आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
स्थानीय तह उपनिर्वाचन

गौरीशंकरको उपाध्यक्षमा ३ शेर्पाबिच प्रतिस्पर्धा

मङ्गलबार, २७ कात्तिक २०८१, १० : ०८
मङ्गलबार, २७ कात्तिक २०८१

मकवानपुर । आगामी मंसिरमा हुने स्थानीय तह उपनिर्वाचन अन्तर्गत दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा पनि निर्वाचन हुँदैछ । उपनिर्वाचनमा मुख्य दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले समुदाय केन्द्रित भएर उम्मेदवार खडा गरेका छन् ।

गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष पदका लागि कांग्रेसले पासदिकी शेर्पा, एमालेले उमा मगर शेर्पा र माओवादी केन्द्रले निमलेकी शेर्पालाई उम्मेदवार बनाएको छ । शेर्पा तथा तामाङ समुदायको बाहुल्यता रहेको उक्त गाउँपालिकामा नेकपा एकीकृत समाजवादीले भने रविना खड्कालाई टिकट दिएको छ ।

राप्रपा, रास्वपा लगायतका दलहरूले भने यो पालिकाको उपाध्यक्ष पदका लागि उम्मेदवार टुङ्ग्याएका छैनन् ।

२०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा निर्वाचित उपाध्यक्ष श्यामसुन्दर तामाङको निधन भएपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो । २०८० असार ३१ मा हृदयरोगका कारण उपाध्यक्ष तामाङको निधन भएको थियो ।

वडा सदस्यमा पराजित निमलेकीलाई माओवादीको टिकट

उच्च पहाडी तथा हिमाली क्षेत्रमा अवस्थित गौरीशंकरको पूर्वी सिमाना सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका तथा रामेछापको उमाकुण्ड गाउँपालिकासँग जोडिएको छ । दक्षिणमा दोलखाको जिरी नगरपालिका तथा बैतेश्वोर गाउँपालिका र पश्चिममा कालिन्चोक गाउँपालिका तथा विगु गाउँपालिकासँग जोडिएको छ । उत्तरतर्फ भने चीनसँग गौरीशंकरको सिमाना जोडिएको छ ।

साविकको जुगु, झ्याँकु, सुरी, चंखु, मार्वु, खारे, तथा गौरीशंकर गाउँ विकास समिति मिलेर कायम भएको गौरीशंकर गाउँपालिकामा ९ वटा वडा छन् ।

पालिकाको उपाध्यक्ष पदमा माओवादीले उम्मेदवार बनाएको निमलेकी शेर्पा २०७४ को स्थानीय तहको निर्वाचनमा महिला वडा सदस्य पदमा पराजित भएकी थिइन् । उनी २०७४ मा गौरीशंकर वडा नम्बर–७ को महिला वडा सदस्य पदमा एमालेकी कविता गुरुङसँग पराजित भएकी थिइन् । उनले २०७९ को निर्वाचनमा अवसर पाएकी थिइनन् ।

गत कात्तिक ८ गते बसेको गाउँपालिका कमिटीको बैठकले उनको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको थियो । सिफारिस अनुसार माओवादी केन्द्रले निमलेकीलाई टिकट दिएको हो । उनी स्वास्थ्य स्वयंसेविका समेत हुन् ।

गौरीशंकर–७ की निमलेकीले टिकट पाए लगत्तै चुनावी गतिविधिलाई अगाडि बढाएकी छन् ।

सहानुभूति मत संकलन गर्ने कांग्रेसको योजना

गत २०७९ को स्थानीय तहमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनबाट गौरीशंकरको उपाध्यक्ष पदमा कांग्रेसका श्यामसुन्दर तामाङ विजयी भएका थिए । उनले ४ हजार ७४१ मत सहित जित निकाल्दा एमालेकी मुना शिवाकोटी केसीले ३ हजार २८१ मत पाइन् ।

तामाङको मृत्यु भएपछि कांग्रेसले उनको श्रीमती पासदिकीलाई उपनिर्वाचनमा उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेसले सहानुभूति मत सङ्कलन गर्ने रणनीति अनुसार पासदिकीलाई टिकट दिएको हो ।

विगत १५ वर्षदेखि दोलखा कांग्रेसको महाधिवेशन प्रतिनिधि रहेकी पासदिकी महिला संघको बागमती प्रदेश सदस्य हुन् । टिकट पाए लगत्तै उनले निर्वाचनको गतिविधि अघि बढाएकी छन् ।

गुमेको पद फर्काउने एमालेको रणनीति

२०७४ मा गौरीशंकरको अध्यक्ष तथा उपाध्यक्ष पदमा एमालेका उम्मेदवारले जित निकालेका थिए । तत्कालीन समयमा कांग्रेस, माओवादी केन्द्रबिच गठबन्धन हुँदा एमाले एकल रूपमा चुनावमा गएको थियो ।

सो समयमा अध्यक्षमा एमालेका सोयम बहादुर खड्का (४ हजार २४९ मत)ले माओवादी केन्द्रका निमा लामा (३ हजार ४४० मत)लाई पराजित गरेका थिए । उपाध्यक्ष पदमा पनि एमालेले जित निकालेको थियो । एमालेकी उर्मिला थामी केसी (४ हजार १७६ मत)सहित विजयी हुँदा कांग्रेसका कमल विक्रम खड्का (३ हजार २८१ मत) पराजित भएका थिए ।

२०७४ को निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष सहितका पदमा जित निकालेको एमाले २०७९ को निर्वाचनमा भने पराजित भयो । २०७९ मा कांग्रेस–माओवादीको गठबन्धन विरुद्ध चुनावी अभियानमा होमिएको एमालेले दुवै पद गुमायो । सो निर्वाचनमा अध्यक्ष पदमा माओवादी केन्द्रका विकास कार्की (४ हजार ७५१ मत)ले एमालेका जंगबहादुर गुरुङ (३ हजार ७७५ मत)लाई पराजित गरे ।

उपाध्यक्ष पदमा भने कांग्रेसका तामाङ (४ हजार ७४१ मत)ले एमालेकी मुना शिवाकोटी केसी (३ हजार २८१ मत)लाई पराजित गरेका थिए ।

एमालेले उपनिर्वाचनमा उपाध्यक्ष पदका लागि उमा मगर शेर्पालाई टिकट दिएको छ । सामाजिक क्षेत्रमा क्रियाशील शेर्पा पहिलो पटक चुनावी मैदान होमिन लागेकी हुन् ।

गत निर्वाचनमा फराकिलो मतान्तर

२०७९ को स्थानीय तह निर्वाचनमा उपाध्यक्ष पदमा एमाले र कांग्रेसका उम्मेदवारबिच १ हजार ४६० मतको अन्तर थियो ।

एमालेकी उम्मेदवार मुनाले ३ हजार २८१ मत पाउँदा कांग्रेसका तामाङले ४ हजार ७४१ मत पाएका थिए ।

यता माओवादी केन्द्र भने गत निर्वाचनमा निकै फाइदामा देखिएको छ । कांग्रेस–माओवादी गठबन्धनबाट २०७९ को निर्वाचनमा गौरीशंकरको ९ मध्ये ५ वडाको अध्यक्ष पद माओवादीले जितेको थियो । सो निर्वाचनमा एमालेले एक र कांग्रेसले ३ वटा वडामा अध्यक्ष पद जितेको थियो ।

उक्त निर्वाचनमा गौरीशंकर–१, २, ३, ४, ५ र ९ मा गठबन्धन भएको थियो । जसअनुसार माओवादीले १, २, ३ र कांग्रेसले ४ र ९ मा जितेको थियो । ५ मा भने एमालेले जितेको थियो । गठबन्धन नभएको वडा नम्बर–६, ७ र ८ नम्बर वडामध्ये माओवादीले ७ र ८ मा जित्दा कांग्रेसले ६ मा जितेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप