कप्तान पूजाको उत्कृष्ट शतकसँगै नेपालले कुवेतलाई दियो २१४ रनको लक्ष्य
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी आईसीसी यू–१९ महिला विश्वकप क्रिकेटअन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगितामा मंगलबार नेपालले कुवेतलाई जितका लागि दुई सय १४ रनको लक्ष्य दिएको छ ।
आफ्नो पाँचौँ खेलमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित ओभरमा केवल दुई विकेट गुमाएर दुई सय १३ रन बनाएको हो । नेपालका लागि पूजा महतोले उत्कृष्ट शतकीय पाली खेलिन् । टोलीकी कप्तानसमेत रहेकी पूजाले अविजित १ सय ३० रन बनाइन् ।
जिम्मेबारीपूर्वक ब्याटिङ गरेकी उनले ६९ बलको सामना गरी १७ चौका पनि हिर्काइन् । उनको स्ट्राइक रेट १८८.४१ रह्यो । त्यसअघि १८ वर्षीया अनुभवी ब्याटर पूजाले त्यसअघि ५७ बलमा १२ चौकाको मद्दतले आफ्नो शतक पुरा गरेकी थिइन् ।
अन्तर्राष्ट्रिय क्रिकेटमा पूजाले बनाएको यो पहिलो शतक हो । शतक पुरा गर्दा उनको स्ट्राइक रेट १७५.४४ रहेको थियो । पूजाले अर्धशतक भने केवल २९ बलमा पुरा गरेकी थिइन् । नेपालका लागि सोनी पाख्रिनले पनि ४३ रनको योगदान गरिन् । सोनीले केवल ३३ बलको सामना गरी दुई चौका पनि हिर्काइन् । सावित्री धामीले पनि टोलीको खातामा ११ रन थपिन् । साना प्रवीणले ६ रन बनाइन् ।
नेपालले प्रतियोगितामा पाँचौँ खेल खेलेको हो । नेपालले यसअघि खेलिएको चारमध्ये तीन खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको छ । नेपालले आफ्नो पहिलो खेलमा थाइल्यान्डलाई ६७ रनले हराएको थियो । आफ्नो दोस्रो खेलमा नेपालले कुवेतलाई एक सय आठ रनले पराजित गरेको थियो ।
आफ्नो तेस्रो खेलमा भने नेपाली टोली आयोजक यूएईसँग १३ रनले पराजित भएको थियो । नेपाली टोलीले आफ्नो चौथो खेलमा थाइल्यान्डलाई एक सय ६ रनको सजिलो जित हात पारेको थियो । जारी प्रतियोगितामा चारवटा टोलीको सहभागिता रहेको छ ।
सहभागी चारवटै टोलीले एक–अर्कासँग दुई–दुई खेल खेल्नेछन् । त्यसपछि अङ्क तालिकाको पहिलो स्थानमा रहने टोली आईसीसी यू–१९ महिला विश्वकपका लागि छनोट हुने प्रावधान रहेको छ । यू–१९ महिला विश्वकप सन् २०२५ मा मलेसियामा आयोजना हुँदैछ ।
जारी प्रतियोगितामा हालसम्म चार खेल खेलेको आयोजक यूएई आठ अङ्कसहित तालिकाको पहिलो स्थानमा आसीन छ । यूएईले चारवटै खेलमा जित हात पारेको छ । समान खेल खेलेको नेपाली टोली ६ अङ्कसहित तालिकाको दोस्रो स्थानमा आसीन छ ।
यसै गरी, समान खेल खेलेको थाइल्यान्ड दुई अङ्कसहित तेस्रो र चारवटै खेलमा पराजय बेहोरेको कुवेत पाँचौँ स्थानमा छन् । एउटा टोलीमात्र विश्वकपमा छनोट हुने भएकाले अबका सबै खेलमा नेपाली टोली जित्नै पर्ने दबाबमा रहेको छ ।
नेपाली टोलीले बाँकी दुवै खेल जित्नु पर्नेछ भने आयोजक यूएई बाँकी दुईमध्ये एक खेलमा पराजित हुनु पर्नेछ । नेपाली टोलीले आफ्नो छैटौँ तथा अन्तिम खेल बुधबार आयोजक यूएईसँग खेल्नेछ । यूएईले भने आफ्नो पाँचौँ खेल मंगलबार नै थाइल्यान्डसँग खेल्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती सरकारले त्यागेकै हो सुरुङमार्ग मोह ?
-
बुटवलमा त्रिपिण्डी श्राद्ध एवं वास्तु विषयक गोष्ठी
-
निर्माण सामग्रीको अभावमा सिँचाइ आयोजनाको काम सुस्त गतिमा
-
व्यापार छाडेर विदेशतिर, के कारणले टिक्न सकेनन् व्यवसायी ?
-
कोशी प्रदेशमा सवारी दुर्घटना : पाँच महिनामा १९१ को मृत्यु, ३२७ जना गम्भीर घाइते
-
संसदीय समितिको निर्णयलाई अवज्ञा गर्दै बागमती सरकार