शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

सोमबार, २६ कात्तिक २०८१, २२ : ००
सोमबार, २६ कात्तिक २०८१

आज २०८१ कार्तिक २६ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा लाल आयोगको प्रतिवेदन सार्वजनिक, अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रभावकारी नभएको सांसदको गुनासो, प्रहरी हिरासतभित्रै रास्वपाको बैठक !, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त, स्थानीय तह उपनिर्वाचन : उम्मेदवार छान्दै दलहरू, बैंकिङ कसुरका थुनुवासँग गफ गरेर समय कटाउँछन् लिलाबल्लभ लगायत छन् ।

१. लाल आयोगको प्रतिवेदन सार्वजनिक
सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक गरेको छ । डेडिकेटेड तथा ट्रंक लाइनको महसुल विवाद समाधानका लागि गठन गरिएको लाल आयोगको प्रतिवेदन सोमबार सार्वजनिक गरिएको हो ।

२. अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रभावकारी नभएको सांसदको गुनासो
भ्रष्टाचार नियन्त्रण गर्ने उद्देश्यले गठित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका प्रभावकारी नदेखिएको भन्दै सांसदहरूले गुनासो गरेका छन् । सोमबार राज्य व्यवस्था समितिको बैठकमा सांसदहरूले आयुक्तहरू नै विभिन्न काण्डमा जोडिएको भन्दै दलीय भागबण्डाका आधारमा हुने नियुक्तिले प्रभावकारिता नदेखिएको बताए । 

३. प्रहरी हिरासतभित्रै रास्वपाको बैठक !
कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हिरासतमै पार्टीको अनौपचारिक बैठक आयोजना गरेका छन् । सोमबार उनलाई भेट्न पुगेका रास्वपाका नेताहरूसहित बैठक बसेको हो । 

४. मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त
मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम ३२ जना जिल्ला न्यायाधीशलाई सम्बन्धित स्थानीय तहको मुख्य निर्वाचन अधिकृत पदमा नियुक्त गरेको हो । यस्तै ६ जना राजपत्राङ्कित कर्मचारीहरूलाई निर्वाचन अधिकृत पदमा नियुक्त गरिएको आयोगका प्रवक्ता नारायण प्रसाद सापकोटाले जानकारी दिए ।

५. स्थानीय तह उपनिर्वाचन : उम्मेदवार छान्दै दलहरू
मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि दलहरू उम्मेदवार छनोटलाई अन्तिम रूप दिन व्यस्त छन् । अधिकांश स्थानमा प्रमुख दलहरूले उम्मेदवार छानिसकेका छन् भने केहीमा टुङ्गो लाग्न बाँकी रहेको सम्बन्धित दलको भनाइ छ ।

६. बैंकिङ कसुरका थुनुवासँग गफ गरेर समय कटाउँछन् लिलाबल्लभ
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी हिरासतमा बैंकिङ कसुरका थुनुवासँग गफ गरेर समय कटाउने गरेका छन् । काठमाडौँ जिल्ला प्रहरी परिसरको हिरासतमा रहेका उनले सादा खाना खाने गरेका छन् ।

७. नेकपा एकीकृत समाजवादीको कर्णाली प्रदेश अधिवेशन सुरु
नेकपा एकीकृत समाजवादीको कर्णाली प्रदेश प्रथम अधिवेशन सुरु भएको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपालले सोमबार अधिवेशन उदघाटन गरेका हुन् । मंगलबारसम्म चल्ने अधिवेशनमा प्रदेशभरबाट ५ सयभन्दा बढी प्रतिनिधि सहभागी छन् ।

८. माओवादीले बोलायो केन्द्रीय समिति बैठक
नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक बोलाएको छ । सोमबार बसेको पार्टी पदाधिकारी बैठकले पुस २ देखि ७ गतेसम्म केन्द्रीय समिति बैठक गर्ने निर्णय गरेको हो ।

९. यी हुन् संसदमा बोली बिक्ने सांसद
संसदमा प्रतिनिधित्व गर्ने २७३ सांसदले आ–आफ्नो विषय आफ्नै शैलीमा राख्ने भए पनि सबै ‘माननीय’ले बोलेका विषय समान चासोका साथ हेरिँदैन । सञ्चारमाध्यममा पनि सबै सांसदले बोलेका विषय समाचार बन्दैनन् । जसले फरक ढङ्गबाट कुरा उठाउन सक्छ, उसले बोलेका विषयमा मात्र सञ्चार माध्यमले समाचार बनाउने गर्छन् । यहाँ तिनैमध्ये केही मुख्य सांसदको चर्चा गरिएको छ ।

१०. गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले अब गति लिन्छ ?
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले बढेको अन्तर्राष्ट्रिय उडानले सबै उत्साहित छन् । यसलाई नियमित गर्ने चुनौती भने बाँकी नै छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) को सञ्चालन सामान्य अवस्थामा पुगेपछि पनि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले बिजनेस पाइरहन्छ कि फेरि बन्द हुन्छ भन्नेमा धेरैको चासो छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप