बिहीबार, ०६ मङ्सिर २०८१
ताजा लोकप्रिय

पुस्तक लेखकलाई चुनौती

मङ्गलबार, २७ कात्तिक २०८१, १८ : १२
मङ्गलबार, २७ कात्तिक २०८१

आजभोलि दैनिकजसो एउटा पुस्तक सार्वजनिक भएको खबर सामाजिक सञ्जालमा पढ्न पाइन्छ । प्रकाशनको गति यति धेरै भइसक्यो, ती सबैको खबर थाहा दिन पत्रपत्रिकालाई पनि भ्याइनभ्याई हुन थालेका छन् । यसबाट पुस्तक प्रकाशनको क्रम बढेको मात्र होइन, पठन संस्कृति पनि उकालो लागिरहेको अर्थ लगाउन सकिन्छ ।

यति हुँदाहुँदै पनि नेपाली पुस्तकको गुणस्तर नपुगेको र पुस्तक निकालेपछि केही हदसम्म लेखक तथा साहित्यकारको सूचीमा सूचीकृत भइन्छ वा त्यो दर्जा प्राप्त हुन्छ भन्ने मानसिकताले काम गरेको बुझ्न कठिन छैन । यसका लागि केही लेखका कृति पढे पुग्छ । हुन त यस्ता सामान्य लाग्ने तर गहिरो भावार्थ लुकेको गुनासो बारम्बार लेखकहरूलाई आउने नगरेको भने होइन । 

नेपालमा पुस्तक लेखन सुरु गरेका नयाँ लेखकमाथि मात्रै यस्तो प्रश्न भने गरिरहेका छैनौ; नाम चलेका, चर्चित पुरस्कार पाइरहेका र वर्षका ‘बेस्टसेलर’ पुस्तकलाई पनि समालोचकबाट खोट देखाउनु सामान्य हुन थालेको छ ।

विशेष गरी हाम्रा पुस्तक लेखकले लेखनको प्रारम्भिक कालमा लेखन अभ्यासको कमी अनि कला, शिल्प, इतिहास, संस्कृति र कल्पनाशीलताका अभावका कारण आलोचना खेप्नुपरेको हो । 

साहित्य लेखनमा आख्यानलाई लामो र कवितालाई छोटो विधा मानिन्छ । आख्यान विधामा उपन्यास र कथालाई लामो मानिन्छ भने लघुकथालाई छोटो । यस्तै कविता विधामा पनि गीत, गजल, मुक्तक, हाइकु, ताङ्का, बाछिटा आदिलाई छोटो र कवितालाई लामो मान्ने गरिन्छ । तर, आजभोलिका लेखमा छोटो विधामा लामो र लामो विधामा छोटो लेख्ने गरेको पाइन्छ । पाठकहरूको नजरमा उपन्यास लेख्न नसकेर कथा लेखेको, कविता लेख्न नसकेर हाइकु लेखेको अथवा कथा लेख्न नजानेर उपन्यास र हाइकु लेख्न नजानेर कविता लेखेका हुनजस्तो लाग्न थालिसक्यो । समालोचना गर्ने र साहित्यकारले यो बहसको विषय बनाउनुपर्छ ।


नयाँ लेखहरूले सुरुमा कविता, गीत, गजल, मुक्तक र हाइकुजस्ता छोटो विधामा कलम चलाएर दरो उपस्थिति बनाएपछि आख्यान र उपन्यासजस्ता लामो विधामा प्रवेश गर्दा आफ्नो ओजलाई जोगाउन सक्छन् । होइन भने लेख्नकै लागि पुस्तक लेखेर आत्मरतिमा रमाउनुबाहेक साहित्यमा उसको प्रवेशले तात्त्विक उपस्थिति जनाउन सक्दैनन् । अहिले त ‘कन्टेन’रहित मोटा पुस्तक लेखेरै साहित्यमा पदार्पण गर्न खोज्ने लेखकहरू धेरै देखिएका छन्, त्यो अर्थपूर्ण देखिँदैन ।

अहिले त ‘कन्टेन’रहित मोटा पुस्तक लेखेरै साहित्यमा पदार्पण गर्न खोज्ने लेखकहरू धेरै देखिएका छन्, त्यो अर्थपूर्ण देखिँदैन ।

हामी भन्न ‘लेख्नु भनेको मनलाई पोख्नु हो’ पनि भन्छौँ, त्यो होइन । लेख्नु भनेको देश र समाजलाई चिरफार गर्नु र सन्देश प्रवाह गर्नु पनि हो ।

‘दी गार्जियन’ पुस्तकमा एउटा छोटो चर्चा गरिएको छ । जहाँ एकपटक कवि रीता डोभलाई सोधिएको थियो— कवितालाई के कुराले सफल बनाउँछ ? उनले उत्तरमा तीन कुरालाई महत्त्व दिइन् । 
पहिलो— लेखकको मन । उसले के भन्न चाहेको छ, राजनीतिक चेतना र संवेदना । 

दोस्रो— उपकरण । यसले शब्दहरूलाई व्यवस्थित गर्ने काम गर्छ । 

तेस्रो— लेखकको पुस्तकप्रेम । लेख्नका लागि किताब पढ, पढ र पढ । 

दुःखको कुरा आजकालका लेखहरूसँग अरुलाइ पढ्ने मन छैन । देशको विगत र वर्तमान राजनीतिक चेतना छैन । अरु त अरु आफैँलाई पढ्ने एक मिनेटको फुर्सद नै कहाँ छ र ? उनीहरूलाई त केवल आफ्नो दिमागमा भएका कुरा लेखेर एकपछि अर्काे कृति सफलताको शुभकामना र विमोचनको र बधाई खानुपर्नेछ ।

मलाई विशेषगरी ‘फ्ल्यास फिक्सन’ मनपर्छ । जहाँ प्रक्रिया र प्रयोगवाद, रूप तथा सम्बन्धबारे मिहीन रूपले उल्लेख गरिएका हुन्छन् । ‘फ्ल्यास फिक्सन’ लेख्नेहरू र उनीहरूका पुस्तकहरू बजारमा पढ्न पाइए पनि काल्पनिक सम्बन्ध र रूपको सतही लेखाइले गर्दा धित मर्ने खाले हुँदैन । ‘माइक्रो फिक्सन’ पुस्तक र त्यसको जोखिम मोल्न त नेपाली लेखक अझैसम्म पूर्ण तयार छैनन् भन्दा फरक पर्दैन ।

एकातिर आजभोलि धन हुनेले मात्र पुस्तक निकाल्न सक्नेजस्तो भइसकेको छ । उनीहरूका पुस्तक लेख्नुअघि नै ठुलै रकमको ‘कन्ट्र्याक्ट साइन’ गर्ने प्रकाशन छन् । ‘कन्ट्रयाक्ट साइन’ गरेर एक समारोहमार्फत पुस्तकको व्यापक प्रचार–प्रसारको थालनी हुन्छ । पुस्तक लेख्नुअघि नै गरिएको प्रचारले पुस्तक के के न हो भन्ने पारिहाल्छ । त्यसपछि पुस्तकको गुदीमा जेसुकै होस्, चर्चा भइहाल्छ । तर जो लेख्न चाहन्छन्, उनीहरूसँग भाषा सम्पादन र शुद्धाशुद्धिका लागि पैसा हुँदैन । सित्तैँमा गर्दिने कोही पनि पाइँदैन । सित्तैँमा कोही–कसैलाई काममा लगाउनु पनि श्रम शोषण हुन्छ । तर, पुस्तक विमोचनपश्चात् आउने आम्दानीबाट पारिश्रमिक लिएरै पुस्तक प्रकाशनमा सहयोग गरिदिनेहरू नभेटिँदा कैयौँ अलिखित नोबेलहरू मनको दराजमा थन्किएका छन् ।

डायस्पोरामा बसेर लेख्नेहरूको पीडा पनि उत्तिकै छ । छुट्टीको समय निकालेर दिनरात नभनी किताब लेख्छन्, उनीहरूको किताबहरूको विमोचनले मूलधारका पत्रपत्रिकामा त्यति स्थान पाउँदैन । यसो समाजतिर चिरपरिचित व्यक्ति भए दुई–चार दर्जन पुस्तक बिक्छन्, लेखकहरूको त कुरै नगरौँ, कता हराउँछन् कता । 

विदेशमा विभिन्न साहित्यिक संस्था खोलेर बसेकाहरूले उचित मार्गनिर्देशन गर्न सके लेखमा निखारता र पुस्तकमा जीवन्तता भेटिन्थ्यो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुरेश भट्ट आश्रिन
सुरेश भट्ट आश्रिन
लेखकबाट थप