मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

पार्टी एकीकरण र आगामी बाटो

आइतबार, ०६ जेठ २०७५, १५ : ०५
आइतबार, ०६ जेठ २०७५

नरनाथ पाण्डे

नेपालका पुराना दुई ठूला कम्युनिस्ट पार्टीहरू मिलेर एउटै पार्टी बनाउने सपना मदन आश्रित स्मृति दिवस २०७५ साल जेठ ३ गतेको दिन पूरा भएको छ । संयोगले नै भन्नुपर्छ लेनिन, माक्र्स, मे दिवस वा माओ जयन्ती जस्ता विदेशी व्यक्तिहरूको सम्झना गर्ने दिनमा नेपालका कम्युनिस्ट पार्टीहरूले एकतामा जानका लागि साइत निकाल्न सकेनन् र आफ्नै देशको महान् परिवर्तनकारी विचारधारा जनताको बहुदलीय जनवाद (जबज) का प्रवर्तक मदन भण्डारी तथा कुशल पार्टी सङ्गठक जीवराज आश्रितको स्मृति दिवसको दिन एकताको साइत जुरेको छ । यसले पनि नेपालका अन्य दलहरू, अन्य कम्युनिस्टहरू र विपक्षी दलहरूबाट आउन सक्ने सम्भावित प्रतिक्रियालाई साम्य पारेको छ । यस आलेखमा पार्टी एकीकरणका सास्तीहरू, जनताको बहुदलीय जनवादको सार्थकता र कम्युनिस्टहरूको आगामी यात्राको बारेमा सानो सुझावमूलक टिप्पणी प्रस्तुत छ ।
पार्टीहरू एकैठाउँमा मिल्नु वा गाभिनु भन्ने कुराको पछाडि निकै ठूलो रस्साकस्सी, चर्काचर्की, क्रिया अन्तरक्रिया, बहस, छलफल, विचार मन्थन जस्ता आदि प्रक्रिया अपनाउनुपर्ने हुन्छ । यस्तै खालका विभिन्न चरणका प्रक्रिया अपनाई भरखरै मात्र नेपालका दुई ठूला कम्युनिस्ट पार्टी एक ढिक्का हुनु निकै ऐतिहासिक र कम्युनिस्ट आन्दोलनको सफलताको चरमचुली नै हो । यस्तो अवस्था आउन सक्ला भन्नेमा सबै विश्वस्त थिएनन् र सम्भावना पनि क्षीण हुँदै गइरहेको थियो । पृथ्वीका दुई धु्रव मिल्ने कुरा, चुम्बकका दुई धु्रव मिल्ने कुरा, कुकुर र बिरालो मिल्ने कुरा, आकाश नै खस्ने जस्तो अस्वाभाविक कुरा र यस्तो कुरा पत्याउने हामी सर्वसाधारण जनता नै मूर्ख भन्नेजस्ता कुरा एकताको सन्दर्भमा व्यापक रूपमा नगरिएका होइनन् । सुन्दा नै अचम्म लाग्ने खालका पानी बाराबार र एकले अर्कोलाई सिध्याउन लागिपरेका दुई फरक विचार र धारका कम्युनिस्ट पार्टी यसरी मिलेको सायद यो नै ऐतिहासिक अवसर वा दुर्लभ अवसर हो भन्दा फरक नपर्ला । यसबीचमा के कसरत भएनन् होला ? दुई पार्टीका नेताहरूको व्यवस्थापन, दुई पार्टीको सम्मानजनक एकता, दुई पार्टीमध्ये कुनै एकमा गाभिएको हो भन्ने सन्देश नदेखाई गर्नुपर्ने एकता, पार्टीका नेताहरूको भविष्यको समायोजन, चल अचल सम्पत्तिको व्यवस्थापन, गाउँ कमिटीसम्मका नेता कार्यकर्ताको समायोजन, वर्गीय र भातृ सङ्गठनबीचको समायोजन, हालसम्म चल्दै आएको सिद्धान्तको परित्याग, नयाँ परिवेश र नयाँ कार्यकर्ता तथा नेतासँगको सहकार्य, नयाँ सिद्धान्तबारे प्रशिक्षण जस्ता थुप्रै खालका अस्वाभाविक परिस्थितिको सामना गरी अघिबढ्नु चानचुने कुरा थिएन । जुन सहजै अवतरण हुन पनि केही समय लाग्ला तर एक ढिक्का भई कार्यकर्ता र नेता लागिपर्ने हो भने कुनै समस्या रहँदैन ।
    नेपालका दुई दिग्गज पार्टीहरूको एकता होला र भन्ने प्रश्नको उत्तर नेपाली जनताले अहिले भरखरै भेट्टाएका छन् । यसैमा लगभग दुवै पार्टीका नेता, शुभचिन्तक र कार्यकर्ता खुशी भएको अवस्था पनि रहेको छ । तर नेपाली सर्वसाधारण जनतालाई कुन पार्टी मिले के नमिले के खासै मतलब र चासो पनि छैन । तर अहिलेको परिस्थितिमा दुई पार्टीको एकीकरणमा जनचासो बढी मात्रामा रहेको थियो किनकि जनताहरूले स्थिर सरकार, भ्रष्टाचारको समाप्ति, सेवा सुविधा सुलभ, विकास र समृद्धि मात्रै चाहन्छन् । जुन कुरा बुझेर अहिले भरखरै बनेको नेपाल कम्युनिस्ट पार्टी अघि बढेमा जनचाहनाको सम्बोधन त हुन्छ नै, आफ्नो पार्टीको भविष्यको गोरेटोसमेत सफा हुनेछ । 
    विश्व कम्युनिस्ट आन्दोलनको इतिहास र नेपाली कम्युनिस्टहरूको इतिहासमा आकाश जमिनको फरक छ । नेपालका कम्युनिस्टहरू सशस्त्र द्वन्द्वबाट सत्तामा पुग्न सकिँदैन र पुगे पनि टिकाउ हुँदैन भन्ने सवालमा एक भएर अघि बढेको दृष्टान्त छ । विश्वका अन्य मुलुकमा रहेका कम्युनिस्टहरू माक्र्स,  लेनिन र माओले देखाएको बाटो नै ठीक हो । त्यसलाई तलमाथि नगरी गन्तव्यमा पुग्न सकिन्छ भन्ने मान्यता राख्छन् । जुनकुरा नेपाली माटोमा रहेका कम्युनिस्टसँग मेल खाँदैन । सत्ता प्राप्ति र विकास प्राप्त गर्न जबर्जस्ती अधिकार खोसेर र प्रतिक्रियावादी शक्तिलाई समाप्त पारेर मात्र सम्भव छ । यो सोचाइ अन्य मुलुकका कम्युनिस्टमा पाइन्छ भने नेपालमा त्यो बाटो उपयुक्त होइन कि जनताको मन जितेर लोकतान्त्रिक पद्धतिबाट पनि सत्तामा पुग्न सकिन्छ । यसबाट व्यापक जनमत प्राप्त गर्न सकिन्छ भन्ने सोचाइ राखेको पाइन्छ । यसैलाई नै जनताको बहुदलीय जनवाद भनिएको हो । जसका प्रवर्तक मदन भण्डारी हुन् र उनको सिद्धान्त नै नेपालका कम्युनिस्टहरूका लागि सहज भयो । 
अब संसारका अन्य मुलुकमा पनि नेपाली कम्युनिस्टहरूको सिद्धान्त लागू हुनुपर्छ । यदि यस्तो सिद्धान्तको अनुसरण गर्न थालियो भने स्वभाविक रूपमा द्वन्द्व र युद्ध समाप्त भई विश्वमै शान्ति छाउन सक्नेछ । अब यो सन्देश नेपालका कम्युनिस्टहरूले संसारभर लैजानुपर्ने आवश्यकता छ । विशाल पुँजीपति र विशाल साम्यवादी सत्ता चलाइरहेका दुई ठूला मुलुक भारत र चीनको बीचमा रहेको, यति सानो मुलुक नेपालमा जुन फरक ढङ्गको परिपाटी र राजनीतिक विचारधारा विकसित भएको छ, त्यसलाई संसारभर प्रचार प्रसार गर्नुपर्छ । नेपालमा सफल भएको जनताको बहुदलीय जनवादलाई समय सापेक्ष सुधार गर्दै एक छुट्टै जबज वादका रूपमा विकसित गर्न सकिने सम्भावना पनि छ । अब त नेपालका उच्च स्तरका कम्युनिस्ट नेताहरूले सारा संसारभर जबज सिद्धान्तको प्रशिक्षण दिन जाने बेला भएको छ । तैपनि अझै केही समय धैर्य गर्नैपर्छ । किनकि जनमत अनुसार सरकार र सत्ताको प्राप्ति त भयो तर विकास निर्माण र समृद्धिले कस्तो रूप लिने हो । त्यो भने हेर्न बाँकी नै छ । यदि अब नेपालको मुहार फेरियो, विकास र समृद्धि प्राप्त भयो, बेथितिहरू हटेर थिति बस्यो, स्थायी प्रकारको सरकार बन्यो, सबै पक्षलाई मिलाएर जान सक्यो, आर्थिक वृद्धि भई स्वदेशमै रोजगार र सन्तुष्टि प्राप्त भयो, २१औं शताब्दी अनुकूल नेपाललाई समेत लैजान सकियो, भ्रष्टाचारको अन्त भयो, नेपालीहरू विदेशिनु पर्ने भएन, आफ्नै देशमा बस्ने सबै नागरिकले अपनत्वको महसुस् गर्नसके भने मात्र जबज सिद्धान्त सही ठहर्नेछ । अन्यथा