रविलाई हिरासतमुक्त गर्न नसकेको आलोचना खेप्दै रास्वपाका उपसभापतिद्वय अर्याल र वाग्ले

काठमाडौँ । कार्तिक २५ गते पोखरा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डीपी अर्यालले आक्रामक अभिव्यक्ति दिए । अर्यालले सभापति लामिछाने जिउँदो छँदासम्म अर्को विकल्प सोच्न नसकिने प्रस्ट पारे ।
‘म यही मञ्चबाट के भन्न चाहन्छु भने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछाने जिउँदो रहँदासम्म रवि लामिछाने नै हो,’ उनले भने ।
यतिबेला पार्टी सभापति रवि लामिछाने प्रहरी नियन्त्रणमा छन् । सहकारीको बचत रकम गोरखा मिडियामा आएपछि संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा लामिछानेलाई प्रहरीले पक्राउ गरेको हो । लामिछाने सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको आरोप झेलिरहेका छन् । उनलाई अनुसन्धानका लागि कास्की प्रहरीले हिरासतमा राखेको छ । सोही क्रममा मंगलबार उनलाई रुपन्देहीको बुटवल पुर्याइएको छ ।
लामिछानेमाथि अनुसन्धान गर्न कास्की जिल्ला अदालतले चौथो पटक म्याद थपिदिएको छ । उनलाई हिरासतमा राखेर प्रहरीले बयान लिइरहेको छ ।
लामिछाने हिरासतमा रहेको बेला रास्वपामा नेतृत्वको विकल्पमा बहस भइरहेको छ । उपाध्यक्षद्वय अर्याल र स्वर्णिम वाग्लेमध्ये कसले कार्यवाहक लिएर पार्टी चलाउँछ भन्ने बहस पनि राजनीतिक वृत्तमा छ । यस्तो अवस्थामा अर्यालले लामिछानेलाई ‘बाचुन्जेल सभापति उहाँ नै हो’ भन्ने अभिव्यक्ति दिएर के सङ्केत गर्न खोजेका हुन् भन्ने प्रश्न जन्मिएको छ ।
लामिछाने पक्राउ परेपछि रास्वपा सडक आन्दोलनमा छ । कानुन, विधिको शासन र संस्कारसहितको राजनीति भन्दै नारा लगाउने रास्वपा आफैँ सभापतिको नाममा ‘सती’ गएको भन्ने आरोप पनि लागिरहेको छ । त्यसमाथि अर्यालको अभिव्यक्तिले रास्वपा पद्धतिमा हैन, व्यक्ति प्रमुख भएर चलेको पार्टी हो भन्ने भाष्य स्थापित गरिदिएको छ ।
अर्यालको अभिव्यक्तिले जेलबाटै रविले पार्टी सञ्चालन गर्छन् भन्ने पुष्टि एकातिर गरेको छ भने अर्कोतिर त्यसमुनिका नेताहरूको पद र हैसियतमा पनि प्रश्न उठाइदिएको छ ।
यो अभिव्यक्तिले रास्वपामा व्यक्तिवाद हाबी भएको प्रस्ट देखिन्छ । तर, अर्यालको यो अभिव्यक्तिले दलका अन्य नेता भने सन्तुष्ट छैनन् ।
‘यसमा कसले कार्यवाहक सभापति पाउँछ, पाउँदैन त्यो गौण कुरा हो,’ पोखरामै डीपी अर्यालले भनेका थिए, ‘त्यसकारण यहाँहरूलाई विश्वस्त पार्न चाहन्छु, उहाँको सभापति पद उहाँ जहाँ बस्नुहुन्छ, हिरासतमा रहनुहोला, जेलमा बसे पनि रास्वपाको सभापति रवि लामिछाने नै हो ।’
जेलमा बसेर पार्टी चलाएका संसारमा धेरै उदाहरण भएको समेत उनले बताए । उनको यो अभिव्यक्तिले रास्वपामा व्यक्तिवाद हाबी भएको प्रस्ट देखिन्छ । तर, अर्यालको यो अभिव्यक्तिले दलका अन्य नेता भने सन्तुष्ट छैनन् ।
‘कहाँ के बोल्ने भन्ने उहाँले बुझ्नुपर्ने हो । हतारको अभिव्यक्ति आफैँलाई ब्याक फायर हुन्छ,’ पार्टीका एक शीर्ष नेताले भने ।
अर्का एक नेताका अनुसार पार्टीभित्र र बाहिर बढेको दबाबका कारण अर्याल रविको पक्षमा बोल्न बाध्य भएका हुन् । गएको शनिबार पार्टी कार्यालयमा केन्द्रीय समिति बैठक चलिरहँदा कार्यालयभित्रै शम्भु सुस्केरालगायत पाँच जना धर्ना बसेका थिए । उनीहरूले आफ्नै नेताहरूलाई ‘कि सङ्कटमा पार्टी सम्हाल, कि ठाउँ छोड’ भनेर धर्ना दिएका थिए ।
कार्यकर्ता तहबाट रविलाई हिरासत मुक्त गर्न नसकेको भन्दै उपसभापतिद्वयको आलोचना हुने गरेको ती नेताले बताए ।
रवि पक्राउ परेपछि आन्दोलन गर्ने र त्यसको परिचालनको जिम्मेवारी उपसभापति अर्यालको काँधमा छ । यस्तै, राजनीतिक संवादको जिम्मेवारी अर्का उपसभापति स्वर्णिम वाग्लेले पाएका छन् । यी दुई समिति केन्द्रीय समिति बैठकले निर्णय गरेर बनाएको हो ।
