बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
विकास निर्माण

बाढीले क्षति पुगेका १० अस्थायी पुल निर्माण, एउटा बाहेक सबै राजमार्ग तयार

बुधबार, २८ कात्तिक २०८१, ०६ : ५६
बुधबार, २८ कात्तिक २०८१

काठमाडौँ । असोजको दोस्रो साता परेको अविरल वर्षासँगै आएको बाढीले देशैभर ४३ राजमार्गको ८१९ स्थानमा सडक अवरुद्ध भएको थियो । जसमध्ये ३६६ स्थानमा अस्थायी रूपमा पुनः निर्माण गरेपछि दुवैतर्फी सञ्चालनमा आएको छ । 

यसैगरी ४५२ स्थानमा एकतर्फी सञ्चालन आएको छ भने अझै एउटा राजमार्ग अवरुद्ध छ । सडक विभागका अनुसार पूर्वी पहाडी जिल्लालाई तराईसँग जोड्ने ठाँडी–भगवानपुर– लाहान–गाइघाट– खार्पा –सोलु राजमार्ग अवरुद्ध छ । यस राजमार्गको उदयपुर र खोटाङ जोड्ने  फोक्सिङटार पुल सुनकोशीले बगाएको  थियो । सो पुल निर्माण हुन नसक्दा राजमार्ग चल्न सकेको छैन । 

पुल बगाएको स्थानमा जोड्न सरकारसँग बेलीवृज नभएकाले भारतबाट ल्याउन छलफल गरिरहेको पुल महाशाखाका प्रमुख ललिजन खनालले बताए । ‘त्यसमा १२० मिटरको बेलीबृज राख्ने कि भनेर  भारतसरकार समक्ष जीटूजीमार्फत पहल भइरहेको छ । भारतले दिने प्रतिबद्धता पनि जनाएको छ,’ महाशाखा प्रमुख खनालले भने, ‘७० मिटरसम्मको बेलीबृज भारतले दिइसकेको छ । १२० मिटरको बेलीबृज आयो भने तत्काल जडान गर्छौँ ।’

खनालका अनुसार सरकारसँग ५० मिटरका बेलीबृज मात्रै मौज्दात छन् । त्यहाँ बेलीबृज जडानका लागि पुलचोक इन्जिनियरिङ क्याम्पसका विज्ञसहितको टोलीले स्थलगत अध्ययन समेत गरेको छ ।

‘बेलीबृज राख्ने  योजना गरिरहेका छौँ, तर हामीसँग १२० मिटरको बेलीबृज छैन  । सानोतिनो बेलीबृजले हुँदैन त्यहाँ त्यत्रो ठुलो पुल त बगाएर लग्यो,’ खनाल भन्छन् । अस्थायी रूपमा बेलीबृज जडान गर्ने हो भने माघ–फागुनतिर हालेर जेठतिर निकाल्ने गरी जडान गर्ने योजनामा छौँ ।’ यसको लागि पनि डेढ करोड जति लागत लाग्ने उनको भनाइ छ ।

उक्त स्थानमा स्थायी पुल निर्माण गर्न ११ करोड लागत लाग्ने सरकारको प्रारम्भिक अनुमान छ । निर्माणाधीन अवस्थामा रहेको पुल बाढीले बगाएपछि पुनर्निर्माण रकम निर्माण कम्पनीले बेहोर्ने महाशाखा प्रमुख खनाल बताउँछन् ।

‘निर्माणाधीन अवस्थामा बाढीले लग्यो । अब यो पुलको क्षति कन्ट्रक्सन कम्पनीले बहन गर्नुपर्छ,’ प्रमुख खनाल भन्छन्, ‘इन्सुरेन्स क्लेम गरेर आफ्नो भएको क्षतिपूर्ति लिएर हुन्छ कि अथवा कसरी यो पुल निर्माण गरिदिनु पर्छ ।’

उक्त पुल गौरीपार्वती वाईपी जेभी निर्माण कम्पनीले २०७३ चैत २२ गते सम्पन्न गर्ने गरी विसं २०६९ चैत २३ गते ठेक्का सम्झौता गरेर निर्माण गरिरहेको थियो । १० पर्छपछि २०७९ पुस ७ गते उक्त पुलको उद्घाटन गरी सवारी गुड्न थालिसकेको थियो । ढिलासुस्ती नगरेको भए २ वर्ष अगाडि निर्माण सम्पन्न हुनुपर्ने हो । यप्रोच सडक निर्माणको काम हालसम्म सकिएको थिएन । त्यसकारण अब निर्माण कम्पनीले नै पुनर्निर्माण गरिदिनु पर्ने महाशाखा प्रमुख खनालको भनाइ छ ।

कुन पुल कति बने ?

असोजको दोस्रो साता आएको बाढीले देशैभरका १७ वटा मोटरेबल पुलमा क्षति पुगेको थियो । जसमध्ये १० पुल अस्थायी रूपमा निर्माण सम्पन्न भएका छन् ।  बाँकी ७ पुल निर्माणाधीन र निर्माण हुने क्रममा रहेको सडक विभागले जनाएको छ ।  

44

बाढीले क्षति पुगेका सबै राजमार्ग अस्थायी रूपमा निर्माण

सरकारले असोजको दोस्रो साता आएको बाढीले क्षति गरेका पुल तथा सडक स्थायी रूपमा पुनः निर्माणका लागि २० देखि २५ अर्ब लागत लाग्ने अनुमान गरेको छ । अस्थायी रूपमा निर्माण गर्न साढे २ देखि ३ अर्ब लाग्ने अनुमान छ ।

अरनिको राजमार्ग अन्तर्गत लार्चा र लिपिङमा बेलीबुज जडान भएको छ ।  यसैगरी कान्ति राजमार्ग, पृथ्वी राजमार्ग लगायतका विभिन्न राजमार्ग पनि अस्थायी रूपमा पुनः निर्माण गरी एकतर्फी अथवा दुईतर्फी सञ्चालनमा आएका छन् ।

अहिलेसम्म बाढी पहिरोका कारण क्षति पुगेका पुल तथा सडक अस्थायी रूपमा मात्रै पुनः निर्माण भएका छन् । ती क्षति पुगेका संरचना स्थायी रूपमा पुनर्निर्माण गर्नेबारे टुङ्गो लाग्न सकेको छैन । सबैभन्दा ठुलो क्षति पुगेको बीपी राजमार्ग अहिले अस्थायी रूपमा सञ्चालनमा आएको छ । जसको स्थायी रूपमा निर्माणका लागि अध्ययन भइरहेको छ । यसैगरी सिन्धुलीको खुर्कोट र रामेछाप मन्थली जोड्ने सुनकोशीको पुलमा अस्थायी रूपमा १०० मिटरको बेलीबृज जडान भएको छ । 

अरनिको राजमार्ग अन्तर्गत लार्चा र लिपिङमा बेलीबुज जडान भएको छ ।  यसैगरी कान्ति राजमार्ग, पृथ्वी राजमार्ग लगायतका विभिन्न राजमार्ग पनि अस्थायी रूपमा पुनः निर्माण गरी एकतर्फी अथवा दुईतर्फी सञ्चालनमा आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना घिमिरे
कल्पना घिमिरे
लेखकबाट थप