१२ बजे, १२ समाचार : 'कुलमानको अटेरीपन'देखि 'रूपन्देहीमा रविको गर्जन'सम्म
पछिल्ला २४ घण्टामा विकसित मुख्य-मुख्य घटनाक्रमहरूको संगालो रातको १२ बजे रातोपाटी डटकमको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ प्रस्तुत गरेका छौँ :-
१. फैसला कार्यान्वयन
ज्यान मार्ने उद्योगमा दोषी ठहर भएसँगै पक्राउ परेका गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) डिल्लीबजार कारागार चलान भएका छन् । मंगलबार राजधानीको सानोभर्याङबाट पक्राउ परेका मनाङेलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरेको थियो । लगत्तै अदालतले उनलाई केन्द्रीय कारागार पठाएको हो ।
२. रवि लामिछाने
सहकारीको रकम अपचलन अभियोगमा अनुसन्धानका लागि भैरहवा लगिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान बुधबार पनि लिइने भएको छ । लामिछानेसँग मंगलबार करिब ५ घण्टा बयान लिएपनि नसकिएपछि बुधबार पुनः लिइने भएको हो । सहकारीको रकम अपचलन, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका लामिछानेलाई पोखराबाट मंगलबार दिउँसो भैरहवा लगेर सरकारी वकिलको कार्यालयमा बयान लिइएको थियो ।
३. जापानमा मानव तस्करी प्रकरण
कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीसहित ९ जनालाई अदालतले ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालले उनीहरूलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका हुन् ।
फर्जी कागजात बनाएर युवाहरूलाई जापानमा लुकाउने नियत राखेर ‘मानव तस्करी’ गरेको आरोपमा पूर्वमन्त्री अधिकारी, दावा शेर्पा, जनक राई, कञ्चन देवकोटा, महेश पाण्डे, वीरबहादुर सुनार, जुगल रिजाल, गुड्डी राई र नविन राई हिरासतमा छन् ।
४. कस्टडीमा ३ भीआईपी
विगत २५ दिनको अवधिमा संघीय र प्रदेश गरी तीन सांसद प्रहरी कष्टडीमा पुगेका छन् । फरक फरक मुद्दामा उनीहरू 'कष्टडी'मा पुगेका हुन् । सहकारीको रकम हिनामिना र अपचलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने कात्तिक २ गतेदेखि प्रहरी हिरासतमा छन् ।
५. अख्तियार
सार्वजनिक पद धारण गरेकाहरूले अख्तियार दुरुपयोग गरी भ्रष्टाचार गरेको विषयमा अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ‘टाइम कार्ड’ लगाउने तयारी भएको छ । यसका लागि कानुनमै ‘निश्चित समय तोक्ने’ तयारी भएको हो ।
६. घुस अफर गर्ने वकिललाई नसिहतमात्र सजाय
कानुन व्यवसायी परिषद्ले गठन गरेको अनुशासन समितिले जिल्ला अदालत काठमाडौँका न्यायाधीशलाई घुसको अफर गर्ने अधिवक्ता रुद्रप्रसाद पोखरेललाई नसिहतको सजायमात्र गर्ने निर्णय गरेको छ ।
७. डेडिकेटेड तथा ट्रंक लाइनको महसुल विवाद
नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले महसुल नतिरेका उद्योगमा पनि लाइन जोड्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको निर्णय अनुसार ऊर्जामन्त्री दीपक खड्काले बोर्ड बैठकमार्फत उद्योगमा लाइन जोड्ने निर्णय गराएका हुन् ।
आइतबारको मन्त्रिपरिषद् बैठकले टीओडी मिटरका आधारमा महसुल तिर्ने १५ दिनको अवधि दिएर लाइन जोड्ने निर्णय गरेको थियो ।
८. हरिबोधिनी एकादशी
हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरी यो पर्व मनाइएको छ ।
प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ ।
९. क्यान्सरको जोखिम
अचेल बालीनालीमा विषादीको प्रयोग बढ्दै गएको छ । विषादी प्रयोग गर्नाले बालीनालीका कीरा तथा रोग निर्मुल हुने र बालीनाली सप्रिने कारण यसको प्रयोग बढ्दो छ । तर यसको प्रयोगले मानव जीवनलाई भने हानी पुर्याइरहेको हुन्छ ।
१०. वैदेशिक रोजगार
युरोप लगायतका विभिन्न मुलुकका लागि आउने मागपत्र वैदेशिक रोजगार विभागबाट प्रमाणीकरण गराउने प्रक्रिया अघि बढेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभागमार्फत मागपत्र प्रमाणीकरण गराउने प्रक्रिया अगाडि बढाएको हो ।
११. त्रिभुवन विश्वविद्यालय
त्रिभुवन विश्वविद्यालय अझै पनि आन्दोलन र प्रतिआन्दोलनको छायाबाट मुक्त हुन सकेको छैन । खुला प्रतिस्पर्धाबाट उपकुलपति, शिक्षाध्यक्ष र रजिष्ट्रार नियुक्त भए पनि त्रिभुवन विश्वविद्यालयमा राजनीतिक स्वार्थका आधारमा आन्दोलन र प्रतिआन्दोलनका गतिविधि कायमै रहेको हो ।
१२. नेपालको शानदार जित
संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी आईसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेटअन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगितामा नेपालले चौथो जित हासिल गरेको छ । नेपालले मंगलबार खेलिएको खेलमा कुवेतलाई एक सय ६५ रनको फराकिलो अन्तरले हराएको हो ।
टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित ओभरमा केवल दुई विकेट गुमाएर दुई सय १३ रन बनाएको थियो । विशाल विजयलक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको कुवेतले भने १३ ओभरमै अलआउट हुनुअघि ४८ रनमात्र बनाउन सक्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचन : पाँच राजनीतिक दलका उम्मेदवार सार्वजनिक
-
बागमतीमा भागबण्डाका लागि मन्त्रालय थपिन्छ तर छैन कानुनी अधिकार
-
शीतल निवासको गार्डेन सजाउन २४ लाखको ठेक्का !
-
यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची
-
धितोपत्र बोर्ड अध्यक्षको छनौट सूचीमा परेका तीन जनालाई अन्तर्वार्तामा बोलाइयो
-
पेट्रोलियम अन्वेषण : ७९ प्रतिशत ‘ड्रिलिङ’ सकियो