‘२ समिति बनाएर दुई उपसभापतिलाई जिम्मेवारी दिइएको छ । पार्टीभित्र र बाहिर पनि रविलाई हिरासत मुक्त गर्न नसकेको भनेर उहाँमाथि गुनासो छ,’ रास्वपाका एक नेताले भने, ‘पार्टीको साख गिरेको, जनतामा नकारात्मक इमेज बनिरहँदा उपसभापतिद्वयले जिम्मेवारी पूरा गरेर राजनीतिक संवाद गर्न, आन्दोलन निर्णायक बनाउन नसकेको र सभापतिज्यूलाई हिरासतमुक्त नगरेको भन्दै आलोचना मात्र होइन उहाँहरूलाई दबाब बढेको छ ।’
संवाद समिति बनेपछि उपसभापति अर्यालले गृहमन्त्री, प्रधानमन्त्री लगायतसँग संवाद गरेको विषयमा पनि पार्टीभित्र प्रश्न उठेको थियो । उपसभापति अर्याल कार्यवाहक बन्न खोजेको चर्चा भएको थियो । त्यसैले पनि उनको यो अभिव्यक्ति आएको हुन सक्ने बुझाइ रास्वपाभित्र छ ।
‘यी विषयमा पनि प्रश्न उठे । त्यसैले उहाँले आफूलाई डिफेन्स गर्न र तल्ला तहका नेता कार्यकर्तामा सभापतिज्यूको पक्षमा डटेर लड्ने माहौल बनाउन बोलेको हो भन्ने बुझाइ छ,’ अर्का एक नेता भन्छन् ।
त्यसो त सोमबार हिरासतमै रहेका रविसँग उपसभापतिद्वय अर्याल र वाग्लेले आधा घण्टा बिताएर निस्किए । सो क्रममा सञ्चारकर्मीहरूले अर्याललाई कार्यवाहकबारे सभापतिसँग भएको छलफल सम्बन्धी प्रश्न सोधे ।
‘कार्यवाहक सभापति गौण कुरा हो । हामी दुवै जनाले भन्दै आएका छौँ । सिग्नेचरी नै रोकियो भने त्यसमा सभापतिज्यूसँग सल्लाह गरेर अधिकार लिन्छौँ,’ अर्यालले भने ।
डीपीलाई कार्यवाहकको बारेमा प्रश्न गर्दा छेउमै रहेका अर्का उपसभापति डा. स्वर्णिम वाग्ले मन्द मुस्कुराए । वाग्लेले हालसम्म कार्यवाहकको बारेमा मुख खोलेका छैनन् । सोमबार कार्यवाहकको विषयमा सोधिएको प्रश्नबारे डीपीले जवाफ दिइरहँदा स्वर्णिमचाहिँ ‘फ्लाइट छुट्न लागेको’ भन्दै बाहिरिएका थिए ।
अहिले चलिरहेको प्रदर्शनमा पनि रास्वपाको क्याप्टेन खोजी भइरहेको छ । आन्दोलनको नेतृत्वबारे प्रश्नमा कार्यवाहक प्रवक्ता मनिष झाको प्रतिक्रिया दिए, ‘आन्दोलनको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीले गरिरहेको छ । पुरानो दलजस्तो यो क्याप्टेन, यो अर्को भन्ने होइन । हामी सबै क्याप्टेन हो । त्यो पाइँदैन भन्ने त हुँदैन । हामी सबैजना आफ्नो जिम्मेवारीमा लागेर काम गरिरहेका छौँ ।’
अर्याल भने रास्वपा विधानसम्मत् चल्ने पार्टी भएकाले सभापति लामिछाने विधानले व्यवस्था गरे बमोजिम २ कार्यकाल सभापति बन्ने बताउँछन् । सोमबार रातोपाटीसँग टेलिफोन संवाद गर्दै उनले रास्वपा विधान अनुसार चल्ने पार्टी भएकाले विधानले दिएको अधिकार बमोजिम सभापतिमा लामिछाने रहने बताए ।
‘विधान मैले चेन्ज गरेर हुँदैन । विधानले जे दिन्छ, त्यो नै अन्तिम हुन्छ । हाम्रो विधानले २ कार्यकाल सभापति हुने व्यवस्था गरेको छ र उहाँ दुई कार्यकाल नै सभापति बन्नु हुन्छ,’ अर्यालले भने ।
तर वर्तमान सरकार लामिछानेलाई मारौँला झैँ गरेर लागेको पनि उनले बताए । ‘अहिलेको सरकार उहाँलाई मारौँला झैँ गरेर लागेको छ । मेरो भनाइको आशय भनेको सरकारले उहाँलाई प्रतिशोध साँधेर नमारोस् र विधान सम्मत् दुई कार्यकाल सभापति बन्न देओस् भन्ने हो,’ उनले थपे, ‘कार्यवाहक दिने प्लानिङ छैन । हिरासतबाटै उहाँले पार्टी चलाउनु हुन्छ ।’
अर्यालले आफ्नो अभिव्यक्तिलाई अतिरञ्जित गर्न जरुरी नरहेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकार सुरेश रजकको अन्तिम बिदाइ, तस्बिरहरू
-
जल्दै गरेको अवस्थामा उद्धार गरिएकी किशोरीको मृत्यु
-
तीनकुने घटनामा संलग्न थप ७ जना पक्राउ
-
‘राज्यले पटक पटक धोका दियो, अब जितिन्छ कि बितिन्छ भन्दै आन्दोलनमा उत्रियौँ’
-
आरआर क्याम्पसमा स्ववियु निर्वाचनको माग गर्दै अदालतमा मुद्दा दायर
-
बुटवलको कृषि उपजका सटर टेन्डर तत्काल खोल्न व्यवसायीको माग