शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
उत्पादन

बागमतीमा विपद्का कारण धान उत्पादन घट्ने

यान्त्रिकीकरणमा कृषकको आकर्षण बढ्दो
बुधबार, २८ कात्तिक २०८१, ०९ : ०६
बुधबार, २८ कात्तिक २०८१

मकवानपुर । बागमती प्रदेशका कृषकहरू अहिले धान भित्र्याउने चटारोमा छन् । चाडपर्व सकिएसँगै किसानहरूलाई अहिले धान भित्र्याउन भ्याइ–नभ्याइ छ ।

बागमती प्रदेश अन्तर्गत चितवन, मकवानपुुर लगायतका जिल्लामा बढी मात्रामा धान खेती गरिन्छ । तुलनात्मक रूपमा प्रदेशमा धान उत्पादनमा केही वृद्धि भए पनि समग्र उत्पादनमा भने गिरावट आउने अनुमान गरिएको छ ।

विपद्का कारण यस वर्ष बागमतीमा धान उत्पादन घट्ने अनुमान गरिएको प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गरेको छ । मन्त्रालयका प्रवक्ता सुजन कँडेलले यस वर्ष धान उत्पादन बढ्ने सुरुवाती अनुमान रहे पनि बाढी पहिरोले गर्दा उत्पादन घट्न सक्ने बताए । बाढी पहिरोले प्रदेशका विभिन्न जिल्लामा धान खेतीमा ठुलो क्षति पुर्‍याएको उनको भनाइ छ ।

‘बागमती प्रदेशका १३ जिल्लाको एक लाख ११ हजार ३५१ हेक्टर क्षेत्रफलमा धान रोपिएको थियो । बाढी पहिरोका कारण ५ हजार ५०३ हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली नष्ट भएको छ । जसले गर्दा उत्पादन घट्ने अनुमान गरिएको छ,’ कँडेलले भने ।

विपद्का कारण ५ हजार ५०३ हेक्टर धानखेतीमा क्षति

प्रवक्ता कँडेलले प्रदेशको मकवानपुर, नुवाकोट, ललितपुर, काभ्रे, रामेछाप, सिन्धुली, धादिङ लगायतका जिल्लामा बाढी पहिरोले सबैभन्दा बढी धान बालीमा क्षति पुर्‍याएको जानकारी दिए ।

उनका अनुसार सबैभन्दा बढी मकवानपुरमा २ हजार ९०२.८३ हेक्टरमा लगाइएको धान खेतीमा क्षति पुगेको छ । यस्तै सिन्धुलीमा ८५५, काभ्रेमा ६०२.१, ललितपुरमा २११.५, नुवाकोटमा १९८.२२५, धादिङमा १८४ र रामेछापमा १५७.५५ हेक्टर क्षेत्रफलमा लगाइएको धान खेतीमा बाढी पहिरोले क्षति पुर्‍याएको छ ।

प्रवक्ता कँडेलका अनुसार यस वर्ष मकवानपुरको धान रोपाइँ हुने कुल २४ हजार २४७ हेक्टर क्षेत्रफलमा शत प्रतिशत धान रोपाइँ भएको थियो । सिन्धुलीमा ११ हजार ८८, काभ्रेमा ९ हजार ९४७, ललितपुरमा ४ हजार १६३, नुवाकोटमा ११ हजार १०९, धादिङमा ११ हजार ३१२ र रामेछापमा ७ हजार ८५९ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो ।

प्रदेशका सबैभन्दा बढी धान खेती भएको चितवनमा भने यस वर्ष बाढी पहिरोले कम क्षति पुर्‍याएको छ । चितवनमा २४ हजार २४७ हेक्टर क्षेत्रफलमा धानखेती भएकोमा ४५ हेक्टर क्षेत्रफलको धानखेतीमा क्षति पुगेको छ । ३ हजार ७१९ हेक्टरमा धानखेती भएको भक्तपुरमा ८५ हेक्टर, १ हजार ४९ हेक्टर धानखेती भएको रसुवामा ६.५ र २ हजार ८१४ हेक्टर क्षेत्रफलमा धानखेती भएको दोलखामा ४ हेक्टर क्षेत्रफलको धानखेतीमा क्षति पुगेको छ ।

यस्तै ८ हजार ५७३ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको सिन्धुपाल्चोक जिल्लामा भने बाढी पहिरोले क्षति नपुर्‍याएको मन्त्रालयका प्रवक्ता कँडेलले जानकारी दिए ।

यान्त्रिकीकरण बढ्दो

बागमतीका कृषकहरूमा यान्त्रिकीकरण तर्फ आकर्षण बढ्दो देखिएको छ । धान भित्र्याउने क्रम चलिरहेका बखत बागमतीका अधिकांश कृषकहरू यन्त्र–उपकरणको प्रयोग गरेर काम गरिरहेका छन् ।

विगतमा मजदुर खोजेर धान काट्ने तथा चुट्ने काम गर्ने कृषकहरू अहिले  धान काट्ने मेसिन (रिपर)को सहयोगमा बिघौँ क्षेत्रफलमा लगाएको धान काट्छन् । हप्तौँ लगाएर काट्नु तथा चुट्नु पर्ने धान अहिले केही घण्टामै यन्त्रको मद्दतमा भित्र्याउन थालिएको छ ।

कृषकहरू धान काट्नदेखि चुट्न तथा उत्पादित धानलाई भण्डारणका लागि पनि यन्त्र/उपकरणको प्रयोग गर्दै आएका छन् । कृषकहरू धान काट्न रिपर (हाते मेसिन), चुट्न तथा प्याकिङका लागि थ्रेसर र ढुवानीका लागि ट्याक्टरको प्रयोग गर्ने गरेका छन् ।

विगतमा मजदुर खोजेर धान काट्ने तथा चुट्ने काम गर्ने कृषकहरू अहिले  धान काट्ने मेसिन (रिपर)को सहयोगमा बिघौँ क्षेत्रफलमा लगाएको धान काट्छन् । हप्तौँ लगाएर काट्नु तथा चुट्नु पर्ने धान अहिले केही घण्टामै यन्त्रको मद्दतमा भित्र्याउन थालिएको छ ।

पाकेर पहेँलै भएको धान काट्न मेसिनको प्रयोगले छिटो र सजिलो भएको कृषकहरूको भनाइ छ ।

हेटौंडा–१७, रानीखोलाका सुशील दाहाल तिहार अघि काटेको धान थ्रेसर लगाएर भित्र्याउन व्यस्त छन् । उनले १३ कट्ठामा लगाएको धान काटेर निन लगाएको केही दिन भएको बताए । विगतमा धान काट्न र भित्र्याउन खेतालाको प्रयोग गर्दा भित्र्याउन मात्र ३/४ दिन लाग्ने गरेको उनको भनाइ छ ।

अहिले मेसिनको प्रयोगबाट एकै दिनमा धान सबै काम पूरा हुने गरेको दाहालले जानकारी दिए । विगतमा धान भित्र्याउन खेताला नहुँदा तराईबाट झिकाउनु पर्ने बाध्यता रहँदै आएकोमा मेसिनको प्रयोगले सो अवस्था नरहेको उनको भनाइ छ ।

IMG20241108145007

मकवानपुरको फाँट गुरौ खोलामा मेसिनले धान काटिरहेका अर्का किसान विकास श्रेष्ठले मेसिनको प्रयोगले काम गर्न निकै सहज भएको बताए । नयाँ प्रविधिको प्रयोगले काम छिटो र सहज बनाएको उनी बताउँछन् ।

मेसिनको प्रयोगले कृषकहरूको खर्चभार पनि कम गरेको श्रेष्ठको भनाइ छ । खेताला लगाएर काम गर्दा ज्याला, खाजा खर्च बढी हुनुको साथै समय पनि बढी लाग्ने गरेको उनले बताए । मेसिनको प्रयोगले कम जनशक्तिमा धेरै काम गर्न र खाजा खर्च जोगाउन सकिएको उनले प्रस्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप