मुख्यमन्त्री शाहको १०० दिने उपलब्धि : शासकीय सुधारदेखि १० टन च्याउको बिउ उत्पादनसम्म
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले आफ्नो १०० दिने प्रमुख उपलब्धि सार्वजनिक गरेका छन् ।
गत साउन २१ गते मुख्यमन्त्रीमा नियुक्त भइ साउन ३० गते प्रदेश सभाबाट विश्वासको मत लिएका मुख्यमन्त्री शाहले मंगलबार आफ्नो १०० दिनको उपलब्धि सार्वजनिक गरेका हुन् ।
एक सय दिनको अवधि शासकीय दृष्टिले राजनीतिक, प्रशासनिक र आर्थिक पक्षमा उपलब्धिमूलक भएको मुख्यमन्त्री शाहले जनाएका छन् । तोकिएको समयभित्रै बजेट आउन नसके पनि यस अवधिको सुरुवाती समयमा राजनीतिक, प्रशासनिक र आर्थिक विषयमा सहमति जुटाउने, प्रदेश सभाको विश्वास लिइ राजनीतिक स्थायित्व र सुशासनको प्रत्याभूति दिने गरी विकास प्रयास र सेवाप्रवाहको बलियो जग बसाउने आधारभूत कार्य पूरा भएको उनको दाबी छ ।
मुख्यमन्त्री शाहले प्रदेशभित्र वित्तीय पारदर्शिता, सुशासन प्रवर्द्धन, भ्रष्टाचार न्यूनीकरण तथा समग्र सेवा प्रवाह, विकास निर्माण र राजस्व सङ्कलनलगायत नागरिक सरोकारका विविध पक्षमा केन्द्रित रही कार्य अगाडि बढाइरहेको उल्लेख गरेका छन् ।
आयोजना बैंकको कार्यान्वयन सुरू गरिएको र योजना तर्जुमादेखि कार्यान्वयनसम्मको कार्यलाई मागमा आधारित बनाइएको विषयमा मुख्यमन्त्री शाहले उपलब्धिको सूचीमा राखेका छन् । यसबिचमा कुल बजेटको ८.०२ प्रतिशत र पुँजीगततर्फ ५.९७ प्रतिशत खर्च भएको बताइएको छ ।
मुख्यमन्त्री शाहले एक सय दिनमा लक्ष्यको भन्दा २३.९४ प्रतिशत बढी राजस्व परिचालन भएको दाबी गरेका छन् ।
कानुन निर्माण तथा संशोधन
मुख्यमन्त्री शाहले कानुन निर्माण तथा संशोधनलाई पनि प्रमुख उपलब्धिको रूपमा व्याख्या गरेका छन् । एक सय दिनको अवधिमा सुदूरपश्चिम प्रदेश लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति २०८१, अपाङ्गतासम्वन्धी प्रादेशिक नीति २०८१, प्रदेश निजामती सेवा (पहिलो संशोधन) ऐन २०८०, सुदूरपश्चिम प्रदेश आर्थिक ऐन २०८१ र सुदूरपश्चिम प्रदेश विनियोजन ऐन २०८१ ल्याएको जनाइएको छ ।
साथै सामयिक राजस्व सङ्कलन सम्बन्धी ऐन २०८१, प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक (पहिलो संशोधन) २०८१ प्रदेश सभाबाट पारित भएको विषयलाई मुख्यमन्त्रीले सय दिने उपलब्धिको सूचीमा राखेका छन् ।
सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आफ्नै नेतृत्वको सरकारको समयमा प्रदेश सभामा दर्ता भएको र हाल उक्त विधेयक उपर प्रदेश सभाको विधायन तथा प्रदेश मामिला समितिमा छलफलको क्रममा रहेको मुख्यमत्री शाहले जनाएका छन् ।
१८.५ किलोमिटर सडक कालोपत्रे
मुख्यमन्त्री शाहले एक सय दिनमा भौतिक पूर्वाधार विकासमा पनि उपलब्धि भएको दाबी गरेका छन् । उनले यसअवधिमा १८.५ किलोमिटर सडक कालोपत्रे तथा २७ किलोमिटर सडक ग्राभेल भएको बताएका छन् ।
झोलुङ्गे पुल निर्माण गर्न १६ हजार मिटर लट्ठा खरिद गरिएको तथा ३० झोलुङ्गे पुल निर्माण गर्न स्थानीय तहलाई परामर्श सेवा दिइएको मुख्यमन्त्री शाहले जनाएका छन् । समीक्षा अवधिमा ८ वटा खानेपानी योजना सम्पन्न भइ ८९६ घरधुरीमा धारा जडान भएको तथा दुई वटा कभर्डहल निर्माणको काम सम्पन्न भएको जनाइएको छ ।
एक सय दिनको अवधिमा बाजुराको मार्तडी, अछामको साँफेबगर र कैलालीको गोदावरीमा कोल्ड चेम्बर निर्माण भएको पनि मुख्यमन्त्रीको सय दिने उपलब्धिको सूचीमा उल्लेख छ । यसैगरी ६१० हेक्टर क्षेत्रफलमा गहुँ तथा दलहन बालीको बिउ उत्पादन कार्यक्रम चलाएको, ३० वटा कृषक पाठशाला चलाएको, ५६५ हेक्टर जग्गामा व्यावसायिक आलु तथा तरकारी खेती विस्तार गरेको विवरण सरकारले सार्वजनिक गरेको छ ।
प्रदेश सरकारले च्याउ बिउ प्रयोगशाला मार्फत १०.८ टन च्याउको बिउ उत्पादन गरिएको जनाइएको छ ।
यस्तो छ १०० दिने उपलब्धिः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ६ महिनामा दुई सय १३ जना पक्राउ
-
दुई वर्षमा सूर्यविनायक–धुलिखेल सडक निर्माण ३५ प्रतिशतमात्र
-
चीनबाट आउने सामानमा अतिरिक्त महसुल लगाउँदै ट्रम्प
-
प्रादेशिक अस्पताल गौरमा पहिलो पटक आङ खस्ने रोगको अपरेसन
-
सिरहाबाट नलकटुवा पेस्तोलसहित दुई जना पक्राउ
-
भारत र अमेरिकाका विदेशमन्त्रीहरूको भेटवार्तामा के भयो कुराकानी ?