आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

यस्ता छन् सखरखन्डा खानुका फाइदा

बुधबार, २८ कात्तिक २०८१, ०४ : ३०
बुधबार, २८ कात्तिक २०८१

काठमाडौं । तौल घटाउने कुरा आउँदा सबैभन्दा पहिला मानिसहरू आफ्नो आहारबाट आलु, भात, रोटी जस्ता चीजहरू कम गर्छन् । तर आफ्नो आहारमा ‘आलुको भाई’ समावेश गर्नुभयो भने यसले तपाईलाई तौल घटाउनमा त सहयोग गर्छ नै पेटको लागि पनि राम्रो हुन्छ भन्ने कुरा तपाईलाई थाहा छ ? 

यहाँ हामीले सखरखन्डाको कुरा गरिरहेका छौं । केहीले यसलाई मीठो आलु पनि भन्छन् । यो जरामा  फल्ने पौष्टिक र स्वादिष्ट तरकारी हो । यसमा भिटामिन, खनिज र एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ । यसमा फाइबर, भिटामिन, मिनरल्स र एन्टिअक्सिडेन्ट पनि राम्रो मात्रामा पाइन्छ, । जसका कारण यो स्वास्थ्यका लागि निकै फाइदाजनक छ ।
 
सखरखन्डामा पाइने भिटामिन र पोषक तत्वहरूः
 
भिटामिन ए (बीटा क्यारोटिन) : आँखा र छालाको लागि
 
भिटामिन सीः प्रतिरक्षा प्रणाली बलियो बनाउन
 
भिटामिन बीसिक्सः मस्तिष्क र स्नायु प्रणालीको लागि
 
पोटासियमः रक्तचाप र मांसपेशी स्वास्थ्यको लागि
 
म्यागनीजः मेटाबोलिज्म र हाडको स्वास्थ्यको लागि
 
फाइबरः पाचनलाई सही स्थितिमा राख्न
 
सखरखन्ड खानुका फाइदाहरूः
 
ऊर्जाको राम्रो स्रोतः
 
यसमा कार्बोहाइड्रेट र फाइबरको मात्रा निकै धेरै हुन्छ । यसका कारण पनि यसलाई ऊर्जाको राम्रो स्रोत भनिएको हो । यो खाएपछि लामो समयसम्म भोक नियन्त्रणमा रहन्छ ।
 
आँखाका लागि फाइदाजनकः
 
सखरखन्डमा भिटामिन ए (बिटा क्यारोटिन) प्रचुर मात्रामा पाइन्छ, जुन आँखाको स्वास्थ्यका लागि धेरै महत्त्वपूर्ण हुन्छ । यसले रातन्धोपन जस्ता समस्याबाट पनि बचाउन मद्दत गर्छ । साथै यसमा पाइने भिटामिन ए र ईले छालालाई चम्किलो बनाउन मद्दत गर्छ र कपालको विकासका लागि पनि यो फाइदाजनक हुन्छ ।
 
आन्द्राको स्वास्थ्यको लागिः
 
सखरखन्डा पेटको स्वास्थ्यको लागि उत्कृष्ट हुन्छ । यसमा प्रशस्त मात्रामा फाइबर हुन्छ, जसले पाचनलाई राम्रो राख्छ र कब्जियत जस्ता समस्याबाट बचाउँछ ।
 
मधुमेहमा पनि फाइदाजनकः
 
आलुको ग्लाइसेमिक इन्डेक्स (जीआई) निकै कम छ  । यसलाई खाँदा रगतमा चिनीको मात्रा छिटो बढ्दैन । यसको मतलब यो मधुमेह रोगीहरूको लागि राम्रो खानेकुरा हुन सक्छ । यसको हलुका गुलियोपनले मधुमेहको बिरामी के गुलियो खाउँ भन्ने लालसा पनि पूरा हुन्छ ।
 
प्रतिरक्षा प्रणाली बढाउँछः
 
सखरखन्डामा भिटामिन सी र एन्टिअक्सिडेन्ट पाइन्छ । यसले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ । यसले तपाईंलाई फ्लूको शिकार हुनबाट पनि बचाउँछ । पोटासियम र म्याग्नेसियम पाइने भएकाले यसले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ । यसको मतलब यो तपाईंको मुटुको स्वास्थ्यको लागि पनि निकै राम्रो आहार हो ।
 
यसरी खानुस् सखरखन्डा
 
सखरखन्डा तरकारीको वर्गमा पर्ने भएपनि नेपालीका भात भान्सामा यो तरकारीमा प्रयोगमा आउँदैन । यसलाई उसिनेर वा पोलेर खान सकिन्छ । यसलाई बफ्याएर, ओभनमा बेक गरेर वा भुटेर पनि खान सकिन्छ ।

सखरखन्डा प्राकृतिक रूपमै गुलियो हुन्छ । तसर्थ, तपाईं यसलाई आफ्नो आहारमा धेरै तरिकाले समावेश गर्न सक्नुहुन्छ । सखरखन्डालाई तिल्लो (नारियल तेल, जैतूनको तेल वा एभोकाडो)सँग खानु लाभदायक हुन्छ । यसरी खाँदा सखरखन्डामा पाइने फ्याट–सोल्यूएबल न्यूट्रिएन्ट बीटा–क्यारोटिन पचाउन सहज हुन्छ ।
 
सखरखन्डा खानुका बेफाइदाहरूः
 
हरेक कुराका फाइदा हुन्छन् भने त्यसका केही बेफाइदा पनि हुन्छन् नै । आफ्नो आहारमा तपाईंले यसलाई नियमित तर नियन्त्रित रूपमा प्रयोग गर्नुपर्छ । यसमा चिनीको मात्रा उच्च हुन सक्छ, त्यसैले यसलाई धेरै मात्रामा खाँदा रगतमा चिनीको मात्रा बढ्न सक्छ । विशेष गरी तारेर खाइन्छ भने यो हानीकारक हुन सक्छ ।

सखरखन्डामा अक्सालेट्स पाइन्छ, जसले मृगौलामा पत्थरी गराउन सक्छ । त्यसैले मृगौलाको पत्थरीको समस्या भएकाले यसलाई सीमित मात्रामा खानुपर्छ । एकै पटकमा धेरै मात्रामा खाएमा यसले तौल पनि बढाउन सक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप