आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

रवि लामिछानेको गिरफ्तारी र पार्टीको भविष्य

रास्वपा राजनीतिक संगठन नभई रविको निजी क्लब हो ?

मङ्गलबार, २७ कात्तिक २०८१, १२ : ०९
मङ्गलबार, २७ कात्तिक २०८१

गत कात्तिक २ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई नेपाल प्रहरीले आफ्नै पार्टी कार्यालयबाट पक्राउ गर्‍यो । गोर्खा मिडिया नेटवर्क प्रालिको सञ्चालक बनेर विभिन्न सहकारीको रकम अपचलन गरेको आरोप उनीमाथि लगाइएको छ । 

असोज ७ गते गोर्खा मिडिया नेटवर्क प्रालिका अर्का साझेदार पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेपछि रवि लामिछानेलाई पनि पक्राउ पर्ने सम्भावना देखिएको थियो । अर्कोतिर, असोज ४ गते संसदीय छानबिन समितिको प्रतिवेदनले आफूलाई निर्दाेष साबित गरेको रविले बताइरहेका थिए । साथै उनले सरकारले राजनीतिक प्रतिशोध साँधेर आफूलाई पक्राउ गर्न सक्ने भन्दै त्यसको कडा प्रतिकार गर्न आफ्ना कार्यकर्तालाई आह्वान गरेका थिए । यद्यपि उनी पक्राउ परे र हाल थप अनुसन्धानका लागि प्रहरी हिरासतमा छन् । 

भ्रष्टाचारको विरोध र ‘नो नट अगेन’ भन्ने नाराका साथ राष्ट्रिय राजनीतिमा प्रवेश गरेको रास्वपा सरकारमा दुईपटक पुगे पनि निर्वाचनमा गरेका वाचा पूरा गर्न असफल भएको भन्दै आलोचना भइरहेको छ । 
पार्टी सभापतिको गिरफ्तारीको विरोधमा पार्टीका कार्यकर्ता आक्रोशित छन् र सडक आन्दोलनमा उत्रिएका छन् । दिनहरू बित्दै जाँदा रास्वपाको यो आन्दोलन कति न्यायसंगत हो र यसको आगामी निकास के हुनेछ भन्ने विषयमा विभिन्न टीका–टिप्पणी र बहस भइरहेका छन् ।  

२०७९ असार ७ गते स्थापना भएको रास्वपाको स्थापनाकालमा सैद्धान्तिक, राजनीतिक र वैचारिक दृष्टिकोण स्पष्ट थिएन । यद्यपि पछिल्लो समय उसले समाजवाद र लोकतन्त्रलाई आफ्नो प्रमुख सिद्धान्तका रूपमा प्रस्तुत गरेको छ । 

नेपाली राजनीतिको खस्किँदै गएको साख र कथित नयाँ शक्तिका खोक्रा नाराबाट वाक्क भएका जनताको मनोविज्ञानलाई सम्बोधन गर्ने उद्देश्यले यो पार्टीको गठन गरिएको थियो । टेलिभिजन पत्रकारितामार्फत नेताहरूलाई खबरदारी गर्दै र समस्यामा परेका नेपालीलाई सहयोग पुर्‍याउँदै चर्चामा आएका रवि लामिछानेको नेतृत्वमा केही मध्यम तथा उच्च वर्गीय व्यक्ति मिलेर यो पार्टी अघि बढिरहेको छ । पार्टीका अधिकांश नेता राज्य सत्तासँग राम्रो पहुँच भएका, सेवानिवृत्त सरकारी अधिकारीहरू वा युरोप, अमेरिका, जापानजस्ता देशमा लामो समय बसेर आर्थिक सम्पन्नता हासिल गरेका पनि छन् । 

रास्वपामा अहिले रविको जुन तरिकाले वकालत गरिँदै छ, त्यसले यो कुरा देखाउँछ कि रास्वपा राजनीतिक संगठन नभई रविको निजी क्लब हो । उसको परिचय क्लब नै हो भन्ने देखाउन यो आन्दोलनले थप बल पुगेको देखिन्छ ।

कुनै पनि संगठनले निश्चित उद्देश्य प्राप्त गर्नका लागि आफ्नो मार्गदर्शक सिद्धान्तका आधारमा काम गर्छ र उसका गतिविधि निर्धारित लक्ष्य प्राप्तिका लागि तय गरिएका सिद्धान्तबाटै सञ्चालित हुन्छन् । संगठनको नेतृत्वले आफ्नो निर्धारित नीति र सिद्धान्तप्रति दृढता देखाउँदै लक्ष्य प्राप्तिका लागि उच्चतम स्तरको चेतनाका साथ समर्पित भएर काम गर्न आवश्यक छ । 

वैचारिक र सैद्धान्तिक दृष्टिकोणमा अहिलेका नेपालका प्रमुख राजनीतिक दलहरू दलाल पुँजीपतिको सेवा गर्ने लयमा जाकिएका छन् । यसबाट नेपाली जनातालाई मुक्ति दिलाउन कठोर संघर्ष आवश्यक छ । रास्वपाले राज्यसत्ताको असली चरित्रको वस्तुगत विश्लेषण नगरी केही खुद्रा नाराहरू उठाउँदै पार्टीलाई अघि बढाइरहेको छ । यद्यपि यसले दलाल पुँजीवादी राज्यसत्ता र यसका समर्थनकर्तालाई ठेगान लगाउने आशा गर्नु मूर्खता हुनेछ । 

टेलिभिजनमा छँदा कहिले भ्रष्टाचारीका नाकका डाँडी भाँच्ने त कहिले टुँडिखेलमा उनीहरूलाई झुन्ड्याउने जस्ता उग्र र उरन्ठ्याउला नारा लगाएर रवि सेलिब्रेटी बनेका थिए, बिचौलिया राज्य व्यवस्थाबाट वाक्क भएका आम सर्वसाधारणका बिचमा । सैद्धान्तिक मूल्य र मान्यताबाट निर्देशित नभएको रास्वपाको यो प्रकारको चिल्लाहट राज्यसत्ताका सञ्चालकका लागि कानमा झ्याउँकीरी कराएजस्तै मात्र हो । यसले कुनै दीर्घकालीन निकासका लागि महत्त्वपूर्ण भूमिका खेल्दैन । ठोस नीतिगत, विचारधारात्मक र सैद्धान्तिक दृष्टिकोण नभएको पार्टीले जनताको मुद्दाहरू राज्यसत्तासँग प्रभावकारी रूपमा उठाउन र त्यसका लागि दृढ तथा निडर संघर्ष गर्न सक्दैन । र, अहिलेको पोखरा–काठमाडौँ आन्दोलन जनताका मुद्दा उठान गर्ने आन्दोलन पनि होइन ।  

आन्दोलनको सुरुवाती चरणमा मानिसको बाक्लो उपस्थिति देखिए पनि त्यो संख्या क्रमशः घट्दै गयो । कुनै पनि आन्दोलन सफल हुनका लागि स्थानीय जनताको व्यापक र उत्साहपूर्ण समर्थन हुनुपर्छ । अन्यथा त्यो सफल हुन सक्दैन । कुनै पनि पार्टी वा संगठनले उठान गरेको आन्दोलन जनताकै निम्ति छ र त्यसले जनताको अन्तर्मनमा राज्यविरुद्ध साहसपूर्ण विद्रोहको भावना पैदा गराउन सक्यो भने मात्र उनीहरूको अन्तिमसम्म साथ र समर्थन रहन्छ । जनता भ्रममा उम्लिएका छन् र ‘जाउँ न त’ भन्ने भावनाका साथ आन्दोलनमा सहभागी भएका छन् भने त्यो आन्दोलन दिगो हुँदैन र लामो समयसम्म टिक्न सक्दैन । फलस्वरूप आन्दोलनको नेतृत्व गरिरहेका नेताहरू सत्ताको सामु घुँडा टेक्छन् र आफू र आफ्नो पार्टीलाई बचाउनका लागि सम्झौता गर्छन् । 

यो कठोर लुटेरा राज्यसत्ताका विरुद्धमा सैद्धान्तिक र वैचारिक हिसाबले औँला समेत ठड्याउन नसक्ने हैसियतको पार्टी रास्वपा र यसका नेताबाट यो आन्दोलनलाई निष्कर्षमा पुर्‍याउन सम्भव देखिँदैन र जनताको ‘सेटब्याक’ले बिस्तारै त्यो परिदृश्य विकसित हुँदै गइरहेको छ । राज्यविरुद्ध जनताहरू निराश, आक्रोशित र उत्तेजक मानसिकतामा भएको अवस्थामा पनि रास्वपाको सैद्धान्तिक दृष्टिकोण दीर्घकालीन उद्देश्य पूरा गर्न असक्षम देखिएकाले आन्दोलनको राप निभ्दै गइरहेको देखिन्छ । जसले गर्दा रास्वपामा पराजित मानसिकताको बिजारोपण भइसकेको छ र यो राज्यसत्तासँग अब टिक्न नसक्ने छनक आइसकेको छ । यस प्रकारको संकट थप गहिरिँदै जाँदा रास्वपा उपसभापति डीपी अर्याल सभापतिलाई बचाइदिनका लागि टोलीसहित प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको दैलोमा धाइरहेका छन् । यसले थप पुष्टि गर्दछ कि रास्वपा मानसिक रूपमा हारिसकेको छ ।  

अर्का उपसभापति डा. स्वर्णिम वाग्ले आन्दोलनलाई थप आक्रोशित रूपमा अगाडि बढाउने र सरकारलाई घुँडा टेकाउने भन्ने आशयमा सार्वजनिक रूपमा बोल्दै आएका छन् । पार्टीको आन्तरिक स्थितिले भने एकजुटताको कमी देखाउँछ । विभिन्न पक्ष र पार्टीबाट पछाडि समाहित भएका नेताहरूका बिचमा बढ्दो सिट संघर्ष, स्वर्णिम र डीपीको कार्यकारी सभापतित्व हडप्ने प्रतिस्पर्धा, अनि कमजोर संगठनात्मक आधारले पार्टीको आन्तरिक शक्ति थप क्षय गराएको छ । रवि छुटाउने आन्दोलनको दिशा संकेतबारे पार्टीमा एकमतको अभावले समग्र पार्टी सञ्चालनमा थप चुनौती थपेको छ । 

केही समयअघि पार्टीका संस्थापक महामन्त्री डा. मुकुल ढकालको निष्कासन, रिक्त पदको भर्ना विषयमा पार्टीमा एकता नहुनु र योग्य व्यक्तिलाई मनोनयन गर्न नसक्दा कार्यवाहक नेतृत्वको अड्चनमा काम चलाउनुपर्ने बाध्यता पार्टीका लागि अर्काे दुर्भाग्य बनिसकेको छ । यस प्रकारको संगठनात्मक संकटका बिच रास्वपाले जनतालाई अझ थप संगठित गरेर आन्दोलनलाई प्रभावकारी रूपमा अघि बढाउन सक्ने सम्भावना भने अहिलेको परिस्थितिमा मात्र मूर्खतासिद्ध हुनेजस्तो देखिन्छ । 

रविलाई छुटाउने भनेर सुरु गरेको आन्दोलनले ‘सेटब्याक’ खाइसकेपछि नयाँ दिशा दिने प्रयास गरियो । फलस्वरूप उसले समग्र सहकारी पीडितलाई न्याय दिलाउने भन्दै नयाँ नारा थप गर्‍यो र तिनै नारामा बढी ध्यान केन्द्रित गर्दै नेताहरूले भाषणबाजी गरे । 

रवि पक्राउ पर्नुअघि देशको अवस्था ठिकठाक नै रहेको पाई सरकारमा गएर मन्त्री बन्न तयार रहेको रास्वपाको मस्तिष्कमा त्यस्तो के तस्बिर नाच्यो, जसले रवि पक्राउ पर्नासाथ देश बिग्रेको र भत्केको देखियो ? चुनावमा आफ्नो पार्टीलाई प्रतिपक्षमा बस्न जनादेश आएको र आफूहरू प्रतिपक्षमै बसेर सरकारलाई खबरदारी गरिरहने बताउने नेताहरूले सरकारलाई खबरदारी गरेर जनतासँगै बस्न किन नसकेका ? यसबाट के देखिन्छ भने रास्वपा आन्दोलन कुनै निश्चित उद्देश्य प्राप्तिका निम्ति नभई व्यक्तिगत स्वार्थ पूर्तिका लागि भइरहेको छ र केही नेतालाई जबर्जस्त राजनीतिक वृत्तमा स्थापित गराउने अवसरका रूपमा आन्दोलनलाई लिइएको छ । 

यस विषयमा प्रस्ट भएरै यो पार्टीले आन्दोलनको उठान गरेको हुनुपर्छ, साथै यसले थुप्रै मननयोग्य प्रश्न उठाएको पनि छ । त्यसो हो भने खुद्रा नारा लगाउँदै जनतालाई भ्रमजालमा किन पारेको ? पुराना दलले झुुट बोले, बेइमानी गरे, विकास गरेनन्, जनतालाई सुशासन दिएनन् भनेर कुर्लिने मानिस नै यस प्रकारको बेइमानी जनतालाई गर्दै छन् भने यसबाट जनता सचेत हुनुपर्दैन ? 

हामीले यो बुझ्न जरुरी छ कि यो पार्टी अहिले मात्रै होइन, सुरुवाती दिनबाटै भन्ने एउटा गर्ने अर्काेको परिचय बनाएका मानिसको हुल जम्मा भएको पार्टी हो । जसलाई पुष्टि गर्ने उदाहरणहरू डा. तोसिमा कार्की, सोबिता गौतम, विराजभक्त श्रेष्ठ लगायत पात्र हुन्, जसले जनताका बिचमा आफू स्वतन्त्र उम्मेदवार नै रहेको भनेर रास्वपाको चुनाव चिह्न घन्टीलाई प्रयोग गरेर चुनाव जिते । यहाँ चुनावको हारजितभन्दा पनि कुन सैद्धान्तिक आधारमा चुनावको अघिल्लो दिनसम्म स्वतन्त्र हुनुहुन्थ्यो र कुन सैद्धान्तिक आधारमा रास्वपा बन्नुभयो भन्ने कुरा प्रधान हो । रास्वपाको चुनाव चिह्न लिनुको न कुनै सैद्धान्तिक कारण छ, न त कुनै नवीनतम सोच । यस्तो प्रकारको छद्म शैलीका मानिसले चलाएको यो आन्दोलन सामान्य जनताको पक्षमा नभई केही सीमित व्यक्तिको व्यक्तिगत स्वार्थ पूर्तिको दृष्टिकोणबाट प्रेरित भएको स्पष्ट हुन्छ ।

यो आन्दोलनको केन्द्रीय पात्र सभापति लामिछाने हुन्, जो यसअघि नागरिकता काण्डमा दोषी देखिएर गृहमन्त्री पद साथै संसद् पद समेत गुमाएका थिए, अहिले उनलाई अनुसन्धान गर्दैमा के हुने हो ? के उनीविना रास्वपा सम्भव छैन ? के रविविना रास्वपाले श्वास फेर्न सक्दैन ? कुनै आपराधिक कार्यमा संलग्न भएको शंका लागेमा कसैलाई पनि पक्राउ गरेर अनुसन्धान गर्न राज्यलाई कोही–कसैले छेक्न सक्दैन । न्याय–अन्यायको कुरा राज्यको चरित्र, न्यायालयको स्वच्छता र न्याय पैरवीमा देखिने निष्पक्षतामा भर पर्छ, तर आफ्नो सभापतिलाई अनुसन्धानकै निम्ति पक्राउ गर्नु हुँदैन भन्नु कति जायज छ ? 

हो, यो राज्यले लाखौँ अपराधी पालेको छ, लुटेरालाई जनताको रगत चुस्न छुट दिएको छ, बिचौलिया र तस्करको दह्रो संरक्षक बनेको छ । त्यसो छ भन्दैमा अरूले जे गरे पनि हुने, अरूले खान पाउने, अरूले लुट्न पाउने, अरूले अपराध गर्न पाउने तर हामीले किन नपाउने भनेजस्तो तरिकाले रास्वपा नेपाली राजनीतिक वृत्तमा उत्रनु पक्कै पनि उत्तम संकेत होइन । 

अर्काेतर्फ, कुनै पनि पार्टी वा संगठनका हरेक सदस्य उक्त पार्टीको नीति तथा कार्यक्रमको जिम्मेवारीका हिसाबले बराबर महत्त्वपूर्ण मानिनुपर्छ । एउटा राजनीतिक पार्टी भनेको क्लबजस्तो हुँदैन; राष्ट्रिय राजनीतिका आवश्यकता, राज्यसत्ताको चरित्र र जनताको विद्रोह भावले राजनीतिक पार्टी जन्मने हो, जसमा जनताको सत्ता स्थापनाको सपना बोक्ने मानिसको सहभागिता हुन्छ, जसको शक्ति अजेय हुन्छ । अन्यथा त्यो राजनीतिक पार्टी नभई कुनै क्लबसरह हुन्छ । रास्वपामा अहिले रविको जुन तरिकाले वकालत गरिँदै छ, त्यसले यो कुरा देखाउँछ कि रास्वपा राजनीतिक संगठन नभई रविको निजी क्लब हो । उसको परिचय क्लब नै हो भन्ने देखाउन यो आन्दोलनले थप बल पुगेको देखिन्छ । 

यस दौरान रास्वपाले एउटा कुरा सही बोलेको छ । यो सरकारले राजनीतिक प्रतिशोध साँधेर नै रविलाई पक्राउ गरेको हो र यसमा दुई मत छैन । रास्वपा र यसका कार्यकर्ताले यो कुरा बुझ्नुपर्र्छ कि सरकार होस् वा राजनीतिक दल, जसको जे वैचारिक र सैद्धान्तिक धरातल हो, त्यही अनुरूपको व्यवहार गर्नुपर्छ र गर्छ । खासगरी कांग्रेस–एमाले गठबन्धन सरकार माओवादी नेतृत्वको सरकारले भ्रष्टाचार नियन्त्रणसम्बन्धी उठान गरेका केही सकारात्मक कदमको प्रत्युत्पादक हो, जसले वर्षाैंदेखि यो राज्यलाई लुटेका छन् । सहकारी ठगीसम्बन्धी संसदीय समितिको प्रतिवेदनमा आएका नामहरू, जो कांग्रेस–एमालेका नेता थिए, उनीहरूलाई संरक्षण गर्नु र रास्वपा सभापति रवि लामिछानेलाई समात्नु पूर्णरूपमा राजनीतिक प्रतिशोध नै हो । सरकारले यो केसमा रवि नमुछिएको भए अर्कै तरिकाले राजनीतिक प्रतिशोधलाई अगाडि बढाउँथ्यो, तर रवि लामिछाने जुन कम्पनीमा सहकारी ठगी गरेको रकम आएको भनिएको थियो, त्यसको सेयर सदस्य तथा प्रबन्ध निर्देशक भएकाले उनीमाथि अनुसन्धान गर्नु हुँदैन भन्नु महामूर्खता नै हुन्छ । रास्वपा त्यो लाइनमा हो भने एमाले–कांग्रेसले देश लुटेर खाए, अब हामी सत्तामा गएर केही गर्छाैं भन्नु कति उचित छ ? 

राज्यको चरित्र र यसले गर्ने काम–कारबाही के कस्ता हुन्छन् र तिनीहरूको विरुद्ध कसरी संघर्ष गर्ने भन्ने विषयमा रास्वपा अनाडी नै रहेको देखिन्छ, जुन यो आन्दोलनको प्रत्युत्पादक बन्दै गइरहेको छ । 
रास्वपा सदस्यहरू र आम जनताले यो कुरा बुझ्नुपर्छ कि रास्वपा सभापति रवि लामिछाने सबैभन्दा पहिला यस पार्टीका सदस्य हुन् र अनि मात्र उनी सभापति हुन् । कुनै काण्डमा सहभागी रहेको आरोप लागिसकेपछि त्यसको स्वतन्त्र छानबिन हुन सहयोग गरेर अदालतको न्याय पर्खन रास्वपाले धैर्य गर्नुपर्ने हो । संविधान अनि न्यायालय नमान्ने अधिकार रास्वपालाई छ तर मौका पाए सरकारमा पनि जाने, यो संविधान मान्ने, न्यायालयलाई मान्छौँ भन्ने अनि काम उल्टो गर्न सुहाउँदैन ।  

रवि थुनामा जाँदा रास्वपाको भविष्य अन्धकार बन्छ, पार्टी सञ्चालनमा गम्भीर अवरोध पैदा हुन्छ भन्ने हो भने यस प्रकारको पार्टीको औचित्य के ? कुनै व्यक्तिविना पार्टी चल्न सम्भव छैन भने यो पार्टी आजदेखि बन्द गरिदिए हुन्छ । रवि लामिछाने नै यसका सर्वेसर्वा हुन् भने रास्वपाका २१ सांसद किन चाहियो ? आफू सांसद भएको र यो राज्यका निम्ति त्यो पदको सदुपयोग गर्नुपर्छ भन्ने चेत २० सांसदलाई किन नआएको ? यो प्रश्नले स्पष्ट पार्छ कि पार्टीको नेतृत्व र सदस्यहरूको भूमिकामा स्पष्ट छैन र जिम्मेवारीको अभाव छ । 

वैचारिक र सैद्धान्तिक दृष्टिकोणसहित खराब सत्ताविरुद्धको विद्रोह र त्यागको भावले ओतप्रोत हुन्छ असल राजनीति । जनताका मुद्दा उठाउने नाममा सतही नाराहरू मात्रै उरालेर हुँदैन, समाजका गहिरा समस्या केलाएर सोही अनुरुप अगाडि बढ्न सक्नुपर्छ । रास्वपा यस प्रकारले संवेदनशील देखिँदैन । बरु जनतामारा राज्यसत्ताको प्रयोग गरी सस्तो लोकप्रियता बटुल्न र व्यक्तिगत जीवनलाई सुरक्षित गर्न केन्द्रित देखिन्छ । 
यो पार्टीले राज्यसत्ताको विरोध त गर्छ, त्यसकै छत्रछायामा बसेर आफ्नो जीवन चलाउने सोच राख्छ । सुशासन र भ्रष्टाचारको अन्त्यका लागि कटिबद्ध रहेको दाबी गर्छ, तर आफ्नै पार्टीका कुनै सदस्यमाथि मुद्दा लाग्दा विचलित हुँदै आफ्नै बाटोबाट चिप्लिन्छ । ‘नो नट अगेन’ भन्दै परिवर्तनको नारा गुन्जाउँछ, तर अवसर मिलेसम्म पुरानै अनुहारलाई दोहोर्‍याएर सरकारमा पुग्छ । आफू विचार र वादमा अडिग नभएको बताउँछ तर व्यक्तिवाद, उपभोक्तावाद, दलाल पुँजीवाद र अराजकतावादको प्रभावमा रहेको छ । साउनमा आँखा फुटेको गोरुले जस्तै सबै परिस्थितिलाई एउटै नजरले हेर्छ, एउटै तरिकाले सोच्छ, अनि एउटै ढंगले व्यवहार गर्छ । यस्तो चौतर्फी विरोधाभास बोकेको पार्टीले रविको नाममा आन्दोलन गर्नेबाहेक अरु उद्देश्य राख्न सक्दैन । यसरी कमजोर जगमा उभिएको पार्टीले केही थान सांसदलाई मात्र पार्टीका नेताका रूपमा स्थापित गर्ने प्रयास गर्नुका अतिरिक्त कुनै ठोस परिणाम हासिल गर्न सक्दैन र अन्ततः पार्टी विघटन हुने निश्चितजस्तै छ । 
(लेखकका निजी विचार हुन् ।)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ई. युवराज आचार्य
ई. युवराज आचार्य
लेखकबाट थप