित हुन्छ। तर यदि त्यो बीज असमयमै नष्ट गरियो भने त्यो चीजको सम्भावना सब नाश भएर जान्छ। त्यो बीजलाई समयमै रोपियो र उपयुक्त वातावरण प्रदान गरिएको खण्डमा मात्रै ऊ भित्रका यी सम्पूर्ण सम्भावनाहरू प्रकट हुन्छन्। 

 त्यसैगरी मानवभित्र पनि एउटा यस्तो बीज छ, जसलाई सही दिशानिर्देश दिएको खण्डमा पूरै पृथ्वीको कायापलट गर्न सक्ने सामर्थ्य राख्छ भने मानव समुदायको नयाँ भाग्य कोरिन थाल्छ। मानव मात्र नभएर  सहअस्तित्वलाई नयाँ ऊर्जा नयाँ बल मिल्छ।  त्यो बीजलाई चेतना होस् वा स्व अर्थात् आफ्नो हुनु भनिन्छ। जसरी वृक्षको जरा जमिनभित्र जति बढी जान सक्छ त्यति नै त्यो वृक्षले उचाइ लिए जस्तै आफ्नो वास्तविक प्रकृतिसँग एक हुँदै जाँदा व्यक्तिले आफूभित्रको स्व अर्थात् त्यो चेतनालाई पूर्ण रूपमा जगाउन सक्दछ जसलाई स्वजागरण भनिन्छ। 

  मनको कारणले मानिस छ।  इच्छा, चाहनाबाट उत्पन्न हुने विचारहरूको समूह मन हो। बाहिरी संसारका कारण इच्छाहरू उत्पन्न हुन्छन्। इच्छा पूरा हुँदा लोभ जन्मिन्छ भने पूरा नहुँदा राग र द्वेष जन्मिन्छन्। त्यही लोभ, राग र द्वेष समयको अन्तरालमा तनाव, चिन्ता, छटपटी, बेचैनी हुँदै अरू शारीरिक, मानसिक, भावनात्मक समस्यामा रूपान्तरण हुँदा व्यक्ति ऊर्जाहीन हुँदै बुद्धि भ्रष्ट बन्न जान्छ।  उसले म भित्र अनन्त सम्भावना छन् भन्ने बिर्सिन थाल्छ। आफूलाई बिर्सिएर भौतिक संसारमा सुख भोग गर्दा दुःख अशान्ति हातमा आउन थाल्छ। जीवनमा दुःख छ भने सुख पनि छ किनकि रात छ भने दिन पनि छ। यही सत्यलाई बुझ्नु आफ्नो पहिचानतिर पाइला बढाउनु हो। आफ्नो हुनुसँग निरन्तर जोडिँदै जे गरिन्छ त्यो सदा हितकर हुन्छ।

 मानवको स्वकेन्द्रमा आरोग्यता, खुसी, आनन्द र शान्ति निहित छ। त्यसैले त बच्चा जन्मिदा स्वस्थ जन्मिन्छ। ऊ मस्त, शान्त र आनन्दित हुन्छ। उसले लिने प्रत्येक श्वास प्राकृतिक अर्थात् लामो र गहिरो हुन्छ। हाम्रो सिकाई अनि बाहिरतिर फर्किएका ज्ञानेन्द्रियहरूको प्रतिफल इच्छासँग अनेक विचारको जन्मले बालकको स्वकेन्द्रबाट दृष्टि हट्दै जान थाल्छ। श्वासपनि छोटो हुँदै जान्छ। भौतिक पदार्थको प्राप्ति आफूलाई भुलेर गर्दा ऊ भित्रको स्व कमजोर बन्दै जान थाल्छ। जसरी बीज असमयमै नष्ट हुँदा उसको फूल बन्ने क्षमता गुम्छ, त्यसै पूर्ण मानव बन्ने क्षमताबाट मानव च्युत हुन्छ।

 मानवमा हुने सर्वाधिक रहस्यपूर्ण अस्त्र श्वास हो जसले उसलाई आफ्नो त्यही स्वसँग जोडिन मद्दत गर्दै उ भित्रका स्वास्थ्यको क्षमता र प्रतिभाका सबै आयामहरूलाई खोलिदिएर पूर्ण स्वास्थ्यमा स्थित गराउँछ। शान्त आनन्दित व्यक्तिको श्वास लामो र गहिरो हुन्छ भने चिन्ता, छटपटी, बेचैनी आदिले भरिएको व्यक्तिको श्वास छोटो हुन्छ। यही श्वासलाई समुचित ढङ्गबाट चलाएर आफूभित्रको पूर्ण आरोग्यतामा स्थित हुने विधि नै "पूर्ण स्वास्थ्यको लागि स्वजागरण" हो। आफूभित्रको चैतन्यतामा स्थित रहेर पूर्ण मानव बन्न गरिने सम्पूर्ण क्रियाकलाप नै स्वजागरण हो। यसबाट व्यक्ति सुख, शान्ति र समृद्धिमा स्वतः उपलब्ध हुन सफल हुन्छ।

 जीवन विज्ञान प्रतिष्ठानले मानव हितको मात्र नभई "बसुधैव कुटुम्बकम" को निमित्त वरदान स्वरूप प्रदान गरेको यस स्वजागरणले जीवनको पूर्ण स्वास्थ्यलाई उजागर गर्दछ। क्रियाशील शरीर, उत्साह र सृजनशीलताले भरिएको मन भित्रबाट उत्पन्न भएको जीवन्तताको प्रतिफल दृढ निश्चयी, भित्रैबाट बहेको त्यो प्रेमको झरना अनि विवेकसहितको बुद्धि, सङ्कल्पकृत कर्म जीवनमा छन् भने मात्र जीवनमा परमात्मा अवतरित हुन्छ अन्यथा परमात्मासँगको मिलन असम्भव हुन्छ। आफ्नो श्वासलाई प्रयोग गरेर भित्रको विभिन्न शक्ति केन्द्रसँग एक हुँदै गरिने स्वजागरण ध्यानविधि समग्र मानवको निमित्त वरदान बनेर आएको छ।

आफूभित्रको पूर्ण स्वास्थ्यमा उपलब्ध तत्त्वबेत्ता सद्गुरुबाट प्रतिपादित वरदान स्वरूप आएको स्वजागरण ध्यानविधि जनजनमा पुर्‍याउनु अपरिहार्य रहेको छ ताकि व्यक्तिका सारा दुःख अशान्ति आदिबाट मुक्त भई परमानन्दतिर दृष्टि जान सकोस्। नमस्कार प्राणायामबाट प्रारम्भ हुने यो विधि बीज प्राणायाम अर्थात् स्वाभाविक लामो गहिरो श्वास अनि त्यही श्वाससँग जोडिएर वास्तविक गुणलाई धारण गर्दै पूर्ण मौनसँग एकाकार हुने १५ मिनेटको विधि हो। यसले छोटो समयमा नै व्यक्तिलाई आफ्नो स्वमा जोडिदिएर जीवन्त बनाउँछ। फलस्वरूप व्यक्ति हरेक कर्मसँग प्रेम गर्दै भित्री शान्ति र बाहिरी समृद्धिमा उपलब्ध हुन्छ।

 सम्पूर्ण मानव समुदायलाई यो "पूर्ण स्वास्थ्यको लागि स्वजागरण" अभियानमा जोडिने सौभाग्य प्राप्त होस्। यही शुभेच्छा।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रिता न्यौपाने
रिता न्यौपाने
लेखकबाट थप