आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

केन्द्रीय सदस्यहरूसँग प्रचण्डको गुनासो– पार्टीभित्र धेरै प्रचण्ड हुँदा अलमल भयो

सोमबार, २६ कात्तिक २०८१, २० : ५८
सोमबार, २६ कात्तिक २०८१

 काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र धेरै प्रचण्ड भएकाले विचारमा अलमल भएको गुनासो पोखेका छन् । सोमबार साँझ आफ्नै निवास खुमलटारमा बागमती प्रदेश, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशका केन्द्रीय सदस्यहरूलाई बोलाएर उनले गुनासो पोखेका हुन् ।

स्थानीय तहको उपनिर्वाचन, केन्द्रीय समिति बैठकको तयारी, खबरदारी सभा लगायत विषयमा तीनवटै प्रदेशका केन्द्रीय सदस्यहरूलाई बोलाएर प्रचण्डले परामर्श लिएका थिए । सहभागी केन्द्रीय सदस्यहरूले ०६४ मा सबैभन्दा ठुलो दल भएको माओवादी ०७० पछि किन कमजोर हुँदै गयो भनेर नेतृत्वसमक्ष प्रश्न उठाएका थिए । नेताहरूको प्रश्नको जवाफ दिने क्रममा उनले गुनासो पोखेका सहभागी एक सदस्यले बताए ।

‘अध्यक्षले बिहान भएको पदाधिकारी बैठकको निर्णय, स्थानीय तहमा पार्टीको अवस्था, खेल्नुपर्ने भूमिका, केन्द्रीय समिति बैठकको तयारी लगायत विषयमा ब्रिफिङ गर्नुभयो’, प्रचण्डको भनाइ उदृद्ध गर्दै सहभागी ती सदस्यले भने, ‘पछिल्लो समय पार्टी आक्रामक हुनुपर्नेमा रक्षात्मक अवस्थामा पुग्यो । ०६४ को निर्वाचनमा जनयुद्धको रापताप र नेतृत्व केन्द्रीयकरण हुँदा पार्टी ठुलो भयो । विचारको विकास पनि भयो । त्यतिबेला एउटा मात्र प्रचण्ड थियो । अहिले सयौँ प्रचण्ड हुँदा कन्फ्युजन भयो । यसले पार्टी कमजोर बन्दै गयो ।’

छलफलमा सहभागी नेताहरूले पार्टीले एक दुईवटा निर्वाचन हारेपनि एक्लै लड्नुपर्नेमा जोड दिएका थिए । साथै पार्टी प्रतिपक्षमा पुगेपछि माओवादी जनमत बढ्दै गएको र आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा एक्लै लडेमा पहिला जितेको स्थान जोगाएर एकदुई सिट थप्न सकिने सहभागीहरूले जानकारी गराएका थिए ।

तर छलफलमा सहभागी भएका नेता हिमाल शर्माले स्थानीय तहको उपनिर्वाचन तयारीसम्बन्धमा ब्रिफिङ लिन प्रचण्डले बोलाएको दाबी गरे ।

‘बागमती, उपत्यका विशेष, सम्पर्क समन्वय प्रदेशका इन्चार्जसहित केन्द्रीय सदस्यहरू सहभागी थियौँ । छलफलमा चुनावी तयारीबारे जानकारी लिनका लागि बोलाउनुभएको थियो । विचारको विकास, पार्टी निर्माण लगायत विषयमा छलफल भए । अध्यक्षले सामान्य ब्रिफिङ गर्नुभयो खासै त्यस्तो विशेष छलफल भएन’, रातोपाटीसँग शर्माले भने ।

छलफलमा बागमती प्रदेशका इन्चार्ज अग्नि सापकोटाले विचारको विश्लेषण गर्दै पार्टीलाई नयाँ ढंगले अगाडि बढाउनुपर्ने बताएका थिए । खुमलटारमा सापकोटासहित, सम्पर्क समन्वय प्रदेशका इन्चार्ज मात्रिका यादव, उपत्यका विषेशका इन्चार्ज हितमान शाक्य लगायत नेताहरू सहभागी थिए । छलफलमा तीवटै प्रदेशबाट करिब ४०/५० जना केन्द्रीय सदस्यहरू सहभागी थिए । स्थानीय तहको उपनिर्वाचनमा आफ्ना उम्मेदवारहरूलाई जिताउने गरी तयारी गर्न प्रचण्डले नेताहरूलाई निर्देशन दिएका थिए ।

प्रचण्ड निवासमा बिहान बसेको पदाधिकारी बैठकले केन्द्रीय समिति बैठक पुस २ देखि ७ गतेसम्म बस्ने निर्णय गरेको थियो । स्थानीय तहको उपनिर्वाचनमा एक्लै लड्ने निर्णय गरेको थियो । यस्तै बैठकले पालिकास्तरमा खबरदारी सभा गर्ने जिम्मा प्रदेशलाई दिएको थियो । थप तयारीका लागि माओवादीले मंसिर ३ गने पदाधिकारी बैठक बोलाएको छ ।  

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप