बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

चितवनमा १० प्रकारका आलुको अध्ययन

मङ्गलबार, २७ कात्तिक २०८१, ०१ : ००
मङ्गलबार, २७ कात्तिक २०८१

चितवन । जिल्लामा आलुका जातको अध्ययन सुरु गरिएको छ । जिल्ला कृषि विकास कार्यालय चितवनले आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत धान, मकै र आलुको उन्नत जात तथा स्वदेशी हाइब्रिड जात, जातिको अध्ययन परीक्षण तथा प्रविधि अनुसरण कार्यक्रमअन्तर्गत आलुका जातहरुको अध्ययन सुरु गरिएको हो ।  

कार्यालयका सूचना अधिकारी सुरुचि त्रिपाठीका अनुसार कृषकलाई अनुदानको कार्यक्रम गर्दै आएको कार्यालयले यस वर्ष अध्ययन  कार्यक्रम गरिएको हो । विभिन्न १० प्रकारका आलुको अध्ययन सुरु गरिएको उनले जानकारी दिए। 

अध्ययन सुरु गरिएका आलुमा ० दशमलव ५२, २५ दशमलव ७, एल्बर स्टोन रसेट, क्यामेन, स्यागिटा, क्युन्टेरा, इनोभेटरलगायतका जातको अध्ययन परीक्षण थालिएको हो । यस्तै, फ्राइसोना, सन्ताना र स्थानीय नीलो जातको आलुको अध्ययन गर्न लागिएको उनले बताए । 

उनका अनुसार अहिले जातीय परीक्षण तथा औद्योगिक आलुको बारेमा अध्ययन सुरु गरिएको छ । औद्योगिक आलुका रुपमा फ्रेन्चफ्राइ, चिप्सजस्ता वस्तु उत्पादनका लागि आलु चितवनमा उत्पादन गर्न सकिन्छ की सकिँदैन भन्ने अध्ययन थालिएको हो । 

एउटा जातको २५ किलो आलुका दरले कृषक र रामपुर कृषि क्याम्पस खैरहनीमा अध्ययन थालिएको हो । 

खैरहनी नगरपालिकाका वडा नम्बर १० कठारका कृषकको बारीमा आलु लगाइ सकिएको छ भने क्याम्पसमा केही दिनमा लगाउने तयारी गरिएको छ । 

किसानले परापूर्बक कालदेखि लगाउँदै आइरहेका आलुको भन्दा परीक्षण स्वरुप लगाइएका आलुको उत्पादन, आकार, लोकप्रियता, स्वाद, रोग किराको आक्रमण, बिक्री वितरणमा सहजतालगायतका विषयमा अध्ययन गरिने उनले बताए । 

आलुको उत्पादन क्षमता हेरेर कुन आलुलाई यस क्षेत्रमा लगाउँदा बढी प्रतिफल लिन सकिन्छ भन्ने विषयमा अध्ययन गरिने सूचना अधिकारी त्रिपाठीले बताए । उत्पादन सफल भएमा स्थानीय कच्चा पदार्थको प्रयोगले उत्पादन बढाएर व्यावसायिक आलु खेतीमा कृषकलाई लगाउन मद्दत पुग्ने कार्यालयका प्रमुख झलकनाथ कँडेलले बताए । 

उनले भने, 'आलुखेती गर्ने कृषकका लागि यो अध्ययन फलदायी हुने छ ।' जिल्लामा गत आर्थिक वर्षमा एक हजार नौ सय ९० हेक्टर क्षेत्रफलमा आलुखेती गरिएको थियो । जसबाट ४९ हजार छ सय ७६ मेट्रिक टन आलु उत्पादन भएको उनले बताए। क्षेत्रफल र उत्पादन बढाउन यो प्रयोग फलदायी हुने उनले विश्वास व्यक्त गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप