बिहीबार, २९ कात्तिक २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

मङ्गलबार, २७ कात्तिक २०८१, २२ : ००
मङ्गलबार, २७ कात्तिक २०८१

आज २०८१ कार्तिक २७ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

  • फैसला कार्यान्वयन

ज्यान मार्ने उद्योगमा दोषी ठहर भएसँगै पक्राउ परेका गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) डिल्लीबजार कारागार चलान भएका छन् ।  मंगलबार राजधानीको सानोभर्‍याङबाट पक्राउ परेका मनाङेलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरेको थियो । लगत्तै अदालतले उनलाई केन्द्रीय कारागार पठाएको हो ।

  • रवि लामिछाने

 सहकारीको रकम अपचलन अभियोगमा अनुसन्धानका लागि भैरहवा लगिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान बुधबार पनि लिइने भएको छ । लामिछानेसँग मंगलबार करिब ५ घण्टा बयान लिएपनि नसकिएपछि बुधबार पुनः लिइने भएको हो । सहकारीको रकम अपचलन, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका लामिछानेलाई पोखराबाट मंगलबार दिउँसो भैरहवा लगेर सरकारी वकिलको कार्यालयमा बयान लिइएको थियो ।

  • नेपालको शानदार जित

संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी आईसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेटअन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगितामा नेपालले चौथो जित हासिल गरेको छ । नेपालले मंगलबार खेलिएको खेलमा कुवेतलाई एक सय ६५ रनको फराकिलो अन्तरले हराएको हो । टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित ओभरमा केवल दुई विकेट गुमाएर दुई सय १३ रन बनाएको थियो । विशाल विजयलक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको कुवेतले भने १३ ओभरमै अलआउट हुनुअघि ४८ रनमात्र बनाउन सक्यो ।

  • त्रिभुवन विश्वविद्यालय

त्रिभुवन विश्वविद्यालय अझै पनि आन्दोलन र प्रतिआन्दोलनको छायाबाट मुक्त हुन सकेको छैन । खुला प्रतिस्पर्धाबाट उपकुलपति, शिक्षाध्यक्ष र रजिष्ट्रार नियुक्त भए पनि त्रिभुवन विश्वविद्यालयमा राजनीतिक स्वार्थका आधारमा आन्दोलन र प्रतिआन्दोलनका गतिविधि कायमै रहेको हो ।

  • अख्तियार

सार्वजनिक पद धारण गरेकाहरूले अख्तियार दुरुपयोग गरी भ्रष्टाचार गरेको विषयमा अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ‘टाइम कार्ड’ लगाउने तयारी भएको छ । यसका लागि कानुनमै ‘निश्चित समय तोक्ने’ तयारी भएको हो ।

  • जापानमा मानव तस्करी प्रकरण

कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीसहित ९ जनालाई अदालतले ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालले उनीहरूलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका हुन् । फर्जी कागजात बनाएर युवाहरूलाई जापानमा लुकाउने नियत राखेर ‘मानव तस्करी’ गरेको आरोपमा पूर्वमन्त्री अधिकारी, दावा शेर्पा, जनक राई, कञ्चन देवकोटा, महेश पाण्डे, वीरबहादुर सुनार, जुगल रिजाल, गुड्डी राई र नविन राई हिरासतमा छन् ।

  • डेडिकेटेड तथा ट्रंक लाइनको महसुल विवाद

नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले महसुल नतिरेका उद्योगमा पनि लाइन जोड्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको निर्णय अनुसार ऊर्जामन्त्री दीपक खड्काले बोर्ड बैठकमार्फत उद्योगमा लाइन जोड्ने निर्णय गराएका हुन् । आइतबारको मन्त्रिपरिषद् बैठकले टीओडी मिटरका आधारमा महसुल तिर्ने १५ दिनको अवधि दिएर लाइन जोड्ने निर्णय गरेको थियो । 

  • हरिबोधिनी एकादशी

हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरी यो पर्व मनाइएको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ ।  

  • क्यान्सरको जोखिम

 अचेल बालीनालीमा विषादीको प्रयोग बढ्दै गएको छ । विषादी प्रयोग गर्नाले बालीनालीका कीरा तथा रोग निर्मुल हुने र बालीनाली सप्रिने  कारण यसको प्रयोग बढ्दो छ । तर यसको प्रयोगले मानव जीवनलाई भने हानी पुर्‍याइरहेको हुन्छ । 

  • वैदेशिक रोजगार

युरोप लगायतका विभिन्न मुलुकका लागि आउने मागपत्र वैदेशिक रोजगार विभागबाट प्रमाणीकरण गराउने प्रक्रिया अघि बढेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभागमार्फत मागपत्र प्रमाणीकरण गराउने प्रक्रिया अगाडि बढाएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप