लाल आयोग प्रतिवेदन : लोडसेडिङ हटेपछि प्रिमियम शुल्क लिनु उचित छैन

काठमाडौँ । आमजनताले लोडसेडिङ भोगेका बेला नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूलाई डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत दैनिक २० घण्टाभन्दा बढी बिजुली दिएको थियो । त्यसरी उपभोग भएको विद्युत्को शुल्क निर्धारणका बेला भने प्राधिकरण र उद्योगीबिच विवाद भयो । त्यही विवाद समाधानका लागि सरकारले लाल आयोग गठन गरेको थियो ।
२०८० माघमा सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा डेडिकेटेड तथा ट्रंक लाइन सम्बन्धी विवाद समाधानका लागि जाँचबुझ आयोग गठन गरेको थियो । आयोगले बुझाएको प्रतिवेदन करिब ९ महिनापछि सरकारले सोमबार सार्वजनिक गर्यो ।
आयोगले डेडिकेटेड तथा ट्रंक लाइनको महसुल निर्धारणका लागि २०७२ साउनदेखि पुससम्मलाई पहिलो अवधि भनेको छ । २०७२ माघदेखि २०७५ वैशाखसम्म दोस्रो र २०७५ जेठदेखि २०७७ सालसम्म तेस्रो अवधि मानेर अध्ययन प्रतिवेदन बुझाएको छ ।
पहिलो अवधिको विवाद डेडिकेटेड र ट्रंकलाइनको शुल्क नतोक्दै सुरु भएको र यसको समाधानका लागि शुल्क तोकेर दस्तुर लिनु उपयुक्त हुने लाल आयोगले जनाएको छ ।
दोस्रो अवधिमा लोडसेडिङको बेला उद्योगमा निरन्तर बिजुली आपूर्ति भएको समय यकिन गरी पुनः हिसाब गर्नुपर्ने र महसुल निर्धारण गर्न ठिक हुने आयोगले भनेको छ ।
तेस्रो अवधि लोडसेडिङ अन्त्य भए पछिको भएकाले डेडिकेटेड फिडर र ट्रंक लाइनको औचित्य सकिएको आयोगको भनाइ छ । यस कारण तेस्रो अवधिको प्रिमियम शुल्क लिनु उचित नहुने लाल आयोगको प्रतिवेदनमा उल्लेख छ ।
उद्योगीले विशेष खालको सेवा प्रयोग गरेबापत महसुल नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले पछिल्लो पटक कार्त्तिक ८ गते बिजुलीको लाइन काटिदिएको थियो ।
आइतबार मन्त्रिपरिषद्ले लाल आयोगका अनुसार टीओडी मिटरका आधारमा महसुल उठाउनुपर्ने र लाइन जोडेर उद्योगीलाई १५ दिनको समय दिनुपर्ने निर्णय गरेको छ । सोही निर्णयलाई मुख्य एजेण्डामा राखेर यतिबेला प्राधिकरण सञ्चालक समितिको बैठक बसिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलले वेस्ट बैंकका तीन शरणार्थी शिविर खाली गरायो
-
विभागले खाद्य नियमावलीको मस्यौदा तयार गर्ने
-
दुध ढुवानीमा समस्या देखिएको भन्दै संघद्वारा सहज आवागमनको माग
-
नेपाली जनप्रगतिशील मञ्च बहराइनको १५औं स्थापना दिवस सम्पन्न
-
शहरी र फोहोरमैला व्यवस्थापन राष्ट्रिय नीति कार्यान्वयनमा संघ, प्रदेश र स्थानीय तहले समन्वय गर्ने
-
पृथ्वीसँग ठोक्किने छुद्रग्रहका कुरा