सुमेरु सेभिङको अनुसन्धान पूरा, भरत महर्जनलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिँदै
काठमाडौँ । ललितपुरको पुल्चोकस्थित सुमेरु सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडमा भएको अपचलनबारे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान सकेको छ । सहकारीका संस्थापक अध्यक्ष भरत महर्जनलाई प्रतिवादी कायम गरेर अनुसन्धान प्रतिवेदन बुझाउने प्रहरीको तयारी छ ।
सुमेरुको अनुसन्धान पूरा भएको सीआईबीका प्रमुख (एआईजी) दीपक थापाले रातोपाटीलाई बताए । उनले भने, ‘अनुसन्धान पूरा भएको छ, केही दिनमा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरमा अनुसन्धान प्रतिवेदन बुझाउँछौँ ।’
बचतकर्ताले जम्मा गरेको ७ अर्ब १ करोड २१ लाख संस्थापक अध्यक्ष महर्जनले अपचलन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । महर्जन फरार छन् । उनी २०७९ पुस ७ मा भागेर बेलायत गएको देखिएको छ । महर्जनविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) महासचिवलयबाट रोड नोटिस जारी भएको छ । २०८० माघ १० मा नोटिस जारी भएपनि अहिलेसम्म उनी पक्राउ परेका छैनन् ।
महर्जन पक्राउ नपरेको हुनाले सहकारीमा आबद्ध अन्य व्यक्तिलाई प्रतिवादी बनाउने अवस्था नदेखिएको एआईजी थापाले बताए । उनले भने, ‘महर्जनलाई ल्याएपछि थप तथ्य खुल्छ ।’ महर्जन पक्राउ परेपछि उनको बयानको आधारमा पूरक अभियोग लैजाने गरी अनुसन्धान अधिकृतहरूले पूरक प्रतिवेदन तयार गरिरहेका छन् ।
सुमेरु सहकारीको निक्षेप निजी अस्पताल, कलेज, मेडिकल कलेज, रिसोर्ट र मार्टमा लगानी गरेको भेटिएको छ । महर्जनले १७ वटा निजी कम्पनीमा आफूखुसी रकम लगेर अपचलन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । महर्जनको नाममा रहेको सम्पत्ति र उनले लगानी गरेका कम्पनीहरूको खाता प्रहरीले रोक्का गरेको छ ।
निक्षेप आफूखुसी निजी कम्पनीमा लगेर महर्जन सम्पर्क विहीन भएपछि सहकारीका तत्कालीन अध्यक्ष विनोद दाहालले उनीविरुद्ध जाहेरी दिएका थिए । जाहेरी दर्ता भएको १ वर्षभित्र अनुसन्धान पूरा गरेर प्रतिवेदन बुझाउनुपर्ने कानुनी व्यवस्था छ ।
बचतकर्ताले सो सहकारीमा ११ अर्ब बचत गरेका थिए । सुमेरु सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडसँग करिब १३ अर्बको बचत र सम्पत्ति रहेको भेटिएको अनुसन्धानमा संलग्न एक जना अधिकृतले बताए । ती अधिकृतले भने, ‘सुमेरुको सम्पत्तिबाट बचतकर्ताले रकम फिर्ता पाउने अवस्था देखिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिद्धार्थ बैंकका ग्राहकलाई हार्ड रक क्याफेमा १०% सम्मको छुट
-
सौर्य जहाज दुर्घटना : पीडित परिवारको न्यायका लागि महासंघले खबरदारी गर्ने
-
कर्णाली प्रदेश : संसदीय समितिले बल्ल पाए नेतृत्व
-
गणतन्त्रलाई बलियो बनाउन स्वच्छ प्रशासन आवश्यक : प्रदेश प्रमुख खापुङ
-
‘कुस्ती’ मा दिकिला शेर्पा अनुबन्धित
-
सरकारले सेटिङमा सिमेन्टको मूल्य बढाएको आरोप