सुप्रिम सहकारीबाट रकम लिएको इन्कार गरे रविले, भोलि फेरि बयान
बुटवल । सहकारी ठगीबारे अनुसन्धानका लागि बयान लिन कास्कीबाट मंगलबार दिउँसो भैरहवा ल्याइएका पूर्वगृहमन्त्री रवि लामिछानेले रकम हिनामिनामा आफ्नो संलग्नता अस्वीकार गरेका छन् ।
जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा लामिछानेको बयान लिइएको हो । साँझ ६ बजे बयानको क्रम सकिएको छ । बुधबार (भोलि) पनि उनको बयान लिइने जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रञ्जित सिंह राठोरले जनाए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेसँगको बयानमा इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजय पण्डित, जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहित केही अनुसन्धान अधिकृत सामेल थिए । उनीहरूले सुप्रिम सहकारीको रकम हिनामिनाबारे लामिछानेसँग सोधपुछ गरेका थिए ।
मंगलबार सामान्य सोधपुछ भए पनि लिखित सोधपुछ बुधबार हुने जिल्ला न्यायाधिवक्ता पौडेलले जानकारी दिए । ‘आज सामान्य सोधपुछ भयो,’ उनले भने, ‘भोलिदेखि लिखित प्रश्न सोध्छौँ ।’
रवि लामिछानेलाई आज जिल्ला प्रहरी कार्यालय भैरहवामै राखिएको छ ।
बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको भन्दै लामिछानेविरुद्ध सङ्गठित ठगी गरेको आरोपमा अनुसन्धान भइरहेको छ । बयानमा भने उनले सहकारीबाट रकम नलगेको जिकिर गरेका छन् ।
सहकारीबाट आफ्नो नाममा गएको रकम कसले र कसरी लग्यो भन्नेबारे आफूलाई जानकारी नरहेको लामिछानेले बयानका क्रममा बताएका छन् ।
अनुसन्धानमा संलग्न स्रोतका अनुसार बयानमा रवि लामिछानेले आफूले सहकारीबाट रकम नलगेको र कसैलाई त्यस्तो आग्रह वा निर्देशनसमेत नदिएको जिकिर गरेका छन् ।
गोरखा मिडियाको तत्कालीन प्रबन्ध निर्देशकको हैसियतमा सहकारीबाट उक्त मिडियामा गएको रकमका विषयमा उनीसँग सामान्य सोधपुछ भएको बताइएको छ ।
सहकारी रकम हिनामिनाबारे छानबिन गर्न गठित संसदीय छानबिन समितिको प्रतिवेदनमा सुप्रिम सहकारीको खाताबाट गोरखा मिडिया नेटवर्कको खातामा सिधै रकम ‘ट्रान्सफर’ भएको उल्लेख छ । उक्त रकम कर्मचारी रोशनी गुरुङले जम्मा गरिदिएको उल्लेख छ । यससँगै रविको नाममा थप ९६ लाख रुपैयाँ प्रवाह भएको प्रतिवेदनमा उल्लेख छ ।
समर्थक र सहकारी पीडित सडकमा
रवि लामिछानेलाई भैरहवा ल्याएपछि सडकमा उनका समर्थकले विरोध प्रदर्शन गरे भने सहकारी पीडितले पनि सहकारी ठगीबाट निष्पक्ष छानबिन र अनुसन्धानका लागि दबाब दिँदै प्रदर्शन गरेका छन् ।
मंगलबार भैरहवास्थित गौतम बुद्ध विमानस्थलमा रवि लामिछानेलाई ल्याउनासाथ समर्थकहरू नाराबाजीमा उत्रिए । उनीहरूले लामिछानेलाई ठुला दलहरूले फसाएको आरोप लगाए ।
अर्कोतिर बुटवलको सुप्रिम सहकारीका पीडितहरूले आफ्नो रकम फिर्ता गर्नुपर्ने, दोषीलाई कारबाही गर्नुपर्ने भन्दै भैरहवामा दबाबमूलक प्रदर्शन गरेका छन् ।
सुप्रिम सहकारी पीडित संघर्ष समितिका संयोजक विजय नेपालले बुधबार पनि आफूहरूको प्रदर्शन जारी रहने बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले कोणसभा गर्दै रवि लामिछानेलाई फसाउने उद्देश्यले विभिन्न मुद्दा लगाइएको आरोप लगाए । उनीहरूले सहकारीभन्दा ठुलो मानव बेचबिखन, बालुवाटार जग्गा, सुन प्रकरणमा छानबिन तथा कारबाही अघि बढाउन सरकारले चासो नदेखाएको आरोपसमेत लगाए ।
रास्वपाका दीपक बाेहाेरा, जेपी गुप्ता, प्रमोद न्यौपाने लगायतले कोणसभालाई सम्बोधन गरेका थिए । रास्वपाका नेता तथा कार्यकर्ताले बुधबार पनि विरोध प्रदर्शन जारी रहने जनाएका छन् ।
रवि लामिछानेलाई सहकारीको रकम ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान गर्न कास्कीबाट प्रहरीले रुपन्देही ल्याएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पालिकाको प्रगति, ६ करोडको अदुवा बिक्री
-
१२ बजे, १२ समाचार : विपक्षी मोर्चामा ८० सांसद देखाएर प्रचण्ड देउवालाई फकाउँदैदेखि रविलाई कारागार पठाउन उच्च अदालतमा निवेदनसम्म
-
मधेसका स्वास्थ्य मन्त्री सवार गाडी दुर्घटना, तीन जना घाइते
-
अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले लिए शपथ
-
रुसी राष्ट्रपति पुटिनले ट्रम्पलाई बधाई दिँदै युक्रेन युद्धबारे के भने ?
-
चीनद्वारा एकैदिन तीनवटा रकेट इन्जिन इग्निशन परीक्षण पूरा