कुरामा मात्र जबज भन्दै गर्ने, जनमत अनुसार जनचाहना बमोजिमको काम नगर्ने, नेताले नीति बिर्सेर खल्ती मात्र भर्ने भयो भने गलत हुन जान्छ । आफूले पद र प्रतिष्ठा पाएपछि ठीक सोच्ने, योग्यता र क्षमता अनुसार ठीक व्यक्ति ठीक काममा नभई नातावाद कृपावादमै अल्मलिने हो भने यो एकताको खासै अर्थ रहँदैन । विपक्षीको र अल्पमतको कदर गर्न नजान्ने, जनतालाई दिने सेवा सुविधाप्रति ध्यान नदिई  रैतीको व्यवहार अबको व्यवस्थामा पाच्य हुन सक्दैन ।  शिक्षा, स्वास्थ्य, खाद्यान्न र लत्ताकपडा जस्ता आधारभूत आवश्यकता पूर्तिका लागि मात्र जनता खटिनुपर्ने, नेताहरू मोटाउने जनताहरू दुब्लाउँदै जाने प्रवृत्तिलाई उन्मूलन गर्नु पर्छ । कृषि भूमिको दोहन गर्ने, कृषि पशुपालन जस्ता आय आर्जन हुने पेसा व्यवसायलाई प्रोत्साहित गर्नुपर्छ । 
जनताको प्रत्यक्ष जीवनसँग जोडिएका र जनताले राहत अनुभव गर्ने परिवर्तन गराउने उद्देश्य राखिनुपर्छ । जनताका सरोकारका विषयलाई केन्द्रमा राखी विकासका सिद्धान्तका अनुसरण गरियो भने नेपालका कम्युनिस्टले पनि संसारकै परिवर्तन गराउन सक्छन् । अन्यथा क्षणिक पद र प्रतिष्ठाका लागि मात्र भएको एकता र सिद्धान्त हो भन्ने कुरा प्रमाणित हुन जान्छ ।
अब नेपालमा पनि केवल दुई वा तीनवटा मात्र पार्टीहरू हुनुपर्दछ । एउटा कम्युनिस्ट पार्टी जसले सबै कम्युनिस्टहरूलाई गोलबन्द गराओस्, अर्को लोकतान्त्रिक पार्टी जुन कम्युनिस्ट हुन चाहँदैनन् त्यस्तालाई संलग्न गराई गठन हुने पार्टी । अनि अर्को चाहिँ यी दुवैलाई नरुचाउने स्वतन्त्र अस्तित्व कायम गर्न चाहने पार्टी । यदि यी तीनवटा मात्र पार्टी नेपालमा अस्तित्वमा आउने र अन्य झिना मसिना सबै पार्टी विलय हुँदै जाने छन् । त्यस अवस्थमा मात्र विकास सम्भव छ । अनावश्यक धेरै पार्टी हुनु कुनै पनि दृष्टिकोणले राम्रो होइन । सबै कम्युनिस्टहरूले एउटा पार्टी  बनाउने, काँग्रेस तथा मधेसी दलहरू मिलेर अर्को पार्टी निर्माण गर्ने र साझा तथा नयाँ शक्ति जस्ता पार्टीहरू, पूर्व पञ्चका पार्टीहरू लगायत अन्य पार्टीहर मिलेर तेस्रो शक्तिको पार्टी बनाउनु उपयुक्त हुनेछ । यसो गरियो भने जनताले पनि कुनै बेला कसलाई, कुनैबेला कसलाई रोजेर सरकारमा पठाउने छन् । कुनै दलको बहुमत आउने सम्भावना पनि हुन्छ । संसारका धेरै विकसित देशहरूमा हे¥यौं भने प्रायः दुईवटा मात्र दलहरू अस्तित्वमा देखापर्दछन् । जनताले चुनावमा आलोपालो गरी शासन सत्ता सुम्पन्छन् । अनि ढुक्क भई कुनै दलले पूरा अवधि सरकार चलाउँछ । सरकार फेरबदलमा खासै चासो जाँदैन । यसरी यदि नेपालमा पनि विकास गर्ने हो भने र जहिले पनि सरकार गठन तथा विघटनमा मात्र नलाग्ने हो भने थ्रेस होल्डको प्रावधान राखेर मात्र हुँदैन । फरक धु्रवका दलहरू धु्रवीकरण भई एकीकृत पार्टी निर्माणमा लाग्नुपर्दछ । भरखरै एकीकृत भएका कम्युनिस्टहरूको सिको गर्दै अब नेपाली काँग्रेस पनि एकीकृत पार्टी निर्माणमा लागोस् र सफलता प्राप्त गरोस् अनि अर्जुनदृष्टि विकास र समृद्धिलाई मात्र दिन सकियोस् । 

कावासोती–८, नवलपुर
[email protected]

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप