कोप–२९ : जलवायुजन्य संकट सामना गर्न 'अपिल'
बाकु (अजरबैजान) । अजरबैजानको बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) को सोमबारदेखि सुरु भएको छ ।
उद्घाटन कार्यक्रममा जलवायुले निम्त्याएका समस्याको सामना गर्न विश्व समुदायबीच एकता र सहकार्यताको लागि अपिल गरियो । २२ तारिख (मङ्सिर ७ गते) सम्म चल्ने कोपमा भाग लिन नेपालको प्रतिनिधित्व गर्दै राष्ट्रप्रमुख रामचन्द्र पौडेल बाकु पुगेका छन् ।
कोपको उद्घाटन सत्रमा बोल्ने तीन वक्ताहरु कोप २९ का अध्यक्ष मुख्तार बाबायेभ, निवर्तमान कोप २८ का अध्यक्ष सुल्तान अल जाबेर, संयुक्त राष्ट्रसंघका जलवायु परिवर्तन कार्यकारी सचिव साइमन स्टियलले जलवायु परिवर्तनको समस्या समाधानमा एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।
सम्मेलन उद्घाटनका क्रममा कोप २९ का अध्यक्ष बाबायेभले जलवायु परिवर्तनका कारण विश्व नै विनासको मार्गमा पुगेकाले समस्या समाधानमा एकता र सहकार्यमा जोड दिनुपर्ने बताए ।
उनले जलवायुजन्य समस्या समाधानका लागि र जलवायु जोखिमले ल्याउन सक्ने सम्भावित समस्याहरुको विषयमा एकजुट भएर समाधान गर्नुपर्नेमा जोड दिए ।
'जलवायुजन्य समस्या निराकरणका लागि पेरिस सम्झौता कडाइका साथ कार्यान्वयन गर्न र सबैले आआफ्नो प्रतिबद्धता पूरा गर्न जरुरी छ, सबै मुलुकले निर्धारण गरेका लक्ष्यहरू पूरा गर्न प्रतिबद्ध हुनुपर्छ,' उनले भने ।
सबै मुलुकहरु नीतिगत मात्रै नभई तोकिएका लक्ष्य पुरा गर्न प्रभावकारी कार्यन्वयनमा जुट्नुपर्ने उनको भनाई छ ।
'तपाईंले देख्नु नभए पनि, जलवायु परिवर्तनले सिर्जना गरेका जोखिमका कारण विश्वका मानिसहरू पीडामा छन्, तिनीहरू कष्ट भोग्दै छन् । अब तिनीहरूलाई केवल सहानुभूति, प्रार्थना वा कागजी प्रक्रिया मात्र होइन, कोप–२९ सबैका लागि नयाँ मार्ग पहिल्याउने अपरिहार्य क्षण हो,' अध्यक्ष बाबायेभले थपे, 'विश्वमा देखिएको जलवायु परिवर्तनको समस्या समाधान गर्न सबैबाट सहयोग आवश्यक छ ।'
निवर्तमान कोप–२८ का अध्यक्ष सुल्तान अल जाबेरले जलवायु समस्या निराकरण गर्न भाषणले मात्रै नहुने स्पष्ट पारे। 'म तपाईंलाई अन्तिम सन्देश दिन चाहन्छु, सकारात्मकताले जलवायुजन्य समस्या समाधान प्रक्रियालाई बलियो बनाउन सकोस्,' उनले भने ।
संयुक्त राष्ट्रसंघका जलवायु परिवर्तन कार्यकारी सचिव साइमन स्टियलले कोपमा उपस्थित हरेक मुलुकका राजनीतिक पार्टीहरूले जलवायुका समस्याबाट बाहिर निस्कने उपाय खोज्न आवश्यक रहेकोमा जोड दिए ।
'जलवायुजन्य समस्या समाधानका लागि हामी बाकुमा छौँ, हामीले नयाँ जलवायु वित्त लक्ष्यमा सहमति गर्नै पर्छ । यदि कम्तीमा दुई तिहाई राष्ट्रहरू छिटो उत्सर्जन कटौती गर्न सक्दैनन् भने हरेक राष्ट्रले त्यसको मूल्य चुकाउनु पर्नेछ,' उनले भने ।
स्टियलका अनुसार महत्वाकांक्षी नयाँ जलवायु वित्तको लक्ष्य अझै ठूलो र धनी राष्ट्रको हितमा छ ।
'जलवायु लक्ष्यमा सहमति मात्र पर्याप्त छैन । हामीले विश्व वित्तीय प्रणालीलाई पुनः परिमार्जन गर्न कोसिस गर्नुपर्छ । आवश्यक राष्ट्रहरूलाई वित्तीय सहयोग दिनुपर्नेछ,' उनले भने, 'बाकुमै हामीले अन्तर्राष्ट्रिय कार्बन बजार सञ्चालनमा ल्याउन, पेरिस सम्झौताको अनुच्छेद ६ लाई अन्तिम रूप दिनैपर्छ । पूर्वनिर्धारित लक्ष्य अनुसार अघि बढ्नै पर्छ ।'
तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य कार्यान्वयन गर्नुपर्नेमा उनको जोड छ ।
'कोपमा नै अनुकूलन लक्ष्यमा सहमति गर्नुपर्छ । तपाईंले मापन नगरी व्यवस्थापन गर्न सक्नुहुन्न,' उनले भने, 'यो विश्वव्यापी सहकार्यलाई पुनः सक्षम बनाउने समय हो । त्यसैले म सबैलाई अनुरोध गर्दछु, आउनुहोस्, एकसाथ उठौँ ।'
उनले जलवायु परिवर्तनले पर्वतीय क्षेत्रमा परेको नकारात्मक असरको विषय समेत उठान गरे । कोपमा भाग लिन बाकु पुग्नुभएका राष्ट्रपति पौडेलका वन तथा वातावरण सल्लाहकार डा प्रमेश्वर पोखरेलले जलवायु परिवर्तनले निम्त्याएका समस्या समाधानका लागि कोपले निचोड निकाल्ने बताए ।
'कोप–२९ मा नेपालले नयाँ जलवायु वित्त लक्ष्यको अपनाउन जोडदार माग गरेको छ र विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभन्दा तल सीमित राख्ने स्पष्ट मार्गनिर्देशनको आवश्यकता उठाएको छ,' जलवायुविद् मञ्जित ढकालले भने, 'नेपाल पर्वतीय प्राथमिकतासँग सम्बन्धित छलफलमा सक्रिय सहभागी छ र पहाडी क्षेत्रमा जलवायु परिवर्तनका प्रभाव सम्बोधन गर्न विशेष छलफलको माग गरिरहेको छ ।'
अर्का जलवायु अभियन्ता राजन थापाले उद्घाटन कै दिन पर्वतीय क्षेत्रको सुरक्षाको प्रसङ्ग प्रवेश भएकाले नेपालले उठान गर्न लागेको पर्वतीय क्षेत्रको एजेण्डा कोपमा समावेश गर्न सहज हुने बताए ।